महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

नेपालभ्युज

महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली एपीएफले राजधानीमा जारी ललितपुर मेयर महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बुधबार एपीएफले सुदूरपश्चिम प्रदेशविरुद्ध ६ विकेटको जित निकालेको हो।
यसअघि पहिलो खेलमा पनि एपीएफले प्रदेश नं १ लाई ६ विकेटले नै हराएको थियो ।

सुदुरपश्चिमले दिएको ९० रनको लक्ष्य एपीएफले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दा एपिएफकी रोमा थापाले अविजित रहदै सर्वाधिक २३ रनको योगदान गरिन्। त्यस्तै ममता चौधरी १४ रनमा अविजित रहँदै जितको खाका कोरिन्। एपीएफबाट ज्योति पाण्डेले ११, इन्दु बर्माले १० तथा सरिता मगरले ९ रनको पारी खेलेका थिए। बलिङतर्फ सुदूरपश्चिमका लागि ईश्वरी विष्टले दुई तथा रितु कनोजियाले एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाएर मात्र ८९ रन जोडेको थियो। सुदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधक १८ रनको पारी खेल्दा बिन्दु रावल र डोली भट्टले समान ११ रन जोडे।

त्यस्तै अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका लागि सोनु खड्काले सर्वाधिक ३ विकेट हात पारिन् भनेकप्तान सीता रानामगर र करुणा भण्डारीले दुई–दुई विकेट लिए।

किफायती बलिङ गरेकी करुणाले ४ ओभरमा १ मेडन ओभर राख्दै १४ रन खर्चिएकी थिइन्। राजमती ऐरीको नाममा एक विकेट रह्यो।लगातार दोस्रो जित निकाललेको एपीएफले अब तेस्रो खेल शुक्रबार लुम्बिनी प्रदेशसँग खेल्नेछ भने पराजित सुदूरपश्चिमले तेस्रो खेल शुक्रबार नै प्रदेश १ सँग खेल्नेछ।

प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न दिनको दोस्रो खेलमा लुम्बिनी प्रदेशले ललितपुर मेयर्स–११ माथि २ रनको रोमाञ्चक जित निकालेको छ। ९५ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९२ मात्र रन बनाउन सक्यो। मेयर्स–११ का लागि कञ्चन श्रेष्ठले सर्वाधिक २२ रन बनाउँदा कस्मिना कर्माचार्य २० रनमा अविजित रहिन्।

लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक ४ विकेट हात पर्दा अन्तिम ओभरमा ह्याट्रिक पनि गरिन्। त्यस्तै कृतिका मरासिनीले ३ विकेट हात पार्दा सुस्मिता भुषालले दुई विकेट आफ्नो नाममा लेखाइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० खेल्दै ४ विकेट गुमाएर ९४ रन जाडेको थियो । दुई विकेट गुमाउँदा मात्र ११ जोडेको लुम्बिनीले तेस्रो विकेटका लागि सम्हालिएको प्रदर्शन गरेको थियो।

सोही क्रममा कप्तान सरस्वती जिएमले सर्वाधिक ३१ रनको पारी खेल्दा नेरी थापा शीला क्षेत्रीको बलमा बोल्ड हुँदै पेभेलियन फकिईन्। सरस्वती पुन २० रनमा अविजित रहँदा अन्य ब्याट्स्वुमनले दोहोरो अंकको स्कोर छुन सकेनन्।

बलिङतर्फ भने सुमन खड्काले सर्वाधिक ३ विकेट आफ्नो नाममा लेखाउँदा शीला क्षेत्रको नाममा एक विकेट रह्यो । किफायती बलिङ गरेकी शीलाले चार ओभर बलिङ गर्दा एक मेडन ओभर राख्दै १८ रन खर्चिएकी थिइन्।

प्रतियोगिताअन्तर्गत बिहीबार दिनको १ बजे लुम्बिनी प्रदेश र प्रदेश नं १ बीच खेल हुनेछ। प्रतियोगितामा पाँच टोलीले सहभागिता जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved