बयलबासमा सांसद प्रमोद साहको ‘दादागिरी’ : भारतीय गाडी र कार्यकर्तासहित आएका थिए

नेपालभ्युज

बयलबासमा सांसद प्रमोद साहको ‘दादागिरी’ : भारतीय गाडी र कार्यकर्तासहित आएका थिए

सर्लाही । क्लब घर सारेर बाटो फराकिलो बनाउने विषयमा झडप हुँदा जसपाका सांसद तथा पार्टीका मुख्य सचेतक प्रमोद साहको टाउको फुटेको छ। सर्लाहीको ईश्वरपुर नगरपालिकामा सडक छुट्टाएर बाँकी जग्गामा फुलोजर युवा क्लबको भवन बनाउने कि बाटो विस्तार गर्ने विषयमा झडप भएको हो।

सांसद प्रमोद साहले दर्जनौं भारतीय गाडी तथा मोटरसाइकमा २ सय भन्दा बढी कार्यकर्तालाई बयलबास बजारमा उतारेका र झडपको स्थिति सिर्जना भएको स्थानीयबासीले बताएका छन्। उनले जातीय राजनीति गरेका स्थानीयको आरोप छ।

क्लबको भवन बनाउने विषयलाई लिएर सांसद साहले राजनीति गरेका र आफ्नो प्रभाव देखाउन खोजेका स्थानीयको आरोप छ। सांसद साहका कार्यकर्ताले नगरपालिका भवनमा पनि आक्रमण गर्न खोजे पनि उक्त प्रयास भने सफल हुन नसकेको एक स्थानीयले बताए।

“ईश्वरपुर नगरपालिका बाटो विस्तारसँगै नाला बनाउने काम जारी छ, यिनी (प्रमोद साह)  नाला बनाउन नदिने स्वार्थमा आएका हुन्,” ईश्ववरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले नेपालभ्यूजसँग भने, “सांसदले राजनीति गर्न खोजे, अनि प्रतिकार गरे जनताले।”

इलाका प्रहरी कार्यालय ईश्वरपुरका प्रहरी अधिकृत जनकराज ढुंगेलका अनुसार सांसद साहको नेतृत्वमा लाठीसहित केही कार्यकर्ता बयलबास बजारमा उपस्थित भएपछि घटनाले उग्र रूप लिएको थियो। “माननीयज्यूको नेतृत्वमा केही युवाहरू बजारमा आएका थिए, क्लब घर सार्ने/नसार्ने विषयमा पहिलादेखि विवाद थियो। त्यसले झडपको स्थिति सिर्जना गर्‍यौ,” उनले भने।

मेयर देवकोटाका अनुसार सांसद साहले बाटो विस्तारका क्रममा आफ्ना पार्टीका मान्छेको घर भत्किने भएकाले हिंसा भड्काउन खोजेका बताए। ईश्वरपुर नगरपालिका सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ। २०७४ सालको निर्वाचनमा उनले राष्ट्रिय जनता पार्टीका तर्फबाट चुनाव जितेका थिए।

क्लबको घर बनाउने विषयमा झडप, सांसदको टाउको फुट्यो

घाइते सांसदलाई अहिले हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ। झडपमा साहका अंगरक्षक प्रहरी सहायक निरीक्षक असई विनोदप्रसाद यादव पनि घाइते भएका छन्। यस्तै, सांसद साहको गाडीमा पनि स्थानीयले तोडफोड गरेका छन् भने केही मोटरसाइकलमा आगजनी भएको प्रहरीले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved