किड्नीको पत्थरी अपरेशन गर्न गएकी प्रमिला मृत्यु शय्यामा

आफन्त भन्छन् : डाक्टरले यस्तो हालत बनाइदिए

किड्नीको पत्थरी अपरेशन गर्न गएकी प्रमिला मृत्यु शय्यामा

विराटनगर। पत्थरीको शल्यक्रिया गर्न अस्पताल भर्ना भएकी मोरङ ग्रामथान गाउँपालिका-२ झोराहाटकी प्रमिला कुमारी चौधरी मर्ने न बाँच्ने दोसाँधमा पुगेकी छन्।

किड्नीमा पत्थरी देखिएपछि अपरेशन गर्न गएको ५ माघमा मोरङको बुढीगंगा-१ स्थित विराट मेडिकल कलेजमा भर्ना भएकी चौधरी मृत्यु शैयामा पुगेकी हुन्। सामान्य अवस्थामा अस्पताल पुगेकी चौधरीलाई अस्पतालका चिकित्सकले यस्तो अवस्थामा पुर्‍याइदिएको आफन्तको गुनासो छ।

केही पनि बोल्न र सहजै प्रतिक्रिया जनाउन नसक्ने अवस्थामा पुगेकी २५ वर्षीया चौधरी हाल कोमामा छिन्। अस्पतालले उनी अब दुई-चार दिन मात्र बाँच्ने घोषणा नै गरिसकेको छ। उनको पत्थरीको शल्यक्रियासमेत भएको छैन।

पेट दुखेपछि गएको पुसको तेश्रो साता ग्रामथान-२ बस्दै आएकी प्रमिला चौधरी आफ्नो श्रीमानसँग चेकजाँचका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज गएकी थिइन्। अस्पतालका चिकित्सक डा. दीपक ठाकुरसँग चेकजाँच गराएपछि उनको दाहिनेतर्फको किड्नीमा ११.८ र ९ एमएमको दुईवटा पत्थर देखिएको थियो।

डा. ठाकुरले उनलाई अपरेशन गर्नुपर्ने सल्लाह दिए। वर्ष दिनअघि पनि देब्रेतिरको किड्नीमा पत्थरी देखिएपछि प्रमिलाले सोही अस्पतालबाट सफल शल्यक्रिया गराएकी थिइन्। पछि दाहिने किड्नीमा पनि पत्थरी देखिएपछि गएको माघ ५ गते उनी सामान्य अवस्थामा अस्पताल भर्ना भइन्। अस्पतालले उनलाई अपरेशनका लागि भर्ना लियो।

तर, माघ ५ गते सकुशल अस्पताल भर्ना भएकी उनी ६ माघदेखि अचानक सिकिस्त हुन थालिन्। भर्ना भएको २४ घण्टा निबित्दै उनको स्वास्थ्य अवस्था बिग्रन थाल्यो। ६ माघको बिहान ९ः३० बजे पत्थरीको शल्यक्रियाका लागि चिकित्सकहरूले उनलाई अपरेशन थिएटर लगेका थिए। तर, शल्यक्रिया नै नगरी दिनको १२ः३० बजे एकाएक चिकित्सकहरूले बिरामीलाई सीपीआर दिनुपर्ने भन्दै उनलाई भेन्टिलेन्टरमा राख्न लगाए।

सीपीआर अर्को उपाय नहुन्जेलसम्मका लागि हृदयघात भएको व्यक्तिमा रक्तसञ्चार र श्वासप्रश्वास सहज बनाउन छातीमा कम्प्रेशनहरू दिने आपतकालीन प्रक्रिया हो। उपचारमा संलग्न सर्जनले सीपीआर दिनुपर्ने बताएपछि बिरामीका आफन्तहरू आत्तिए। आफन्तजनले सोधीखोजी गर्न थालेपछि अस्पतालले बिरामी निको हुन्छ भन्दै नआत्तिन आग्रह गर्‍यो। तर, उनको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गयो।

अस्पताल भर्ना भएको ८ दिन बितिसक्दा पनि हाल बिरामी प्रमिलाको स्वास्थ्य अवस्थामा सुधार आएको छैन। उनी अझै पनि अचेत अवस्थामा अस्पतालमा शैयामा लडिरहेकी छन्। चिकित्सकले बिरामीको उपचारमा गम्भीर लापरबाही गरेको आफन्तको गुनासो छ। उनीहरूले बिरामीलाई एनेस्थेशिया (बेहोस पार्ने औषधि) को ओभरडोज दिएको हुनसक्ने आशंका गरेका छन्।

बिरामीको स्वास्थ्य अवस्था झनै बिग्रिएपछि उनका श्रीमान् वर्ष ३३ का ज्ञानराम माझीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन्।

जाहेरीमा विराट मेडिकल कलेज र बिरामीलाई एनेस्थेसिया दिने डाक्टर कनक खनाललाई विपक्षी बनाइएको छ। जाहेरीमा भनिएको छ, ‘माघ ६ गते अपरेशन थिएटरमा लग्नुअघि बिरामीको अवस्था सामान्य थियो। अस्पताल दिएको रिपोर्टमा त्यसबारे उल्लेख छ। तर, अपरेशन नै नगरि बिरामी सिकिस्त हुनुले अस्पतालको गल्ती देखिएको छ।’

यता, अस्पताल प्रशासनले भने बिरामीको स्वास्थ्य अवस्था बिग्रनु भवितव्य मात्र रहेको दाबी गरेको छ। बिरामीलाई मात्रा अनुसार नै एनेस्थेशिया दिएको भए पनि उनको शरीरले थाम्न नसकेर स्वास्थ्य अवस्था बिग्रिएको अस्पताल प्रशासनका प्रमेशराज देवकोटाले बताए। पीडित पक्ष कानूनी प्रक्रियामा जानु स्वाभाविक भएको भन्दै उनले दोषी ठहर भए अस्पताल कानूनबमोजिम कारबाही भोग्न तयार रहेको जानकारी दिए। उनले भने, “हजार जनामध्ये १ जनामा मात्र कहिलेकाहीँ यस्तो समस्या देखा पर्छ। बिरामीको शारीरिक रूपमा कमजोर भएर उनको शरीरले एनेस्थेशियाको न्यूनतम डोजसमेत सहन गर्न नसकेको हो।”

पीडित पक्षको जाहेरीपश्चात शुक्रबार नै मोरङ प्रशासनले मोरङ प्रहरीलाई सत्यतथ्य बुझी घटनाको अनुसन्धानका लागि पत्राचार गरिसकेको छ। बिरामीका आफन्तजनले प्रहरीका साथै राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, ग्रामथान गाउँपालिका र नेपाल पत्रकार महासंघलाई समेत घटनाबारे बोधार्थ पठाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved