सुदूरपश्चिममा बन्दको प्रभाव : राजमार्गमा भेटियो शंकास्पद वस्तु

सुदूरपश्चिममा बन्दको प्रभाव : राजमार्गमा भेटियो शंकास्पद वस्तु

धनगढी। अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा बुधबार आह्वान गरिएको नेपाल बन्दको सुुदूरपश्चिममा आंसिक प्रभाव परेको छ।

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा ६ ओटा राजनीतिक दलले गरेको नेपाल बन्दको प्रभावका कारण बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन्। सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा बन्दको प्रभाव सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी बेदप्रकाश जोशीले बताए।

‘‘जिल्ला भित्रिने रात्रीकालिन बसहरू आइरहेका छन्, जिल्लाबाट बाहिरिने सवारीसाधन भने चल्न सकेका छैनन्,’’ उनले भने।

उनकाअनुसार कैलालीमा मोटरसाइकल र अटो रिक्सा बाहेकका सवारी साधन बन्दका कारण चल्न सकेका छैनन्। बजार क्षेत्रका पसलहरू भने फाटफुट खुलेका छन्। विद्यालय, कलकारखाना, उद्योगधन्दा पूर्ण रूपले ठप्प भएका छन्।

बन्दका कारण सवारी साधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए। ‘‘राजमार्गमा सवारी साधन पुरै ठप्प छन्, फाटफुट मोटरसाइकल चलिरहेका छन्,’’ उनले भने, ‘‘बजारमा पसलहरू खुल्ने क्रममा छन्।’’

सुरक्षालाई मध्यनजर गर्दै चोक चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यातायातका साधन ठप्प हुँदा भारतबाट फर्किरहेका यात्रुहरू अलपत्र परेका छन्।

शंकास्पद वस्तु फेला

कैलालीमा बुधबार बिहान शंकास्पद वस्तु फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार लम्कीचुहा नगरपालिका–३ स्थित धोविनी खोलामा प्रेसर कुकरमा राखिएको शंकास्पद फेला परेको हो।

‘‘प्रेसर कुकरमा टेप बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ,’’ डीएसपी जोशीले भने। लम्की–चिसापानी सडकखण्डमा शंकास्पद वस्तु फेला परे पछि नेपाली सेनाको टोली त्यसतर्फ हिँडेको छ।

सरकारले एमसीसी प्रतिनिधि सभामा टेबल गर्ने तयारी गरे पछि विप्लव नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले बन्दको घोषणा गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved