बार एसोसिएसनमा सत्तारुढ गठबन्धनसँग एमाले एक्लै भिड्ने, उम्मेद्वार टुङ्गो लगाउन दुवै समूहको कसरत

बारको नयाँ नेतृत्व चयनका लागि भोलि (फागुन २३) मा उम्मेद्वारी दर्ता गरिँदैछ। १९ चैतमा हुने प्रत्यक्ष चुनावबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन हुन लागेको हो।

नेपालभ्युज

बार एसोसिएसनमा सत्तारुढ गठबन्धनसँग एमाले एक्लै भिड्ने, उम्मेद्वार टुङ्गो लगाउन दुवै समूहको कसरत
बायाँबाट क्रमश: वरिष्ठ अधिवक्ताहरू सुनील पोखरेल, विष्णुमणि अधिकारी, गोपालकृष्ण घिमिरे, रविनारायण खनाल

काठमाडौं। देशभरिका कानून व्यवसायीको छाता संगठन– नेपाल बार एशोसिएनको नयाँ नेतृत्व चयनका लागि १९ चैतमा हुने निर्वाचनमा एमाले समर्थित उम्मेद्वारविरुद्ध सत्ता–गठबन्धनले संयुक्त उम्मेद्वारी दिने तयारी गरेको छ।  पदीय भागबण्डा मिलाउन नसक्दा गठबन्धनले उम्मेद्वार टुङ्ग्याउन भने सकेको छैन।

बार एशोसिएसन स्रोतकाअनुसार, प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरी भागवण्डा मिलाइसकेका छन्। अध्यक्षसहित १५ सिट कांग्रेस र महासचिवसहित १० सीट माओवादी–एसले लिने सहमति भइसकेको स्रोतको दाबी छ।

गठबन्धन बनाउन क्रियाशील वरिष्ठ अधिवक्ता गोविन्द शर्मा बन्दीले अझै साझा उम्मेद्वार तय गरी नसकेको बताए। “अहिलेसम्म गठबन्धन बनाएर संयुक्त रुपमा चुनाव लड्ने निर्णय भइसकेको छैन, हामीले प्रयास गरिरहेका छौँ,” आफू अहिले पनि एउटा वार्तामै बसिरहेकाले वरिष्ठ अधिवक्ता बन्दीले नेपालभ्यूजसँग भने, “साझा उम्मेद्वारी दिऊँ भन्ने कोशिशमा वार्ता भइरहेको छ। अहिलेसम्म टुंगिएको छैन।” मिलेर लड्ने संभावना बाँकी नै रहेको बताउँदै बन्दीले गठबन्धन नहुने संभावना पनि रहेको उनले जानकारी दिए।

बारको नयाँ नेतृत्व चयनका लागि भोलि (फागुन २३) मा उम्मेद्वारी दर्ता गरिँदैछ। १९ चैतमा हुने प्रत्यक्ष चुनावबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन हुन लागेको हो।

एमाले भने यसपटक माओवादीसँग एक्लै लड्ने सुरमा छ। गठबन्धनका तर्फबाट कांग्रेसले अध्यक्ष र माओवादीले महासचिव लिएर अघि बढ्ने शीर्षतहमा सम्झौता भइसकेको छ।

कांग्रेसका तर्फबाट बार अध्यक्षको उम्मेद्वारमा पूर्व महासचिव सुनील पोखरेल र कांग्रेसको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे दुई जनाको दाबेदारी प्रवल छन्। माओवादीका अध्यक्षका उम्मेद्वार रमण श्रेष्ठ ‘रिङ आउट’ भएको स्रोतले जनकारी दियो।

एमालेका तर्फबाट बार अध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, रविनारायण खनाल, टीकाराम भट्टराईले दाबी गरेका छन्। सो पार्टीले अझै उम्मेद्वार टुंगो लगाएको छैन। एमालेका तर्फबाट विष्णुमणि उम्मेद्वार बन्ने संभावना प्रवल रहेको पार्टी–स्रोतको दाबी छ।

बारका कोषाध्यक्ष रुद्र पोखरेलले एमाले एक्लै लड्ने तयारीमा रहेको बताए। “हामी प्रष्ट छौँ, योग्य उम्मेद्वार बनाउँछौँ”, उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved