फेरि उदांगियो भारतमा हुर्किँदो धार्मिक द्वेष, शाखरूखमाथि लगाइयो झूठो लाञ्छना

लता मंगेशकरको अन्तिम विदाईमा पुगेका शाखरूख खानको दुवालाई लिएर फैलाइएको अफवाहले भारतीय सत्ताधारी पार्टीले फैलाइरहेको धार्मिक अतिवाद उदांगिएको छ।

नेपालभ्युज

फेरि उदांगियो भारतमा हुर्किँदो धार्मिक द्वेष, शाखरूखमाथि लगाइयो झूठो लाञ्छना

काठमाडौं। हिन्दुत्वको नारासहित भारतीय जनता पार्टीको सत्तारोहणसँगै भारतमा बढ्न थालेको धार्मिक अतिवाद फेरी एकपटक उदांगो भएको छ। भारतीय अभिनेता शाहरूख खानलाई झुठो आरोप लगाएसँगै सत्ता समर्थक कट्टरपन्थी हिन्दू अतिवाद उदांगिएको हो।

प्रसंग प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको अन्तिम विदाईको हो। २३ माघको साँझ भारतको मुम्बईस्थित शिवाजी पार्कमा लता मंगेशकरको अन्त्येष्टि हुनुअघि प्रधानमन्त्री नरेन्द्र मोदीलगायत धेरैले उनको पार्थिव शरीरनजिक गएर प्रार्थना गरिरहेका थिए।

लता मंगेशकरलाई अन्तिम विदाई गर्दै शाखहरू खान र उनकी सेक्रेटरी। तस्वीरः सामाजिक सञ्जालबाट

लतालाई अन्तिम विदाई गर्न शाहरूख खान पनि आफ्नी सेक्रेटरी पूजा डाडलानीसँग त्यहाँ पुगेका थिए। उनले इस्लाम धर्मको रिवाज अनुसार लतालाई श्रद्धाञ्जली दिए भने पूजाले हिन्दू धर्मको रिवाज अनुसार।

सामाजिक सञ्जालमा यो तस्वीर भारतको असली पहिचानको रूपमा चर्चित भइरहेको छ। यसलाई सबै धर्म र रिवाजलाई समान महत्त्वका साथ स्थान दिने भारतीय संस्कृति भनिएको छ। तर यही प्रार्थनासँगै शाखरूखलाई भने विवादमा ल्याइएको छ।

केही व्यक्तिले उनले लताको पार्थिव शरीरमा थुकेको भन्दै ट्‌वीटरमा भिडिओ फुटेज राखेका थिए। भारतीय जनता पार्टी हरियाणाको आईटी सेल इन्चार्ज अरुण यादवको ट्‌वीटले विवादलाई थप उकासेको थियो। शाहरुखले श्रद्धाञ्जलि अर्पण गरेको भिडिओ शेयर गर्दै उनले लेखे- ‘के उनले थुकेका छन्?

भारतीय जनता पार्टीका प्रवक्ता प्रशान्त पटेलले समेत अर्को एकजनाको ट्‌वीट कोट रिट्‌वीट गर्दै लेखे – ‘शाखरूखले थुकिरहेका छन्।’

भारतीय सञ्चारमाध्यमहरूले भने यो अफवाह भएको पुष्टि गरेका छन्।

‘इन्डिया टुडे’ले यो अफवाहमात्रै भएको प्रमाणित गरेको छ। वास्तवमा उनले इस्लाम परम्परा अनुसार दुवापछि फुकेका थिए।

*शीर्षक सच्चाइएको।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved