स्थानीय तहको निर्वाचनका लागि दल दर्ता खुला

नेपालभ्युज

स्थानीय तहको निर्वाचनका लागि दल दर्ता खुला

काठमाडौं। निर्वाचन आयोगले आजदेखि दल दर्ताका लागि आह्वान गरेको छ। आयोगले आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ता गर्ने आह्वान गरेको हो ।

निर्वाचनका लागि १५ फागुनसम्म दल दर्ता गर्न सकिने आयोगका प्रवक्ता शालिकग्राम शर्माले जानकारी दिए। आयोगमा हालसम्म १ सय ६ ओटा दल दर्ता छन्। आयोगको वेबसाइटबाट निवेदनको ढाँचा डाउनलोड गरेर वा आयोगको सचिवालयबाट लिएर दल दर्ताको लागि निवेदन दिन सकिनेछ। निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण खुलाउनु पर्ने हुन्छ। त्यस्तै दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्यासमेत निवेदनमा खुलाउनु पर्ने हुन्छ।

यसैगरी आर्थिक वर्ष ०७७/०७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनिवार्य पेश गर्नुपर्ने आयोगले जनाएको छ।

आयोगका प्रवक्ता शर्माकाअनुसार निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने काम पनि भइरहेको छ। नामवली अद्यावधिक गर्न अझै एक महीना लाग्न सक्ने उनले बताए।

वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि झन्डै एक करोड ८० लाख मतदाता हुने आयोगले जनाएको छ। २०७९ साल वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिन मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने आयोगको अनुमान छ।

चुनाव हुने अघिल्लो दिनलाई १८ वर्ष पुग्ने अन्तिम दिन मान्दा झन्डै दुई लाख जना मतदाता थपिने आयोगका प्रवक्ता शर्माले बताए। यसअघि चुनावको मिति घोषणा भएको दिनलाई १८ वर्ष पुग्ने अन्तिम दिन मानिँदै आएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved