एनआरएनए उच्चस्तरीय समितिको बैठक बिहीबार बस्ने, महाधिवेशनका लागि तयारी तीव्र

नेपालभ्युज

एनआरएनए उच्चस्तरीय समितिको बैठक बिहीबार बस्ने, महाधिवेशनका लागि तयारी तीव्र

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधि विवाद समाधान गरी दशौं महाधिवेशन सम्पन्न गर्न गठित उच्चस्तरीय समितिको बैठक बिहीबार बस्ने भएको छ।

बैठकमा समितिका सदस्यद्वय देवमान हिराचन तथा भवन भट्टले जापान विवाद समाधान गर्न दिएको निर्देशन, केन्द्रीय उपाध्यक्ष सोनाम लामाले तयार गरेको सदस्यता छानबिन रिपोर्ट तथा केन्द्रीय सचिवालयले तयार गरेको विवादित राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरुले पठाएका डेलिगेट्स सूची सम्बन्धी रिपोर्ट प्रस्तुत हुने समितिका एक जना सदस्यले बताए ।

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को ८१ औं बैठकले दशौं महाधिवेशन सम्पन्न गर्न गत १५ जनवरीमा प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो। समितिको सदस्यमा संस्थापक अध्यक्ष डा‍. उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, संरक्षक रामप्रताप थापा र कामचलाउ अध्यक्ष कुमार पन्त रहेका छन्।

त्यसयता समितिले विज्ञहरुसम्मिलित उपसमिति गठन गर्नुका साथै विवादित राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई पत्राचार गरी सहमतिको आधारमा सूची पठाउन भनेको थियो। त्यस्तै एमआइएस प्रणालीको दुरुपयोग गरी जापानमा गराइएको निर्वाचनलाई खारेज गरी पुनस् निर्वाचन गराउने निर्णय पनि समितिले गरेको छ।

गत वर्ष रसिया, न्युजिल्याण्ड लगायतका मुलुकमा राष्ट्रिय अधिवेशन भैसकेपछि पनि नयाँ सदस्यहरु बनाइ थप डेलिगेट्सहरुको नाम पठाएको बारे उपाध्यक्ष सोनाम लामा नेतृत्वको समितिले छानबिन गरेको थियो। उक्त समितिले सदस्यहरु बनाउंदा व्यापक अनियमितता गरिएको फेला पारेको बताइएको छ।

यसैबीच एनआरएनए जापानको निर्वाचनमा भएको धाँधलीबारे जाँचबुझ गरी समस्या समाधान गर्न गठित समितिले जुलाई ३०, २०२१ को निर्वाचनबाट आएको कार्य समितिलाई रद्द गरेको छ। समितिले निर्वाचनमा धाँधली भएको पुष्टि गर्दै त्यसरी आएको कार्य समितिलाई रद्द गरेको हो।

त्यसैगरी समितिले अनिता गुरुङ समूहको कार्य समितिलाई पनि विघटन गर्दै उच्चस्तरीय समितिले जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गको नेतृत्वमा नयाँ तदर्थ समिति गठन गरेको छ। जापान विवाद मिलाउन र समस्या सुल्झाउन शेष घलेको नेतृत्वमा गठित उच्चस्तरीय समितिले समितिका सदस्य एवं पूर्व अध्यक्षहरु देवमान हिराचन तथा भवन भट्टलाई अधिकार प्रत्यायोजन गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved