ओमानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल, दुई खेलाडीको डेब्यु

नेपालभ्युज

ओमानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल, दुई खेलाडीको डेब्यु

काठमाडौं। नेपालले चार देशीय टी–ट्वान्टी सिरिजको पहिलो खेलमा ओमानविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। ओमानको मस्कटस्थित अल एमरेट स्टेडियमको खेलमा दुई युवा खेलाडी विवेक यादव र सागर ढकालले नेपाली राष्ट्रिय क्रिकेट टिमबाट डेब्यु गरेका छन्।

स्टार स्पिनर सन्दीप लामिछानेको कप्तानीमा नेपालले खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो। उनले पहिलो खेलमा नै टस जितेका छन्। प्रशिक्षक पुबुदुले ओपनर कुशल भुर्तेल फाष्ट बलर जितेन्द्र मुखिया र अलराउण्डर करण केसीलाई भने बेञ्चमा नै राखेका छन्।

यो सिरिज अर्को हप्तादेखि ओमानमा नै आयोजना हुने टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको अभ्यास खेलसरह हो। जहाँ अलराउण्डर विवेक यादव र स्पिनर सागर ढकालले पहिलोपटक टिममा ठाउँ पाएका हुन्।

घरेलु क्रिकेटमा गरेको राम्रो प्रदर्शनको आधारमा यी दुई खेलाडीसँगै लोकेश बमले पहिलो पटक राष्ट्रिय टिममा ठाउँ पाएका थिए। लोकेशले भने पहिलो खेलमा डेब्यु गर्न पाएनन्।

विवेक यादव आक्रमक ब्याटिङका लागि माहिर छन्। फिनिसरको रूपमा खेल्न सक्ने उनी तीव्र गतिका बलर पनि हुन्। यसै वर्षको एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजलाई फाइनलसम्म पुराउन उनको बिष्फोटक ब्याटिङको ठुलो योगदान थियो।

त्यस्तै सागर ढकाल भने स्पिन बलिङका कारण घरेलु क्रिकेटमा कमाल गरिसकेका छन्। एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्सलाई उपाधि दिलाउन उनले ७ खेलमा १४ विकेट लिएका थिए। उनी लिगको उत्कृष्ठ खेलाडी पनि बनेका थिए।

यस्तो छ नेपालको प्लेइङ ११

सन्दीप लामिछाने (कप्तानी), दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, आरिफ शेख, अभिनास बोहोरा, कमल सिंह ऐरी, प्रदिप ऐरी, विवेक यादव, सागर ढकाल

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved