होङ्सीको सफलतापछि लगानी बोर्डको प्रभावकारिता देखिँदै

नेपालभ्युज

होङ्सीको सफलतापछि लगानी बोर्डको प्रभावकारिता देखिँदै

काठमाडौं। लगानी बोर्डकाे समन्वय र सहजीकरणमा चिनियाँ सिमेण्ट उत्पादक होङ्सी कम्पनी र नेपालको शिवम् सिमेण्टको संयुक्त लगानीमा स्थापित ‘होङ्सी शिवम् सिमेण्ट’ले स्थापनाको तीन वर्ष नबित्दै नेपाली सिमेण्ट बजारमा महत्वपूर्ण हिस्सा ओगटिसकेको छ।

नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब ३६ अर्बको लगानीमा उक्त उद्योग स्थापना गरिएको  थियो। नेपालमा दैनिक ६ हजार टन सिमेण्ट उत्पादन गर्ने गरी उक्त उद्याेग स्थापना भएको हो।

सार्वजनिक–निजी साझेदारीमा ६ करोडसम्ममा योजना स्वीकृतका लागि बनेको लगानी बोर्ड नेपालले १० वर्ष पार गरिसकेको छ।

वैदेशिक तथा ठूला स्वदेशी लगानीलाई व्यवस्थित गर्न नेपाल सरकारले ‘पार्टनरसीप फर इकोनोमिक ट्रान्सफरमेसन’ (आर्थिक रुपान्तरणका लागि साझेदारी) लाई मुख्य मुद्दासहित सन् २०११ मा लगानी बोर्डको स्थापना गरेको हो।

२५ वर्षको लक्ष्यका साथ काम गरिरहेको बोर्डले १५ औं आवधिक योजनाको तर्जुमा गरी ‘रि–एसेस्मेन्ट’को काम गर्‍यो। सोअनुसार आयोजना अवधि पाँच वर्षका लागि प्रक्षेपित लागत करिब ९२ खर्बका लागि समन्वय र सहजीकरणमा अथक रूपमा लागिरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट बताउँछन्।

“५२ प्रतिशत निजीक्षेत्रको योगदान हुनुपर्छ भन्ने मान्यतामा छौं। निजी क्षेत्रमा स्वदेशी निजी, वैदेशिक निजी र सार्वजनिक निजी साझेदारी पर्छन्,” बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले भने, “हामीले अहिले लगानी भइरहेको जलविद्युत र सिमेण्टमा मात्रै होइन, पर्यटन क्षेत्र, यातायात क्षेत्र र अन्य औद्योगिक क्षेत्रमा पनि लगानी बढाउनुपर्ने गरी काम गरिरहेका छौं।”

लगानी बोर्ड स्थापना भएको १० वर्ष बितिसके पनि सरकारले ऐन बनाउन भने निकै ढिलाइ गर्‍यो। बोर्डका अघिल्ला प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले ऐन अभावको अलमलमै आफ्नो कार्यकाल बिताएका थिए।

‘सार्वजनिक निजी–साझेदारी तथा लगानी ऐन २०७५’ बनेपछि भने बोर्डले काम गर्न सजिलो भएको छ। ऐन बनेपछि ६ अर्बभन्दा बढी स्वदेशी तथा विदेशी लगानीको व्यवस्थापन गर्नका लागि सार्वजनिक निजी साझेदारीमा आफ्नो काम अगाडि बढाइरहेको छ।

बोर्डले अहिलेसम्म विभिन्न ६ क्षेत्रका ३० ओटा परियोजनामा समन्वय र सहजीकरण गरिरहेको छ। ती आयोजनामार्फत् नेपालमा १० खर्बभन्दा खर्ब रुपैयाँबराबरको लगानी स्वीकृत भएको छ।

तीमध्ये करीब साढे तीन खर्ब लगानीका परियोजनाहरू निर्माणका चरणमा छन्। निर्माण चरणमा प्रवेश गरेको सबैभन्दा प्रभावकारी परियोजनाको रूपमा चिनियाँ लगानीको होङ्सी सिमेण्टलाई लिने गरिन्छ।

यसबाहेक सार्वजनिक निजी साझेदारीमा नौ सय मेगावाटको ‘अरुण तेस्रो’लाई पनि लगानी बोर्डले एक सफल परियोजनाका रूपमा लिनेगरेको छ। “होङ्सी सिमेण्टको सफलताले लगानी बोर्ड निकै खुशी र उत्साहित छ”, बोर्डका सिईओ भट्टले भने।

होङ्सीको सफलता

चिनियाँ लगानीको ठूलो परियोजना मानिएको होङ्सी सिमेण्टले नेपालमा व्यावसायिक रूपमा सिमेण्ट उत्पादन गरिरहेको छ। स्वदेशी तथा विदेशी निजी लगानीमा चलिरहेको होङ्सी सिमेण्ट उद्योगले १२ हजार टन प्रतिदिन उत्पादन गरिरहेको छ। यसले पहिलो चरणको व्यावसायिक  उत्सपादन गरिसकेको छ।

होङ्सी सिमेण्ट उद्योग नवलपरासीको बेणीमणिपुर गाविसको बेलुवामा स्थापना भएको छ। उद्योग नवलपरासीको दुम्कीबासबाट १३ किमी उत्तर चुरेको फेदीमा छ।

चिनियाँ सिमेण्ट उत्पादक होङ्सी कम्पनी र नेपालको शिवम् सिमेण्टको संयुक्त लगानीमा दैनिक ६ हजार टन सिमेण्ट उत्पादन गर्ने गरी ‘होङ्सी शिवम् सिमेण्ट’ उद्योग नेपालमा स्थापना भएको हो। नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब ३६ अर्बको लगानीमा उक्त उद्योग स्थापना गरिएको हो।

उद्योगबाट ठूलो क्षमताको सिमेण्ट उत्पादन भइरहँदा करीब १ हजार नेपाली कामदार कार्यरत छन् भने करिब ४ सय चिनियाँ कामदारले रोजगारी पाइरहेका छन्। तर, विद्युत अभावमा भने उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न सकिरहेको छैन।

उक्त उद्योगमा २५ अर्बको वैदेशिक लगानी छ। यसमध्ये १६ अर्ब नेपालकै बैंकहरुले चिनियाँ बैंकको जमानतमा ऋण दिएका छन् भने ९ अर्ब ८२ करोड रूपैयाँ होङ्सी सिमेण्टले प्रत्यक्ष ल्याएको थियो।

यसरी गर्‍यो बोर्डले सहजीकरकण

चीनको प्रसिद्ध सिमेण्ट उत्पादक कम्पनी होङ्सीले अन्तर्राष्ट्रिय क्षेत्रमा लगानीका लागि बजार खोजिरहेको छ। नेपालमा सिमेण्टको ठूलो उत्पादक कम्पनी नभएपछि होङ्सीले नेपालमा बजार भेट्यो। कम्पनीले लाओस, म्यानमार, इण्डोनेसियालगायत देशमा सिमेण्ट उत्पादन सुरु गरिसकेको थियो।

प्रशस्त कच्चापदार्थ र बजार सम्भावना पनि देखेको होङ्सीले नेपालमा शिवम् होल्डिङ्सबीच छलफलका लागि काम गर्‍यो। सोही आधारमा उद्योगमा चिनियाँ होङ्सीको ७० प्रतिशत र नेपाली शिवमको ३० प्रतिशत लगानीका लागि सहमति भएको थियो।
सोही आधारमा २०७४ सालमा आधिकारिक सम्झौता भएको हो।

यो उद्योगलाई लगानी बोर्डले आफ्नोतर्फबाट नेपालको पहिलो र ठूलो सफलताका रूपमा लिने गरेको छ। होङ्सी शिवम् सिमेण्ट उद्योगले सन् २०१९ देखि नेपालमा व्यावसायिक उत्पादन शुरू गरेको छ।

हाल लगानी बोर्डमार्फत् सहजीकरण भइरहेका परियोजनाहरुमध्ये होङ्सी शिवम् सिमेण्टबाहेक वेष्ट टु इनर्जी धरान परियोजना, अरुण ३ जलविद्युत परियोजना सुरु भइसकेका छन्।

यस्तै, करिब १४ अर्ब रुपैंया लगानीको ह्वासिन नारायणी सिमेण्ट उद्योगको निर्माण कार्य सम्पन्न भइसकेको छ।

यस्तै डावर नेपाल प्रा.लि.को क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरणको लागि ९ अर्ब ६८ करोड ६३ लाख ४२ हजार रुपैयाँको लगानी पनि स्वीकृत गरेको छ।

यसैगरी मन्त्रिपरिषद्ले नै निर्णय गरेर दिएका परियोजनाहरूमा ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनामा पनि बोर्डले काम गरिरहेको छ।

२१६ मेगावाटको माथिल्लो त्रिशुली–१ परियोजनाको काम पनि अघि बढिरहेको छ भने ४० मेगावाटको ब्याट्री स्टोरेज प्लाण्ट, २५० मेगावाटको ग्रिड जडान भएको, सौर्य उर्जा आयोजना स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनका लागि पनि विकासकर्तासँग सहजीकरण गरिरहेको सीईओ सुशील भट्टले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved