बर्दिबासमा कांग्रेसले मेयरमा दुई जनालाई टिकट दिएपछि कार्यकर्ता रनभुल्ल

नेपालभ्युज

बर्दिबासमा कांग्रेसले मेयरमा दुई जनालाई टिकट दिएपछि कार्यकर्ता रनभुल्ल

जनकपुरधाम। नेपाली कांग्रेसले बर्दिबास नगरपालिकाको मेयर पदमा दुई जनालाई टिकट दिएपछि विवाद उत्पन्न भएको छ।

सोमवार विहान कांग्रेस मधेस प्रदेश समितिबाट प्रह्लाद क्षत्रीले टिकट पाएर उम्मेदवारीको तयारी गरिरहेको बेला पुनः अर्को नेता चिरञ्जीवी हमालले पनि टिकट पाएपछि विवाद भएको छ। क्षत्रीले टिकट पाएको दुई घण्टा नबित्दै अर्को टिकट हमालले कसरी पाए र को आधिकारी उम्मेदवार भन्ने विषय अन्योल बनेको छ।

अहिले बर्दबास नगरपालिकामा दुई जनालाई टिकट आएपछि माहोल गडबड देखिएको छ भने कार्यकर्ता रनभुल्लमा परेका छन्। बर्दिबास पार्टी कार्यालयमा नेता कार्यकर्ताको जम्मा हुने क्रम जारी छ। दुवै पक्षका नेता कार्यकर्ताहरू अहिले पार्टी कार्यालय आफ्नो आफ्नो आधिकारिताबारे दाबी गरिरहेका छन्।

आफूलाई पार्टीले टिकट दिएको भन्दै चिरञ्जीवी हमाल एकाएक मनोनय दर्ताका लागि निर्वाचन कार्यालयमा पुगेपछि क्षत्री पक्षका नेता कार्यकर्ता अचम्ममा परेका थिए।

सोमबार बिहानमात्र क्षत्रीले प्रदेशबाट नगरप्रमुखको उम्मेदवारका लागि टिकट लिएर आएका थिए। सामाजिक सञ्जालमा बिहानैदेखि क्षत्रीलाई बधाई दिनेको ओइरो लागिरहेको बेला हमालले टिकट पाएपछि माहोलमा नै परिवर्तन भएको छ।

“कसले टिकट पायो मलाई थाहा छैन, तर म मनोनयन दर्ता गर्न जाँदै छु,” नेता हमालले भने। यता कसको टिकट आधिकारिक हो भन्ने विषयमा जाँचबुझ हुने क्रम जारी भएको कांग्रेस महोत्तरीले जनाएको छ। अहिले दुवै उम्मेदवार मनोनयन दर्ता गर्नका लागि निर्वाचन कार्यालय पुगेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved