शहीद गंगालाल र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण

ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उनीहरूलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो। त्यति गर्दा पनि कायल नभएपछि  ज्यान जाने गरी गोली ठोकिएको थियो।

नेपालभ्युज

शहीद गंगालाल र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण

काठमाडौं। आज शहीद गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ। सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन काठमाडौंको पश्चिम विष्णुमती नदीको किनार शोभा भगवतीमा स्थापित शहीदहरूको शालिकमा मुल समारोह समितिका संयोजक एवं महानगरका मेयर विद्यासुन्दर शाक्यसहित पदाधिकारीले पुष्पगुच्छा चढाएका हुन्।

नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको स्वतन्त्रताका लागि १ सय ४ वर्षको हुकुमी शासन र त्यसका शासकलाई चुनौती दिँदै उनीहरूले मृत्यु स्वीकार गरेका थिए। कोभिड संक्रमणका कारण यसवर्ष श्रद्धाञ्जलीसभा गरिएको छैन।
१० माघ अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो।

श्रेष्ठ र चन्दलाई ज्यानदण्ड दिइएको स्थानमा स्तम्भ, अर्धकदको शालिक र पूर्ण कदका शालिक राखिएका छन्। तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते अनावरण गरेको हो। त्यस्तै चिँकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी अर्धकदका शकालिक स्थापना गराएका हुन्। महानगरले २०७६ सालमा दुवै शहीदको पूर्ण कदका शालिक निर्माण गरेको हो।

हुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रकालागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो। त्यसबखत्, एकअर्काले देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो। ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उनीहरूलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो। त्यति गर्दा पनि कायल नभएपछि  ज्यान जाने गरी गोली ठोकिएको थियो।

बैतडीमा जन्मिएका दशरथ चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिएका थिए। त्यस्तै रामेछापको भंगेरीमा जन्मिएका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लागेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved