नेपाली व्यापारिक घरानाको नयाँ रोजाइ : विवाह भेन्यू दुबई

नेपाल उद्योग–वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले छोराको विवाहमा कम्तिमा ५०–६० जना पाहुना दुबई लैजाने बन्दोबस्त मिलाएका छन्। उनका छोरा अभिमन्यूको विवाह झापाका प्रकाश गिरी र नम्रता गिरीकी छोरी श्रेयासँग सम्पन्न हुँदैछ। ९ फेब्रुअरीमा सबै पाहुना दुबई पुगिसक्ने कार्यक्रम छ।

नेपालभ्युज

नेपाली व्यापारिक घरानाको नयाँ रोजाइ : विवाह भेन्यू दुबई

काठमाडौं। जीवनमा एकपटक गर्ने बिहे ‘भव्य’ गरौं भन्ने अभिलाषा शायद धेरैको मनमा हुनसक्छ। आर्थिक हैसियतअनुसार, त्यो ‘भव्यता’को आ–आफ्नै परिभाषा पनि होला, स्वाभाविक रूपमा आकारमा पनि अन्तर होला।

सामान्यतया ठूल्ठूला ‘स्टार’ होटलमा आयोजना हुने विवाह र भोज, जहाँ  खर्चिलो र तडकभडक शैली अपनाइन्छ, त्यस्ता विवाह उत्सव ‘भव्य’ कहलिन्छन्। अनि विभिन्न क्षेत्रका ‘एलिट’ पाहुनाको सहभागिता हुन्छ।

पछिल्लो समय नेपाली व्यापारिक घरानाहरूलाई ‘भव्य’ विवाह उत्सव मनाउन स्वदेशका स्टार होटल साना लाग्न थालेका छन्। अनि विदेशी ‘भेन्यू’ रोज्न थालेका छन्।

भारतीय व्यावसायी र सिने सेलिब्रेटीहरुको विवाह उत्सव विदेशी ‘भेन्यू’ मा हुनेगरेका प्रशस्त सुनिन्छ। नेपालमा पनि यो चलन भित्रिएको छ। नेपाली मारवाडी समुदायका व्यावसायीले भारतका विभिन्न शहरमा गएर विवाह उत्सव मनाउने गरेको त पहिल्यैदेखि हो तर त्यसलाई पनि उछिन्दै विवाह उत्सवका लागि युनाइटेड अरब इमिरेट्सको  दुबई जाने चलन पछिल्लो समय हुर्किएको हो।

शेखर गोल्छाका छोरा अभिमन्यु र उनकी प्रेमिका श्रेया

यस्तो चलन भित्र्याउनेमध्येका पछिल्ला  व्यक्तित्व हुन्– नेपाली उद्यमी व्यवसायीहरूको छाता संगठन– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा। उद्योगपति शेखर गोल्छाका छोरा अभिमन्यू गोल्छाको आगामी १० फेब्रुअरीमा दुबईमा हुन लागेको विवाह समारोहको चर्चा अहिले नेपाली व्यापारिक घरानाभित्र चलेको छ।

केही महीनाअघि उद्योगी पवन गोल्यानका छोरा अक्षय गोल्यानको विवाह पनि आबुधाबीमा भएको थियो। आयशा बस्नेतसँग भएको विवाह उत्सवमा नेपालबाटै एक सय जनाभन्दा बढी पाहुनालाई निमन्त्रणा गरिएको थियो। पारिवारिक सदस्य लगायत उद्यमी, व्यावसायी र केही राजनीतिक नेताका परिवारहरू पनि सम्मिलित थिए।

पवन गोल्याणका छोरा अक्षय र उनकी श्रीमती आयशा

गोल्छाले पनि यही त्यही शैली पछ्याउँदै छोराको विवाह समारोह दुबईमा गर्न लागेका हुन्। एक जना आमन्त्रितका अनुसार, शेखर गोल्छाले छोराको विवाहमा कम्तिमा ५०–६० जना पाहुना दुबई लैजाने बन्दोबस्त मिलाएका छन्।

उद्योग वाणिज्य महासंघका पदाधिकारी, कर्मचारी र नेपाली व्यापारिक घरानाका विभिन्न व्यक्तित्वलाई निमन्त्रणा गरिएको छ। आमन्त्रितको सूचीमा केही राजनीतिक नेताहरू पनि रहेका छन्। वधु पक्षबाट पनि झण्डै ५०–६० जना सहभागी हुने कार्यक्रम छ।

अभिमन्यू गोल्छाको विवाह झापाका प्रकाश गिरी र नम्रता गिरीकी छोरी श्रेयासँग सम्पन्न हुँदैछ। ९ फेब्रुअरीमा सबै पाहुना दुबई पुगिसक्ने कार्यक्रम छ।

कोभिड महामारीबीच नेपालको आर्थिक क्षेत्र अति नै प्रभावित भएका बेला उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले छोरोको विवाह उत्सव दुबईमा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसै पनि नेपाली समाजमा विवाह भड्किलो र  खर्चिलो  हुँदैगएको छ। त्यसमाथि विवाह भेन्यूको रोजाइ विदेशी भूमि, त्यसमा पनि अत्यन्त महङ्गो दुबई शहरको होटेल हुन थालेपछि यसले दिने सन्देश कस्तो होला? चासो र बहसको विषय बन्न थालेको छ।

पूर्वसचिव युवराज भुसालले भारतमा यस्तो चलनहरू रहे पनि  विदेशमा गएर नेपालीले विवाह र पार्टी गर्ने शैलीलाई स्वाभाविक रूपमा लिन नसकिने बताए। उनले भने, “यो दुःखद् कुरा हो। पैसा हुनेले गर्छन् नि भन्नेहरूको तर्क एकातिर होला तर यसरी अनुत्पादक क्षेत्रमा फजुल खर्च हुनु राम्रो होइन।”

तर, यस्तो हुनुमा राज्यकै कमजोर रहेको भुसाल बताउँछन्। “राजनीति गर्नेहरू भव्य पार्टी आयोजना गर्छन् भने उद्योगीहरूको त पैसा खर्च गर्ने ठाउँ छैन। लगानी गर्ने र उत्पादन गर्ने वातावरण सरकारले बनाउनुपर्छ नि,” उनले थपे, “अर्को कुरा फजुलमा खर्च हुने परिपाटी नियन्त्रण गर्न त छुट्टै नीति नै बनाउनुपर्छ।”

उद्योगी कमलेश अग्रवाल भने जीवनभर अर्थतन्त्रमा योगदान गरेको एउटा व्यक्तिले आफ्नो खुशीले विदेशमा गएर छोराकाे बिहे र भोज गर्नुलाई नराम्रो भन्न नहुने बताउँछन्।

“विवाह समारोह जिवनमा एक पटक आउने हुन्छ। यसमा कुनै व्यक्तिले आफ्नो रेगुलर ट्रयाक छाडेर साथीभाइ र परिवारसँग रमाउने इच्छा राख्नु नराम्रो होइन,” उनले भने, “पछिल्लो समय भारतलगायतका अन्य देशबाट नेपालमा आएर विवाह पार्टी गर्नेहरू बढिरहेका छन्। के त्यहाँ ठाउँ नभएरै आएका हुन् त?”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved