बार सम्मेलनमा पूर्वसभामुखद्वय नेम्वाङ र ढुङ्गाना ‘बहिष्कृत’, अधिकारी र खरेल पनि ‘अ-आमन्त्रित’

नेपालभ्युज

बार सम्मेलनमा पूर्वसभामुखद्वय नेम्वाङ र ढुङ्गाना ‘बहिष्कृत’, अधिकारी र खरेल पनि ‘अ-आमन्त्रित’

काठमाडौं। नेपाल बार एसोसिएसनको यसपटकको राष्ट्रिय सम्मेलनको मञ्चमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पूर्वसभामुख दमननाथ ढुङ्गाना देखिएका छैनन्। बारका पूर्वअध्यक्षसमेत रहेका राष्ट्रियसभामा सत्तापक्षका नेता राधेश्याम अधिकारी र पूर्वकानूनमन्त्री अग्नि खरेल पनि देखिएनन्।

१५ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको तीनदिने सम्मेलन मंगलबार समापन हुँदैछ। नेम्वाङ, ढुङ्गाना र खरेल तीनै जना बारका पूर्वमहासचिव हुन् भने अधिकारी पूर्वअध्यक्ष हुन्।

०४६ सालमा बहुदल आएपछि बार अध्यक्ष भएका अधिकारीकै कार्यकालमा सर्वोच्च अदालतकै परिसरमा बार एशोसिएशनको भवन निर्माण भएको थियो। उनी बारलाई व्यावसायिक संस्थाका रुपमा रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेका पूर्वअध्यक्ष मानिन्छन्।

बार पूर्वमहासचिव नेम्वाङ वर्तमान संविधान निर्माण गर्दाका दुवै संविधानसभा अध्यक्ष हुन्। ०६३ सालको परिवर्तनपछि राजाको अधिकार कटौती गर्ने ‘०६४ जेठ ४ को घोषणा’ गर्ने सभामुख हुन्। ०६३ को परिवर्तनलाई संस्थागत गर्ने अवधि ०६४ जेठदेखि संविधान जारी हुँदा २०७२ असोजसम्म सभामुख र संविधानसभाको अध्यक्ष भएका थिए।

बारकै अर्का पूर्वमहासचिव हुन्– दमननाथ ढुङ्गाना। उनी ०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापित भएपछि ०४८ सालको संसदीय चुनावपछि पहिलो सभामुख हुन्। उनैको नेतृत्वमा संसद्ले प्रजातान्त्रिक प्रणाली संस्थागत गर्ने ऐनहरू निर्माण गरेका थिए।

०६५ सालको बार एसोसिएसनको सम्मेलनदेखि ०६८, ०७१ र ०७४ सालको सम्मेलनको सम्मेलनको उद्घाटन कार्यक्रममा संविधानसभा अध्यक्ष नेम्वाङ र पूर्वसभामुख ढुङ्गानालाई बोल्न दिइन्थ्यो। यो परम्पराविपरीत यसपटक दुवै जनालाई मञ्चमा आमन्त्रणसमेत गरिएन।

आज हुने घोषणासभामा पनि पूर्वसभामुख नेम्वाङलाई डाकिएको छैन। एमाले अध्यष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको बेला त्यसको समर्थन गर्ने र त्यसविरुद्ध बहस गर्न अदालतमा उपस्थित नभएका बारका नेताहरूलाई ‘नियतबश नडाकिएको’ कानून व्यवसायीहरूकै आरोप छ।

बारको सम्मेलनमा पूर्वअध्यक्षहरू हरिहर दाहालदेखि प्रेमबहादुर खड्कासम्म पाँच–छ जनाले बोले तर राधेश्याम अधिकार त्यसभित्र अटाएका छैनन्। पूर्वसभामुखसमेत रहेका वरिष्ठ अधिवक्ताद्वय सुवास नेम्वाङ र दमन ढुङ्गानालाई कार्यक्रममै बोलाइएन। त्यसबाहेक बारका पूर्वमहासचिव अग्नि खरेललाई पनि नडाक्नुमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरामाथि लगाइएको महाभियोग र कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको ‘सिण्डिकेट’ बारेमा बोल्नसक्ने हुनाले त्यो आवाजलाई निषेध गरेको हुनसक्ने बार कार्यसमितिकै एक पदाधिकारीले जानकारी दिए।

पूर्वमहान्यायाधिवक्ता रमेश बडालले भने, “सत्ता–गठबन्धनका वकीलहरू जतिलाई डाके, गठबन्धनको तर्फबाट सर्वोच्च अदालतमा बहस गर्न नआएका कारण राधेश्याम अधिकारीलाई पनि डाकिएन, राधेश्याम दाइ पनि त्यसैमा पर्नुभएको होला।”

पूर्वसभामुख ढुङ्गाना उद्घाटन समारोहमा गए पनि उनलाई मञ्चमा डाकिएको थिएन। ढुङ्गानालाई पनि मञ्चमा नडाक्नुको कारण सुवासलाई डाक्नुपर्ला भनेर हुनसक्ने पनि उनी उनको अनुमानछ।

“यो बार एसोसिएसनको नेतृत्वले अभिव्यक्ति स्वतन्त्रलाई कर्टेल गर्नका लागि गरिएको षड्यन्त्र हो। उद्घाटन सत्रमा सिण्डिकेटधारी वकीलहरूको कब्जा भयो”, पूर्वमहान्यायाधिवक्ता बडालले नेपालभ्यूजसँग भने, “आफ्नो सिण्डिकेटभन्दा अरूलाई बोल्न नदिने षड्यन्त्रअन्तर्गत उहाँहरूलाई नडाकिएको हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved