लता मंगेशकर भन्दा पहिलाका अधिकांश गायिकाको आवाज गह्रौं हुने गर्थ्यो। तर लताले आफ्नो गायनमा अद्भूत उचाई हासिल गरिन्। कसैकसैलाई उनको स्वर निकै तीखो लागे पनि अरू धेरैले उनको स्वरलाई कोमल नारित्वको उच्चतम् रूप माने। सन् १९४७ मा पहिलो गीत रेकर्ड गराएकी लताको आवाज छिट्टै नै सिंगो भारतको सबैभन्दा लोकप्रिय स्वर बन्नपुग्यो।
सुनिल सेठीले भनेका छन्, ‘यो त्यो स्वर बन्नपुग्यो जुन आवाज सुनेर सडक किनारको पसले पसल चलाउँथ्यो। राजमार्गमा लामो दूरीमा चल्ने ट्रक ड्राईभर हजारौं किलोमिटरको यात्रा गर्थ्यो। लद्दाखमा सेनाका जवानले सीमाको रक्षा गर्थे। र चमकधमकमा बाँच्ने सम्भ्रान्त वर्गले शानदार होटलमा खाना खान्थे।’
लताको आवाजले वर्ग र राजनीतिको सीमा नाघ्यो।
राष्ट्रवादी जवाहरलाल नेहरू पनि लताका प्रशंसक थिए किनभने उनले सन् १९६२ मा चीनसँगको युद्धको समयमा शहीदहरूको स्मृतिमा प्रसिद्ध गीत ‘ऐ मेरे वतन के लोगों…’ (ए मेरो देशका मानिसहरू हो..) गाएकी थिइन्।
धेरैपछि कट्टरपन्थी हिन्दू नेता बाल ठाकरेले पनि लताको तारिफ गर्दै सानो कदकी देखिने लताले मराठी नारित्वको उँचोपनको उदाहरण दिएको उल्लेख गरे।
(गुहाको पुस्तक ‘इन्डिया आफ्टर गान्धी’को सन् २०१२ मा प्रकाशित हिन्दी अनुवादको दोस्रो खण्ड ‘भारत नेहरू के बाद’ को ‘मनोरञ्जन’ शीर्षकको पाठबाट अंश अनुदित।)
Facebook Comment
Comment