सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरण: सीईयोसहित तीन जनाको बयान लिइयो

जाहेरीमा प्रतिवादीहरूले अपचलन भएको रकम बैंकलाई भराइदिनुपर्ने र सोही रकम बराबर उनीहरूलाई जरिवाना तथा ६ वर्षदेखि ८ वर्षसम्म कैदको सजाय हुनुपर्ने माग दाबी गरिएको छ।

सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरण: सीईयोसहित तीन जनाको बयान लिइयो

विराटनगर। सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा मंगलबार मुद्दा दायर भएकामध्ये बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीसँगको बयान सकिएको छ।

‘बैकिङ कसुर’ मुद्दामा बैंकका सीईयोसहित १२ विरुद्ध मंगलबार उच्च अदालत विराटनगरमा मुद्दा दायर भएपछि बुधबार सीईयो सुवेदीसँग बयान लिइएको हो। बुधबार उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश राजनप्रसाद भट्टराईको इजलासमा सुवेदीको बयान लिइएको थियो। सीईयो सुवेदीसँगको बयान सकिएपछि अदालतले बिहीबार बाँकी ३ जनाको बयान लिइरहेको छ।

बिहीबार बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराई, वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेशन प्रमुख अमित थापा मगरसँगको बयान चलिरहेको उच्च अदालत विराटनगरका प्रवक्ता ओमप्रसाद सुवेदीले बताए। उनले पक्राउ परेका होमप्रसाद पौडेललाई कोरोनाको संक्रमण देखिएका कारण उनको बयान पछि लिईने तयारी रहेको जानकारी दिए। पक्राउ परेकाहरुको बयान सकिएपछि उनीहरू विरूद्ध थुनछेक बहस हुने उनको भनाई छ।

बैंकको कर्पोरेट कार्यालय विराटनगरका प्रबन्धक विदुर पोखरेल र नेपाल राष्ट्र बैंकको तर्फबाट विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक प्रदिपराज पौडेलको जाहेरीका आधारमा मंगलबार सिईओ सुवेदीसहित १२ जनाविरूद्ध मुद्दा दायर भएको थियो। सीईयो सुवेदीसहित ९ जना कर्मचारी र ३ जना खातावाललाई प्रतिवादी बनाएर मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो।

जाहेरीमा बैंकको कार्यालय सहयोगी चुडाबहादुर निरौला, कार्यालय सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला, खातावाला बबिता सुवेदी बस्नेत, कमल दाहाल र मनोज भट्टराईलाई समेत प्रतिवादी ठहर गरिएको छ। उनीहरुमाथि बैंकको १५ करोड ७५ लाख ४० हजार ५७५ रुपैयाँ अपचलन गरेको आरोप छ। जाहेरीमा अपचलन भएको रकम बैंकलाई भराइदिनुपर्ने र सोही रकम बराबर उनीहरूलाई जरिवाना तथा ६ वर्षदेखि ८ वर्षसम्म कैदको सजाय हुनुपर्ने माग दाबी गरिएको छ।

सप्तकोशी बैंकका तत्कालिन कार्यकारी अधिकृत सुवेदीले विभिन्न मितिमा नातामा फुपू पर्ने झापाको दमक नगरपालिका–१३ घर भएकी वर्ष ४३ की बबिता बस्नेतको खाताबाट रकम अपचलन गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार ४३ बर्षीया बस्नेतको ९९९०००१५००१५ नं. को खाताबाट सन् २०१६ अगस्ट ७ देखि १४ करोड ५ लाख २१ हजार ३६५ र सन् २०१६ अप्रिल २२ तारिखदेखि १ लाख ७२ हजार ३७० रुपैयाँ गरि ६ वर्षमा कुल १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रुपैयाँ अपचलन भएको देखिएको छ। प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा उक्त बिषय उल्लेख गरिएको छ।

‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ अनुसार सुवेदीसहितका १२ जना विरुद्ध दर्ता भएको मुद्दाको सुनुवाई भने उच्च अदालतको वाणिज्य इजलासमा हुने जनाईएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved