विमान अपहरणको रकम लिएर गिरिजाप्रसाद दार्जीलिङ जाँदाका ड्राइभर बिरु लामाको निधन

“अनवरत गिरिजाप्रसाद कोइरालासँग आवद्ध रहे- सबैले उनलाई गिरिजाबाबुका मोटर चालक भनी चिन्दथे,” गुप्ताले लेखेका छन्, “यसमा उनलाई कहिल्यै कुनै खेद रहेन। उनी नेपाली कांग्रेसका अविचलित कार्यकर्ता रहे। कहिल्यै कुनै लोभ राखेनन्।”

नेपालभ्युज

विमान अपहरणको रकम लिएर गिरिजाप्रसाद दार्जीलिङ जाँदाका ड्राइभर बिरु लामाको निधन

काठमाडौं। नेपाली कांग्रेसका पुराना कार्यकर्ता बिरु लामाको निधन भएको छ। नेपाली कांग्रेसको नेतृत्वमा २०३० जेठ २८ गते भएको विमान अपहरणपछि गिरिजाप्रसाद कोइरालाले विमानको रकम लिई फारविसगञ्जबाट दार्जीलिङतर्फ लाग्दा उक्त गाडीका चालक बिरु थिए।

पूर्वमन्त्री जयप्रकाश गुप्ताका अनुसार, लामाको हिजो काठमाडौं, सानेपास्थित निवासमा निधन भएको हो। उनी लामो समयदेखि बिरामी थिए।

“अनवरत गिरिजाप्रसाद कोइरालासँग आवद्ध रहे- सबैले उनलाई गिरिजाबाबुका मोटर चालक भनी चिन्दथे” गुप्ताले लेखेका छन्, “यसमा उनलाई कहिल्यै कुनै खेद रहेन। उनी नेपाली कांग्रेसका अविचलित कार्यकर्ता रहे। कहिल्यै कुनै लोभ राखेनन्।”

करीब ४६ वर्षअघि चिनजान भएको स्मरण कांग्रेसका पूर्वनेता गुप्ताले गरेका छन्। “जिन्सको पैन्ट र शर्ट लाएका, शर्टको बाहुलामा नेपाली काँग्रेसको झण्डा लेखाएका, कम अग्लो, थोरै बोल्ने, चुच्चे दाह्री भएका उनले आफूलाई मिजोरमका नेपाली भन्थे”, गुप्ताले फेसबुकमा उनीबारे लेखेका छन्, “पूर्णिया, बिहारमा रहेका नेपाली काँग्रेसको भूमिगत क्याम्पमा हामी भेटेका थियौं। यसको केही महिनापछि पुनः फारबिशगंजको बंगाली टोलामा रहेको नेपाली काँग्रेसको अफिसमा भेट्दा उनी पूर्व परिचित ‘हिरा लामा’ को सट्टा अत्यन्तै मिलनसार बिरू लामा भै सकेका थिए।”

गुप्ताका अनुसार, नेपालगञ्जमा जन्मेका, नेपाल पुलिसमा कार्यरत एक नातेदारका कारण बिराटनगर रानीमा बस्दै गर्दा प्रवासमा रहेका नेपाली कांग्रेसका सम्पर्कमा आएका थिए। “नेपाली कांग्रेसका सशस्त्र कारबाहीका कारण फेरि प्रवास भारत लागेका बिरू लामा ‘विमान अपहरण काण्ड’ मा रकम लिई गिरिजाप्रसाद कोइराला फारबिशगञ्जबाट दार्जीलिङ लाग्नु हुँदा जीपका चालक थिए- बिरू”, उनले लेखेका छन्, “यसपछि भारत सरकारबाट आपराधिक मुद्दा चलाइएपछि उनी मिजोरम पुगेका थिए। यसपछि उनी पक्राउ परेर बिहारको जेलमा राखिए।”

२० वैशाख २०३७ मा भएको जनमतसंग्रहपछि उनी प्रवासिएका अन्य नेपाली कांग्रेसका नेता कार्यकर्तासँगै नेपाल भित्रिएका थिए। “केही महीनाअघि म, मेरी श्रीमतीसँगै उनलाई भेट्न बयोधा अस्पताल गएका थियौँ,” गुप्ताले सम्झिएका छन्, “म छिट्टै निको भएर आउने छु- भनेका थिए। मेरी श्रीमती सरूले कयौँ वर्षसम्म बिरू भाइलाई भाइटीका लाएकी थिइन्। हिजो मेरा मित्र बिरू रहेनन्।”


Comment

One thought on “विमान अपहरणको रकम लिएर गिरिजाप्रसाद दार्जीलिङ जाँदाका ड्राइभर बिरु लामाको निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved