जनगणनाको तथ्यांकबारे सुरेन्द्र पाण्डेको प्रश्च : अरू जिल्लामा बढ्ने काठमाडौं किन नबढ्ने ?

नेपालभ्युज

जनगणनाको तथ्यांकबारे सुरेन्द्र पाण्डेको प्रश्च : अरू जिल्लामा बढ्ने काठमाडौं किन नबढ्ने ?

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन्।

मंगलबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको सिंहदरबारमा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहेअनुसार जनगणना नभएको उल्लेख गर्दै पुनर्गणना गर्नसमेत माग गरे।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रीय तथ्यांक विभागसँग माग गरे।

काठमाडौंमा सधैं माइग्रेशन बढिरहने तर त्यस अनुपातमा जनसंख्या घटने काम हुनै नसक्ने हुँदाहुँदै पनि तथ्यांक विभागको प्रारम्भिक नजितामा घटेर आउनुको कारण आफूले बुझ्न नसकेको उनले बताए।

सांसद पाण्डेले भने, “काठमाडौंमा जहिले पनि माइग्रेसन बढी हुन्छ। किनकि यो राजधानी हो। यो अस्थायी माइग्रेशन संघीयताले पनि रोकेको छैन। उता अरू जिल्लाका बढ्ने र काठमाडौं नबढ्ने किन भयो ? यो चिजमा राम्रोसँग हेर्नुस्। कतै राम्रो भएन कि। या अस्थायी रुपले माइग्रेट भएर पेशा, व्यवसायमा आएका मान्छेहरू कोभिडका कारण घर गएको बेला या अन्य कुनै कारणले काठमाडौंमा नभटेर हो कि ? केही त जष्टिफिकेशन हुनुपर्‍यो नि। कोभिडका कारण विद्यार्थीहरू बसेनन् कि यहाँ ? त्यो बेला घर फर्किए कि? नत्र भने यो तथ्य मिलेन। विगतमा त्यो बढेर आउँथ्यो।”

कांग्रेस सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरिन्। उनले विदेशमा गएको नेपालीहरूको जनगणना गर्ने कार्य योजना के छ ? भनी तथ्यांक विभागलाई प्रश्न गरिन्।

सांसद राईले गणकहरूलाई घरघरमा पुर्‍याएर तथ्यांक संकलन गर्ने काम नभएको अनुभूति सुनाउँदै आपत्ति जनाइन्।

यता तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताए। उनले यो प्रारम्भिक नतिजा भएको र पूर्ण भएर आउँदा सबै तथ्य आउनेतर्फ पनि सांसदहरूको ध्यानाकर्षण गराए।

महानिर्देशक श्रेष्ठले जनगणनाको प्रारम्भिक नजिताको कामलाई विभागले इमानदारीसाथ समयमै सम्पन्न गराएको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved