मोरङका तीन स्थानीय तहमा देखियो बर्डफ्लु संक्रमण

मोरङका तीन स्थानीय तहमा देखियो बर्डफ्लु संक्रमण

विराटनगर । मोरङको ३ स्थानीय तहका चारवटा फार्मको कुखुरामा बर्डफ्लुको संक्रमण देखिएको छ। मोरङको ग्रामथान, बुढीगंगा र कटहरीका गाउँपालिकाका कुखुरा फार्ममा पालिएका कुखुराहरुमा बर्डफ्लुको संक्रमण देखिएको हो।

कुखुराहरु मर्न थालेपछि गरिएको परीक्षणमा बर्डफ्लुको संक्रमण पुष्टि भएको फार्म सञ्चालकहरुले बताएका छन्। संक्रमण थप फैलिन नदिन हाल मोरङ प्रशासनको निर्देशानुसार कुखुरा नष्ट गर्ने र फार्म शिल गर्ने लगायतका कार्यहरु भइरहेको उनीहरुले जानकारी दिएका छन्।

कटहरी गाउँपालिका–७ स्थित पद्यधी बहुउदेश्यीय कृषि फार्ममा रहेका २ हजार बोइलरमध्ये ७ सयवटा कुखुरा मरेपछि नमुना संकलन गरेर परीक्षण गरिएको थियो। नमुनामा बर्डफ्लु पुष्टि भएको थियो। कुखुरामा बर्डफ्लुको संक्रमण देखिएपछि हाल बाँकी कुखुरा नष्ट गर्न प्राविधिक टोली परिचालन गरिएको छ।

त्यसैगरी ग्रामथान गाउँपालिका–१ स्थित श्री गणेश कृषि फार्ममा १ हजार २० वटा कुखुरामा समेत बर्डफ्लु पुष्टि भएको छ। गणेश साह सञ्चालक रहेको श्री गणेश फार्ममा केही दिनअघि २ सय कुखुरा मरेका थिए। मरेका कुखुराको नमुना परीक्षण गराउँदा बर्डफ्लु देखिएपछि अन्यलाई नष्ट गर्ने निर्णय गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।

बर्डफ्लु फैलिएको फार्ममा रहेका पन्क्षीजन्य वस्तु नष्ट गर्न प्राविधिक टोलि परिचालन गरिएको भेटेरिनरी अस्पताल विराटनगरका डा. सुशील कुमार अधिकारीले जानकारी दिए। गत शुक्रबार ग्रामथान–१ खुनियाकट्टामा रहेको काव्या कृषि फार्ममा ३ हजार ५०० लेयर्स मरेका थिए। मरेका कुखुराको नमूना संकलन गरेर पशुपंक्षी रोग प्रयोगशालामा पठाइएको थियो।

नमूनामा बर्डफ्लु यकीन भएपछि पुनः परीक्षणका लागि केन्द्रीय पशुपंक्षी अन्वेषण प्रयोगशाला काठमाण्डौं पठाइएको थियो। त्यहाँ समेत बर्डफ्लु पुष्टि भएपछि काव्या फार्मका १ हजार ६५० कुखुरा, २० कार्टुन अण्डा, ९०० केजी दाना र ४० बण्डल अण्डा राख्ने क्यारेट नष्ट गरिएको थियो। ग्रामथान गाउँपालिका भेटेरिनरी प्राविधिक अन्चलराज नेपालका अनुसार बर्डफ्लु देखिएका फार्मको निर्मलीकरण गरेर ४५ दिनसम्मका लागि सिल गरिएको छ।्

बुढीगंगा गाउँपालिका–५ स्थित रास एग्रोभेट फार्ममा रहेका परेवा समेत मरेपछि त्यसको नमूना समेत परीक्षण गर्दा बर्डफ्लु देखा परेको छ। रास फार्मका २५ जोर परेवा र २५० केजी दाना नष्ट गरिएको छ ।
जिल्लाका केही फार्ममा बर्डफ्लु पुष्टि भएपछि जिल्लास्थित बर्डफ्लु नियन्त्रण समितिको बैठकले सबै स्थानीय तहलाई फार्महरुको निगरानी गर्नका लागि पत्राचार गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी दाहालले छिमेकी जिल्लामा समेत समन्वय गर्ने काम भईरहेको बताए। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले नष्ट गरिएका पन्क्षीजन्य वस्तु र सामाग्रीको नियमानुसार क्षतिपूर्ति र व्यवस्थापनका लागि प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पशु सेवा विभागसँग रकम माग गर्ने निर्णय समेत गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved