“कानूनले तोकेको समयमा चुनाव नभए सरकारविरुद्ध जनपरिचालन गर्छौं”

नेपालभ्युज

“कानूनले तोकेको समयमा चुनाव नभए सरकारविरुद्ध जनपरिचालन गर्छौं”

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरुले सरकारविरुद्ध आन्दोलन गर्ने बताए।

पार्टी निकट पत्रकारहरुको संगठन प्रेस चौंतारी नेपालको २४ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले श्रीमानहरूले बनाएको वर्तमान सरकारले संविधान र कानुन उलंघन गर्ने धृष्टता गरिरहेको आरोप लगाए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “गठबन्धनकारी सरकार छ। यस्तो सरकार जुन सरकार गठन गर्न पार्लियामेन्टले चिनेन्, देखेन, थाहा पाएन। श्रीमानहरूले बनाए। श्रीमानहरूले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्री, यस्तो खालको सरकारले संविधानमा किटानी गरिएको व्यवस्थालाई उलंघन गर्ने धृष्टता गर्दैछ। कानुनलाई उलंघन गर्ने धृष्टता गर्दैछ। संविधानले किटानी गरेको व्यवस्थालाई उलंघन गर्ने धृष्टता गर्दैछ। यसबारे बोल्नुपर्छ कि पर्दैन ? बोल्नुपर्छ। यदि यो स्थानीय तहको निर्वाचन कानुन र संविधानले तय गरेको समयमै हुँदैन भने त्यसविरुद्ध देशव्यापी रुपमा जनपरिचालन हुन्छ। मुलुकको संविधान र कानुनको रक्षाका लागि यो काम गर्नु पर्दछ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले संविधान र कानूनविपरीत काम गरे सञ्चार माध्यमहरूले पनि विरोध गर्नुपर्ने बताए। उनले पार्टीनिकट सञ्चारकर्मीहरूलाई पार्टीको विचार प्रवाह गर्न र सही सूचना जनतामा पुर्‍याउने काममा केन्द्रित हुन आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved