एलपीएलमा शारदा सरस्वती र स्टेपिङ स्टोन विजयी

नेपालभ्युज

एलपीएलमा शारदा सरस्वती र स्टेपिङ स्टोन विजयी

धनगढी । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तर्गत आज भएका दुई खेलमा शारदा सरस्वती र स्टेपिङ स्टोन विजयी भएका छन्। जितसँगै शारदाले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ।

आज भएको पहिलो खेलमा कञ्चनपुरको शारदा सरस्वती दोधाराले सैनिक आवासीय महाविद्यालय तेघरीमाथि १ सय रनको सानदार जित दर्ता गरेको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको शारदाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो। १ सय ७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको सैनिकले १५ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो।

उसका लागि खडक बोहराले २७ र प्रज्वल थापाले १७ रन बनाए पनि अन्य ब्याट्सम्यान शारदाका बलर सामु टिक्न सकेनन्। सैनिकलाई सस्तैमा समेट्न शारदाका विकास सुनारले ५ विकेट लिए। अर्जुन सिंह साउदले ३, मिलन बोहराले २ विकेट लिए। यसअघि शारदाका लागि आक्रामक पारी खेलेका राजेश साउदले २२ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४५ रनको पारी खेले।

उसका लागि सुनिल चन्दले ४१, कप्तान गणेश बिटालुले २७, सागर चन्दले २० रन बनाएर आउट हुँदा हेमन्त धामी ११ रनमा अविजित रहे। सैनिकका खडक बोहराले ३ र आकाश चन्दले २ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच विकास सुनार घोषित भए।

गेम चेन्जर अवार्ड अर्जुन सिंह साउदे पाउँदा, सर्वाधिक छक्काको अवार्ड राजेश साउद र सुनिल चन्दले पाए। आजै भएको दोस्रो खेलमा स्टेपिङ स्टोनले सत्यवती माथि ३० रनको सान्त्वना जित निकाल्न सफल भयो।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको स्टेपिङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो। १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको सत्यवतीले १८.४ मा १ सय २७ रन मात्रै बनाउन सक्यो।

प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा भोलि बिहीबार बिहान ९ः३० बजे काठमाडौंको हिमालयन ह्वाइट हाउस स्कुल र होलिल्याण्ड स्कुल अत्तरियाबीच प्रतिस्पर्धा हुनेछ।

भोलिको खेल जितेको खण्डमा होलिल्याण्ड सेमिफाइनल प्रवेश गर्ने छ। हिमालयन ह्वाइट हाउस, सत्यवती र विद्या भूषण यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन्। एलपीएलको जारी संस्करणको उपाधि विजेताले १ लाख ५० हजार र उप–विजेताले ७५ हजार पुरस्कार राशि पाउने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved