स्थानीय निर्वाचन : आयोगले भोलिदेखि मतपत्र ढुवानी थाल्ने

आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ। आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई पनि सचेत गराएको छ।

नेपालभ्युज

स्थानीय निर्वाचन : आयोगले भोलिदेखि मतपत्र ढुवानी थाल्ने

काठमाडौं। निर्वाचन आयोगले १३ वैशाख अर्थात भोलिदेखि स्थानीय तह निर्वाचन २०७९ को मतपत्र ढुवानीको काम शुरु गर्ने भएको छ। आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराइएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाइको काम सकिएको र बाँकी मत पत्रको पनि छपाइ कार्य जारी रहेको बताए। उनका अनुसार हालसम्म ६८ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको छ।

आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ। आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई पनि सचेत गराएको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले सो आह्वान गरेको उल्लेख गर्दै प्रवक्ता पौडेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने राजनीतिक दल तथा उम्मेदवारहरुमाथि निर्वाचन कसुर अनुसार कारबाही हुने चेतावनी पनि दिए।

पौडेलले भने, “जुलुस, आमसभा, ¥याली, बैठक आदिमा भाग लिन वा प्रचारप्रसार गर्ने व्यक्तिले आचारसंहिताविपरीत हुने गरी सम्बन्धित दलको निर्वाचन चिन्ह, झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्सा, मास्क वा लकेट लगाएमा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारबाहीको भागिदार हुने भएकाले यस्तो कार्यबाट सचेत रहन आयोग सबैमा अनुरोध गर्दछ।”

निर्वाचन आयोगले सरुवा, पदस्थापन वा काजमा खटाइएका कर्मचारीहरुलाई निर्वाचन सम्पन्न गराउने प्रयोजनका लागि तोकिएको ठाउँमा यही १५ वैशाखभित्र अनिवार्य रुपमा हाजिर हुने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षलाई पुनः निर्देशन दिएको छ।

निर्वाचन आयोगले हालसम्म निर्वाचनको पर्यवेक्षणका लागि ६८ ओटा संस्थाहरुले अनुमति लिएको पनि जनाएको छ। ती संस्थाका करीब २० हजार पर्यवेक्षकहरुलाई आयोगको परिचय पत्रसहित मतदान केन्द्रहरुमा परिचालन गरिने पनि आयोगका प्रवक्ता पौडेलले बताए।

निर्वाचन आयोगले आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठ र सहन्यायाधिवक्ता गुरु वाग्लेलाई निर्वाचन सूचना सम्प्रेषण अधिकारी पनि तोकेको छ। आयोगका प्रवक्ता र सहप्रवक्ताको अतिरिक्त उनीहरुलाई पनि निर्वाचनको सूचना दिनका लागि निर्वाचन सूचना सम्प्रेषण अधिकारी तोक्नु परेको प्रवक्ता पौडेलले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved