यी हुन् एमालेबाट हेटौंडामा मेयर सिफारिस भएका नौजना, गठबन्धन भने अझै अलमल

नेपालभ्युज

यी हुन् एमालेबाट हेटौंडामा मेयर सिफारिस भएका नौजना, गठबन्धन भने अझै अलमल

हेटैंडा। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेबाट ९ जना सिफारिस भएका छन्।

आइतबार बसेको नगर कमिटी बैठकमा सहमति जुट्न नसकेपछि आकांक्षी सबै ९ जनाको नाम नै जिल्ला कमिटिमा सिफारिस गरेको हो। उपमेयरमा ७ जनाको नाम सिफारिस भएको छ।

हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि हरिबहादुर महत, रघुनाथ खुलाल, रामेश्वर राना, एकलाल श्रेष्ठ, अनन्त पौडेल, मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानलाई सिफारिस गर्ने निर्णय गरेको छ।

महत अहिले पनि मेयर छन् भने खुलाल जिल्ला समन्वय समितिका प्रमुख हुन्। राना नेकपा एमाले केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ जिल्ला अध्यक्ष हुन्। मेयरका अर्का आकांक्षी पौडेल दोश्रो संविधानसभा सदस्य हुन्।

यस्तै, दाहाल र चौलागाईं अधिवक्ता हुन् भने महर्जन यस अघि हेटौंडा उपमहानगरपालिकाको वातावरण महाशाखा प्रबन्धकमा कार्यरत थिए। उनले करिब २ वर्षअघि राजीनामा दिएका थिए। मेयर पदमा सिफारिस एक मात्र महिला प्रधान भने जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य छिन्।

उपमेयर पदका लागि सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता विष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाललाई सिफारिस गर्ने निर्णय गरेको छ। उक्त सिफारिस जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीमा पुग्नेछ।

अलमलमा गठबन्धन

नेकपा एमालेले विभिन्न पालिकाहरूमा धमाधम उम्मेदवार टुंगो लगाइसक्दा पनि सत्ता गठबन्धन अझै अलमलमा नै छ। धेरैजसो वडामा एमालेले सर्वसम्मत उम्मेदवार पठाएको छ भने केही पालिकाहरूमा पनि सर्वसम्मत भएका छन्। सर्वसम्मत हुन नसकेको पालिकाहरूमा आकांक्षिहरू सबैको नाम पठाइएको छ।

तर, सत्तारुढ गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी भने अझै पर्ख र हेरको अवस्थामै रहेको छ। कुन पालिका र कुन वडा कुन पार्टीको भागमा पर्ने टुंगो नलागेकोले गठबन्धनका नेताहरू अन्यौलको अवस्थामा रहेका छन्।

कांग्रेसले आन्तरिक रुपमा वडा अध्यक्षका उम्मेदवारहरू छनौट गरिरहेको भए पनि माओवादी र एकीकृत समाजवादी भने झनै अन्यौलकै अवस्थामा रहेका छन्। कांग्रेसले मकवानपुरका केही वडामा सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ भने बाँकी वडाबाट आकांक्षीहरूको नाम माथिल्लो समितिमा सिफारिस गरेको छ।

“एमालेले धमाधम उम्मेदवारको टुंगो लगाएर चुनावी अभियानमा होमिइसकेको छ। हाम्रो अझै ठेगान छैन”, कांग्रेसका एक नेताले भने, “कांग्रेस सधैं उम्मेदवार छनोटमा ढिलासुस्ती गर्छ। जनतामाझ जान र मतदातालाई बुझाउनै पाइएको हुँदैन, यसैकारण पनि हार्ने सम्भवना रहने गर्छ।”

गठबन्धन दलहरूबीच बैठक बसेर यथासक्य छिटो भागबन्डा र उम्मेदवारको टुंगो लगाउनुपर्ने कांग्रेस, माओवादी, नेकपा एसका कार्यकर्ताहरूको माग रहेको छ।

केही हप्ताअघि कांग्रेस पार्टी कार्यालयमा सत्तारुढ दलका मकवानपुर जिल्ला नेतृत्वको बैठक बसेर वडा तहसम्मै गठबन्धन गर्ने निर्णय गरेको थियो। गठबन्धनका नेताहरूले पत्रकार सम्मेलन नै गरेर मकवानपुरमा गठबन्धन हुने जानकारी गराएका थिए।

त्यसयता गठबन्धनलाई कसरी लैजाने र सहमतिको विन्दुमा पुर्‍याउने भन्ने विषयमा खासै निर्णय हुन नसकेको नेताहरूले जानकारी दिएका छन्। कांग्रेस, माओवादी, नेकपा एस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन रहेकोले कुन पालिका र वडामा कुन दलले पाउने अझै अन्योलकै अवस्था छ।

कांग्रेस, माओवादी र नेकपा एसले आफ्नो पकड रहेको स्थानीय तह र वडामा दाबेदारी प्रस्तुत गर्दै आएका छन्। यद्यपि नेतृत्वका आकांक्षीहरू नै पनि अन्योलको अवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved