आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गरेको दिन

प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेको दिनलाई कालोदिनका रुपमा सम्झने गरिन्छ।

नेपालभ्युज

आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गरेको दिन
फाइल तस्वीर

काठमाडौं। आज माघ १९ गते । १७ वर्षअघि आजकै दिनमा तत्कालीन राजा ज्ञानेन्द्रले राजनैतिक ‘कु’ गरेर निरङ्कुश शासनको सुरुवात गरेका थिए। मुलुकमा जारी हिंसात्मक द्वन्द्वलाई देखाएर उनले जनताका मौलिक अधिकार निलम्बन गरेका थिए।

प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेको दिनलाई कालोदिनका रुपमा सम्झने गरिन्छ।

संसदीय व्यवस्थाबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हटाई प्रत्यक्ष निरङ्कुश शासन व्यवस्था लादेको भन्दै आजको दिनलाई कालोदिनका रुपमा सम्झिने गरिन्छ। सम्पूर्ण राजकीय अधिकार आफ्नो हातमा लिई राजनीतिक सहमतिका आधारमा बनेको सरकारलाई अपदस्थ गरेका थिए।

प्रमुख राजनीतिक दलका नेताहरूलाई पक्राउ गरी नजरबन्दमा राखिएको थियो। राजाको कदमबाट २०४६ सालमा स्थापित बहुदलीय प्रजातन्त्रको मान्यताहरू पूर्णरुपमा समाप्त भएपछि दलहरूको आन्दोलन चर्किएको थियो।

ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए। दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए भने रेडियोमा समाचार रोक लगाइएको थियो। तर यो अवस्था धेरै दिन रहन सकेन ।

ज्ञानेन्द्रको यस कदमले जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरूलाई एकजुट बनायो। दलहरू राजाको उक्त प्रत्यक्ष शासनको विरुद्ध एकजुट भए र आन्दोलन चर्किँदै गयो। २०६२, ०६३ को जनआन्दोलनको सूत्रपात पनि यही दिनको कदम मानिन्छ।

२०६२ मङ्सिरमा दिल्लीमा द्वन्द्वरत माओवादी र तत्कालीन सातदलबीच १२ बुँदे समझदारी भएपछि माओवादीसहित ८ राजनीतिक शक्तिले राजसंस्था विरुद्ध आन्दोलन गरेका थिए। त्यही आन्दोलनको सफलतापछि २ सय ३८ वर्षीय राजसंस्थाको अन्त्य भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved