कांग्रेसबाट बुटवल प्रमुखमा पाण्डे, सिद्धार्थनगरमा इस्तियाक सर्वसम्मत

अघिल्लो स्थानीय तहमा समेत २ हजार ४०० मतान्तरले उपविजेता बनेका पाण्डे यो पटक पनि मेयरमा उम्मेदवार बन्ने भएका हुन्।

नेपालभ्युज

कांग्रेसबाट बुटवल प्रमुखमा पाण्डे, सिद्धार्थनगरमा इस्तियाक सर्वसम्मत

बुटवल। आसन्न स्थानीय तहको निर्वाचनको लागि सत्ता गठबन्धनको ठूलो दल नेपाली कंग्रेसले उम्मेदवार टुंगो लगाउन थालेको छ। आज मात्रै कांग्रेसले रुपन्देहीको बुटवल उपमहानगर र सिद्धार्थनगर नगरपालिकाको मेयर उम्मेदवारको नाम टुङ्याएको हो।

कांग्रेसले बुटवलको मेयरको लागि खेलराज पाण्डेलाई सर्वसम्मत बनाएको छ। आज बसेको नगरको बैठकले बुटवल नगर सभापतिसमेत रहेका पाण्डेको एकल नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको कांग्रेस नगर सचिव छाया पोखरेलले जानकारी दिए।

अघिल्लो स्थानीय तहमा समेत २ हजार ४०० मतान्तरले उपविजेता बनेका पाण्डे यो पटक पनि मेयरमा उम्मेदवार बन्ने भएका हुन्।

यसअघि, रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्साल र पाण्डेको नाम मेयरका लागि चर्चामा थियो। बुटवल उपमहानगरमा नेकपा (एकीकृत समाजवादी)ले पनि दाबी गर्दै आएको छ।

यस्तै, सिद्धार्थनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले संविधानसभा सदस्य इस्तियाक अहमद खानलाई उठाउने भएको छ। निर्वाचन जित्ने आधार भएकाले खानलाई उम्मेदवार बनाइएको कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँणले जानकारी दिए।

उम्मेदवार खान केही वर्षअघिसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीमा थिए। सिद्धार्थनगरमा उपमेयर पद गठबन्धनका दलले लिने भएकाले नाम सार्वजनिक नगरिएको खाँणले बताए।

यता, बुटवलको उपमेयरमा रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता सेन, रिता केसी, गंगा पन्थी, राधा ज्ञवाली र सबिता शाक्यको नाम सिफारिस गरेको बैठकमा सहभागी एक वडा कमिटी अध्यक्षले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved