देउरालीचोक–बोक्से सडक कालोपत्र

नेपालभ्युज

देउरालीचोक–बोक्से सडक कालोपत्र
फाइल फोटो।

बागलुङ। बागलुङ बजारदेखि १२ किलोमिटरमा पुग्न सकिने सिगाना पुग्न सवारी साधनहरुलाई दुई घण्टा लाग्थ्यो। उकालोमा जेनतेन गाडीले ताने पनि समथर भागमा सवारी फसेर हैरान हुन्थ्यो। बागलुङ बजारको देउराली चोकदेखि बोक्सेसम्मको जम्मा २.६ किमी सडक पार गर्न एक घण्टा लाग्थ्यो। तर पछिल्लो चार वर्षका अवधिमा सिगाना पुग्ने सडक निकै सुधार भएको छ।

सिगाना पुग्ने सडकअन्तर्गत बागलुङ बजारदेखि बोक्सेसम्मको सडक अहिले पूरै पक्की भएको छ। देउराली चोकदेखि सवारी फस्ने स्थानमा सडक ढलान र अन्य स्थानमा कालोपत्र गरी पछिल्लो चार वर्षका अवधिमा सडक पक्की भएको हो।

योसँगै बागलुङ बजारदेखि सिगाना पुग्ने सडक बोक्सेसम्म निकै सहज भएको छ भने सिगाना पुग्न लाग्ने यात्राको समयसमेत छोटिएको छ। बागलुङ बजारदेखि बोक्से पुग्नै सवारीलाई एक घण्टा लाग्ने गरेकामा अहिले सडक कालोपत्र भएपछि निकै सहज भएको बागलुङ बजारदेखि सिगाना सडकमा नियमित सवारी साधन चलाउँदै आउनुभएका सवारी चालक गोविन्द शर्माले जानकारी दिए। “देउराली चोकदेखि बोक्से पार गर्नै समस्या हुन्थ्यो, बर्खाको समयमा मात्र नभएर हिउँदमा समेत सवारी फस्ने गर्दथ्यो,” उनले भने, “अहिले कतै ढलान र कतै कालोपत्र गरेर बोक्सेसम्मको सडक पक्की बनेको छ, अहिले त देखिराली चोकबाट १० मिनेटमै बोक्से पार गर्न सकिन्छ।” चालक शर्माका अनुसार सिगाना जाने सडक पहिलाको तुलनामा अहिले निकै सुधार भएको छ। साँघुरो सडकलाई अहिले ६ मिटर कायम गरी पक्की बनाइएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए।

लगातार चार वर्षको प्रयास र सबै वर्षको बजेट जोड्दा झन्डै रु साढे दुई करोडका लागतमा अहिले बोक्सेसम्मको सम्पूर्ण सडक पक्की भएको पौडेलको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved