सार्वजनिक यातायात ‘क्यासलेस’ गर्ने बागमती प्रदेशको तयारी

सार्वजनिक यातायात ‘क्यासलेस’ गर्ने बागमती प्रदेशको तयारी

हेटौँडा। बागमती प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा तिर्न कार्डको प्रयोग गर्ने तयारी अघि बढाउने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक सवारीहरूमा ‘क्यासलेस’ प्रविधिको विकास गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले जानकारी दिए। ‘‘यात्रुहरू नठगिउन् भन्ने उद्देश्यले हामीले कार्ड प्रणालीको विकास गर्नेछौं,’’ उनले भने,‘‘खुद्रा पैसा नहुँदा यात्रुहरू ठगिएका छन्। यसको अन्त्य गर्न पनि हामीले क्यासलेस गर्न लागेका छौं। कार्ड प्रविधिको शुरुआत भएपछि यात्रुहरूले जति भाडा हो त्यति मात्रै तिर्छन्।’’

बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री भएपछिको सय दिनमा सार्वजनिक गरिएको उपलब्धीहरूमा सवारी भाडा कार्डबाट तिर्ने व्यवस्थाको तयारी भइरहेको भन्ने विषय पनि उल्लेख थियो।

यसैबीच बागमती प्रदेश सरकारले आफ्नो स्थापना दिवस यो वर्ष नमनाउने भएको छ। कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यो वर्ष स्थापना दिवस नमनाउने निर्णय भएको प्रवक्ता खनालले जानकारी दिए। हरेक वर्ष २९ माघमा प्रदेश सरकारले स्थापना दिवस मनाउने गरेको छ। मन्त्रिपरिषद्को वैठकले स्थापना दिवसको दिनमा गरिने पुरस्कृत तथा विभूषण वितरण कुनै उपयुक्त दिन पारेर गर्ने निर्णय गरेको उनले बताए।

यस्तै, भरतपुर महानगरपालिकाले निर्माण गर्न लागेको प्रशासनिक भवनका लागि पनि प्रदेशले स्रोत सुनिश्चितता गरिदिएको छ। भवनको लागत ९४ करोड रुपैयाँ अनुमान गरिएको छ। यसमा प्रदेश सरकारले ५० प्रतिशत रकम व्यहोर्ने निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved