काठमाडौं आइपुगे चिनियाँ परराष्ट्रमन्त्री वाङ यी

नेपालभ्युज

काठमाडौं आइपुगे चिनियाँ परराष्ट्रमन्त्री वाङ यी

काठमाडौं । चिनियाँ परराष्ट्रमन्त्री तीन दिने नेपाल भ्रमणका क्रममा नेपाल आइपुगेका छन्। नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा चिनियाँ परराष्ट्रमन्त्री यी २५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आइपुगेका हुन्।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट पारित भएपछिको अवस्थामा चिनियाँ परराष्ट्रमन्त्री यीले नेपाल भ्रमण गर्न लागेका हुन्। नेपाल भ्रमणका क्रममा चिनियाँ परराष्ट्रमन्त्री यीले शनिबार आफ्नो नेपाली समकक्षी खड्कासँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ भने शनिबार नै उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नियाँ परराष्ट्रमन्त्री यीको नेपाल भ्रमणका क्रममा दुई पक्षीय सम्बन्ध सुधारका लागि छलफल हुने जनाइएको छ। भने नेपाल र चीनबीच सन् २०१७ मा भएको बीआरआई सम्झौताका अन्तर्गतका केही सम्झौता कार्यान्वयको सहमती जुट्ने अपेक्षा गरिएको छ। नेपाल भ्रमणमा आएका चिनियाँ परराष्ट्रमन्त्री यीले नेपाललाई १५ अर्ब आर्थिक सहयोग घोषणा गर्दैछन् भने विभिन्न १२ सम्झौतामा हस्ताक्षर हुने दाबी गरिएको छ।

पाकिस्तान, अफगानिस्ता र भारतको भ्रमण सकेर नेपाल भ्रमणमा आएका छन्। भारतका विदेशमन्त्री सुव्रमन्यम जयशंकरसँग तीन घण्टा लामो वार्तापछि चिनियाँ परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आउन लागेका हुन्। सन् २०२० मा दुई देशका सेनाबीच सीमा क्षेत्र लद्दाखमा भएको हिंसापछि पहिलो पटक चिनियाँ उच्चस्तरको व्यक्ति भारत भ्रमणमा गएका हुन्।

भारतीय विदेशमन्त्रीका अलावा चिनियाँ परराष्ट्रमन्त्री यीले भारतका राष्ट्रिय सुरक्षा सल्लाकार अजित डोभलसँग पनि भेटवार्ता गरेका थिए। भारतका विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाकारले चीनले सीमा क्षेत्रबाट सेना हटाएको अवस्थामा भारत पनि हटाउन तयार रहेको सन्देश चिनियाँ परराष्ट्रमन्त्रीलाई दिएका थिए।

यस्तै १५ अगष्टमा तालिबानले सत्ता कब्जा गरेपछि पहिलो पटक चिनियाँ परराष्ट्रमन्त्री यीले अफगानिस्तानको भ्रमण गएका छन्। पश्चिमा देशले तालिबानी शासकलाई वैधता नदिई रहेको अवस्थामा चिनियाँ परराष्ट्रमन्त्री यी अफगानिस्तान पुगेका हुन्। अफगानिस्तान भ्रमणका क्रममा चिनियाँ परराष्ट्रमन्त्री यीले अफगानिस्तानका कार्यवाहक परराष्ट्रमन्त्री आमिर खान मुतकीसँग भेटवार्ता गरेका थिए।

भेटवार्ताका क्रममा अफगानिस्तानलाई आर्थिक सहयोग गर्नेदेखि त्यहाँको खनिज केन्द्रको काम शुरु गर्ने विषयमा छलफल भएको थियो। यस्तै बीआरआईमा अफगानिस्तानको सम्भावित भूमिकाका विषयमा पनि दुई देशका परराष्ट्रमन्त्री बीच छलफल भएको थियो। तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा आफ्नो सरकारी अधिकारी पठाउने चीन पाकिस्तान र कतारपछिको तेस्रो देश हो।

अफगानिस्तान पुग्नुअघि चिनियाँ परराष्ट्रमन्त्री यी सोमबार पाकिस्तान ७ चैतमा पाकिस्तान पुगेका थिए। पाकिस्तानमा आयोजित ४८ औँ इस्लामिक सहयोग संगठनको कार्यक्रममा सहभागी हुन पुगेका थिए। उक्त सहयोग संगठनको कार्यक्रमा , “हालको विध्यमान समस्या समाधान गर्न र इस्लामिक समुदायमा शान्ति र स्थायित्वको कायम राख्न इस्लामिक देशले प्रयोग गरेको आफ्नो क्षमतालाई चीनले समर्थन गर्छ”, अभिव्यक्ति दिएका थिए। यस्तै उनले जम्मु कश्मीरका विषयमा दिएको अभिव्यक्तिलाई भारतले खारेज गर्दा तय भएको उनको भारत भ्रमण रद्द हुने खतरा बढेको थियो।

पाकिस्तान, अफगानिस्तान र भारतको आफ्नो भ्रमण सकेर चिनियाँ परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आएका हुन्। नेपालले एमसीसी पारित गरेको र रुस–युक्रेन मुद्दामा नेपालले अमेरिकाको पक्ष लिएको सन्दर्भमा उनले नेपाल भ्रमण गर्न लागेका हुन्।

शनिबारको उनको औपचारिक भेटवार्ता सरकारी पराधिकारीसँग हुने कार्यक्रम रहेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चिनियाँ परराष्ट्रमन्त्री यीले आइतबार मात्रै भेट्ने छन्। शीर्ष नेतालाई भेट्ने क्रममा चिनियाँ परराष्ट्रमन्त्री यीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत मधेसी दलका नेतालाई भेट्ने कार्यक्रम भने सार्वजनिक भएको छैन।

अन्य दलका नेतालाई नभेट्ने नै हो वा कार्यक्रम सूचीमा मात्रै नपरेको हो भन्ने विषयमा परराष्ट्र मन्त्रालयले केही बताउन चाहेन। नेपालको तीन दिने भ्रमण सकेर उनी १३ चैतमा स्वदेश फर्किने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved