अफगानिस्तानमा भारतले पठायो २५ सय टन गहुँ

संयुक्त राष्ट्रसंघको अपिलको जवाफमा भारतले पाँच हजार टन गहुँ उपहार दिने निर्णय गरेको थियो।

नेपालभ्युज

अफगानिस्तानमा भारतले पठायो २५ सय टन गहुँ

एजेन्सी। भारतले संकटग्रस्त राष्ट्र अफगानिस्तानको लागि २ हजार ५०० टन गहुँ सहयोग पठाएको छ। पाकिस्तानले ढुवानीका लागि ‘असाधारण’ अनुमति दिएपछि भारतले अफगानिस्तानको लागि २ हजार ५०० टन गहुँ बोकेको ५० ट्रक पठाएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।

गत वर्ष तालिबानले कब्जामा लिएपछि पश्चिमी देशहरुले सहायतामा तीव्र कमी ल्याएका छन्। जसबाट अफगानिस्तानले “विनाशकारी“ मानवीय संकटको सामना गरिरहेको छ। संयुक्त राष्ट्रसंघका अनुसार दुई करोड ८० लाख जनसंख्याको बहुमतलाई सहयोगको आवश्यकता रहेको छ।

संयुक्त राष्ट्रसंघको अपिलको जवाफमा भारतले पाँच हजार टन गहुँ उपहार दिने निर्णय गरेको थियो। लरीहरूको पहिलो चरणलाई मंगलबार पाकिस्तानको सीमानजिकै अमृतसरमा एक समारोहबीच अधिकारीहरूले झण्डा देखाएका जनाइएको छ।

भारतको कट्टर प्रतिद्वन्द्वी पाकिस्तानले उक्त ढुवानी आफ्नो क्षेत्रमार्फत पार गर्न अनुमति दिन “एक असाधारण आधारमा सहमत“ भएको जनाएको छ। नयाँ दिल्लीले भारत प्रशासित कश्मीरको आंशिक स्वायत्तता खारेज गरेपछि इस्लामाबादले २०१९ मा भारतसँगको व्यापार निलम्बन गरेको थियो।

अघिल्लो पश्चिमा समर्थित अफगान सरकारसँग घनिष्ट सम्बन्ध रहेको भारतले पनि कोभिड–१९ को खोपको पाँच लाख डोज, १३ टन औषधि र जाडोका लुगा सहयोग गरेको थियो।

भारतका लागि अफगान राजदूत फरिद मामुन्दजेले ट्विटमार्फत अफगानिस्तानलाई भारतले गरेको यस गहुँ सहायोग यस कठिन घडीमा अरु कुनै पनि देशले गरेको खाद्य योगदानभन्दा ठूलो भएको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved