नेपालद्वारा श्रीलंकन नेभी १११ रनले पराजित, बलिङमा उत्कृष्ट प्रदर्शन

खेलमा पहिले ब्याटिङ गरेको नेपालले खासै सन्तोषजनक खेल देखाउन नसक्दा मात्र २१४ रनमा अलआउट भएको थियो। तर, बलिङ चलेपछि नेपाल श्रीलंकन नेभीलाई २९ औँ ओभरमा मात्र १०३ रनमा अलआउट गर्न सफल भयो।

नेपालभ्युज

नेपालद्वारा श्रीलंकन नेभी १११ रनले पराजित, बलिङमा उत्कृष्ट प्रदर्शन

काठमाडौं। बलिङमा शानदार प्रर्दशन गर्दै नेपालले श्रीलंकन नेभीसँगको पहिलो एकदिवसीय अभ्यास खेल १११ रनले जितेको छ।

खेलमा पहिले ब्याटिङ गरेको नेपालले खासै सन्तोषजनक खेल देखाउन नसक्दा मात्र २१४ रनमा अलआउट भएको थियो। तर, बलिङ चलेपछि नेपाल श्रीलंकन नेभीलाई २९ औँ ओभरमा मात्र १०३ रनमा अलआउट गर्न सफल भयो।

२१५ रनको लक्ष्य पछ्याएको श्रीलंकन नेभीले पहिलो पाँच ओभरमा नै मात्र १४ रन जोड्ने क्रममा शुरुआती दुई विकेट गुमाइसकेको थियो। कसिलो बलिङ गरेको नेपालका लागि तीव्र गतिका बलरद्वय करण केसी र कमल सिंह ऐरीले शुरुआती सफलता दिलाएका थिए।

यसपछि, अर्का फाष्ट बलर बिक्रम सोबले लगातार दुई विकेट लिएपछि १० ओभरमा मात्र ३६ रन जोड्ने क्रममा नेभीको चार विकेट खसिसकेको थियो। खेलमा नेपाली बलरहरुले न त रन जोड्न दिइरहेका थिए न त नेभीका ब्याटरलाई क्रिजमा टिक्न दिइरहेका थिए।

यसपछि, पार्टटाइम बलर ज्ञानेन्द्र मल्ल पनि दुई विकेट लिन सफल भए भने सागर ढकालले पनि एक विकेट झारेपछि नेभीको २० ओभरमा मात्र ८३ रन जोड्दा सात विकेट खसिसकेको थियो। ज्ञानेन्द्रले मात्र एक ओभर बलिङ गरेर आठ रन दिँदै दुई विकेट लिएका थिए।

यसपछि कप्तान सन्दीप लामिछानेले बाँकी तीन विकेट लिएपछि श्रीलंकन नेभी २९ औँ ओभरमा मात्र १०३ रनमा अलआउट भयो। कप्तानले ७.५ ओभरमा मात्र १८ रन खर्चेका थिए। ब्याटिङमा नेभीका मधुशंकाले सर्वाधिक ३९ रन जोडेका थिए।

यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा मात्र २१४ रन जोड्ने क्रममा अलआउट भयो।

खराब शुरुआत गरेको नेपालका ओपनर कुशल भुर्तेल १३ रनमा आउट भए। यसपछि आएका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि मात्र दुई रनमा पेभेलिएन फर्किएका थिए।

अर्का ओपनर आशिफ शेखले ३६ रन र रोहित पौडेल पनि १३ रनमा आउट भएपछि नेपालको इनिङ धरापमा पर्‍यो। १६ ओभरमा मात्र ८४ रन जोड्दा माथिल्लो क्रमका चार विकेट गुमाइसकेको थियो।

यसपछि भरपर्दा ब्याटर दिपेन्द्र सिंह ऐरीले समालिएर ब्याटिङ गर्दै नेपालको इनिङलाई जोगाउने प्रयासमा थिए। तर उनी पनि ४३ रनमा आउट भएपछि नेपालले २५ ओभरमा पाँच विकेटको क्षतिमा १४२ रनको योगफल तयार पारेको थियो।

अब नेपाललाई ठूलो स्कोर बनाउन भन्दा पनि ५० ओभरको पूरै खेल खेल्नु नै प्रमुख चुनौती थियो।

यसपछिका ब्याटरले पनि माथिल्लो क्रमका ब्याटरलाई नै पछ्छाए। मिडिल अर्डरमा आएका विनोद भण्डारीले २२ र कमल सिंह ऐरीले १५ रनमा क्रिज छाड्दा तीस ओभरमा १७७ रन जोड्ने क्रममा नेपालको सात विकेट झर्‍यो।

लगत्तै अलराउण्डर करण केसी १६ रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने र बिक्रम सोबले ११ तथा सागर ढकालले १३ रन जोडेका थिए।

बलिङतर्फ श्रीलंकन नेभीका अकुरु गोडाले सर्वाधिक चार र अवातले तीन विकेट लिएका थिए।

आगामी चैत २ गतेदेखि यूएईमा आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्कम एकदिवसीय क्रिकेट सिरिज आयोजना हुँदैछ। उक्त सिरिजमा नेपालले आयोजक यूएई र पीएनजीसँग दुई–दुई खेल खेल्दैछ।

यसै सिरिजको तयारी स्वरुप नेपाली राष्ट्रिय टिम हाल अभ्यासका लागि श्रीलंकामा छ। श्रीलंकामा नेपालले चार अभ्यास खेल खेल्ने तालिका छ। आईसीसी विश्वकप लिग–२ अर्को बर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकपको छनोटको बाटो हो।

हाल लिग–२ मा नेपाल सहित सात टिमले प्रतिस्पर्धा गरिरहेका छन्। होम, अओए र न्यूट्रल भेन्यूमा विभिन्न चरणमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजपछि यो लिगको अन्तिममा अंकतालिकाको शीर्ष तीनमा रहने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछन्।

तल्लो क्रममा रहेका चार टिमले पनि विश्वकप छनोटको प्ले अफ खेल्नेछन्। नेपाल अंक तालिकामा आठ खेलबाट आठ अंक सहित छैठौ स्थानमा छ। पहिलो स्थानमा रहेको ओमानको २५ खेलबाट ३२ अंक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved