वैदेशिक रोजगारीमा जानेहरूका लागि नक्कली पीसीआर बनाइदिने चार जना पक्राउ

नेपालभ्युज

वैदेशिक रोजगारीमा जानेहरूका लागि नक्कली पीसीआर बनाइदिने चार जना पक्राउ

जनकपुरधाम। वैदेशिक रोजगारका जानेहरूका लागि नक्कली पीसीआर रिपोर्ट बनाउने धनुषाका दुईसहित चार जना पक्राउ परेका छन्।

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा भक्तपुरको नागरिक कम्युनिटी टिचिङ हस्पिटल र तीनकुनेको कान्तिपुर अस्पतालका कर्मचारी र बिचौलिया पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा धनुषाको विदेह नगरपालिका-४ घर भई ललितपुर ग्वार्को बस्ने २५ वर्षीय रोशनकुमार छिट्टान, धनुषाकै क्षिरेश्वर नगरपालिका-१ घर भई गौशाला बस्ने २५ वर्षीय नागेन्द्र यादव, काभ्रेको तेमाल गाउँपालिका-५ घर भई सूर्यविनायक बस्ने २१ वर्षीय माधव मैनाली र सर्लाहीका बलरा नगरपालिका-७ घर भई कौशलटार बस्ने २४ वर्षीय नागरिक अस्पतालका ल्याब प्रबन्धक प्रशन्नकुमार झा रहेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार छापा मारेर चार जनालाई पक्राउ गरेको जनाएको छ। महाशाखाका एसपी कृष्ण कोइरालाले छिट्टानबाहेक अरू अस्पतालकै कर्मचारी रहेका र उनीहरूले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई नक्कली पीसीआर रिपोर्ट बनाइदिने गरेको बताए। यस कार्यमा संलग्न दुई जना भने फरार रहेका एसपी कोइरालाले जानकारी दिए।

फरार हुनेमा रौतहटको राजदेवी नगरपालिका-४ घर भई भक्तपुर दुवाकोट बस्ने नागरिक अस्पतालकै पीसीआर ल्याब सञ्चालक ४० वर्षीय भावेश मिश्र र कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक ४० वर्षीय निर्मल गिरी छन्।

त्यस्तै परीक्षण नै नगरी पीसीआर रिपोर्ट नेगेटिभ भनि उल्लेख गरिएका ४ थान पीसीआर रिपोर्टसहित ल्याबका कर्मचारी मैनालीलाई पक्राउ गरिएको हो।

पक्राउ गरिएकाहरूबाट पीसीआर रिपोर्ट जेनेरेटर गर्न प्रयोग भएको कम्युटर मोनिटर १ थान, ल्यापटक १ थान, सीपीयू ३ थान, पीसीआर दर्ता रजिष्टरहरू, पीसीआर रिपोर्टहरू, रसिद र मोबाइल ५ थान बरामद गरिएको एसपी कोइरालाले जनाए।

त्यस्तै कान्तिपुर अस्पतालको कर्मचारी नागेन्द्र कुमार यादवलाई पनि १७ थान नक्कली पीसीआर रिपोर्टसहित अस्पताल अगाडिबाट पक्राउ गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved