विवादले घेरिएको कतार विश्वकप

फिफा अध्यक्ष भएर आफ्नो कार्यस्थल नै छाडेर विश्वकप आयोजक देशमा नै अस्थायी रूपमा बसोबस गरेकोमा इन्फान्तिनोको हाल सबैतिर आलोचना भइरहेको छ।

नेपालभ्युज

विवादले घेरिएको कतार विश्वकप

काठमाडौं। विश्वकप फुटबल शुरु हुन एक वर्ष बाँकी छँदा विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्तिनो स्विट्जरल्याण्डबाट कतारको दोहामा बसाइ सरेका छन्।

स्विस पत्रिका सोन्ट्याग्स्बिल्कले गतहप्ता मात्र प्रकाशित खोजमूलक सामाचारका अनुसार गत अक्टोबरदेखि नै इन्फान्तिनो आउँदो विश्वकप आयोजक शहर दोहामा बस्दै आएका छन्।

विश्व खेलकुदकै बहुप्रतिष्ठित प्रतियोगितको २२ औं संस्करण कतारमा आयोजना हुँदैछ।

कतार विश्वकपलाई सफल बनाउन स्विट्जरल्याण्डको ज्युरिचमा रहेको फिफा मुख्यालय नै छाडेर इन्फान्तिनो दोहामा एक घर भाडामा लिएर बसेको सोन्ट्याग्स्बिल्कले जनाएको छ। दोहामा नै रहेको विधालयमा उनका दुई सन्तान पनि पढ्ने गर्छन्।

फिफा अध्यक्ष भएर आफ्नो कार्यस्थल नै छाडेर विश्वकप आयोजक देशमा नै अस्थायी रूपमा बसोबस गरेकोमा इन्फान्तिनोको हाल सबैतिर आलोचना भइरहेको छ। सोन्ट्याग्स्बिल्कका अनुसार इन्फान्तिनो विरलै मात्र ज्यूरिच जाने गरेको फिफाका एक कर्मचारीले बताएका छन्।

विशेषगरी पैसाकै कारण कतारलगायत अरब देशहरूसँग फिफा बढी ढल्केको युरोपियन फुटबलका ठूला राष्ट्रको आरोप छ। अध्यक्ष इन्फान्तिनो दोहा सरेको विषयमा फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरले कतारसँगको फिफाको यो परावलम्बी सम्बन्ध फुटबलको लागि खतरा रहेको बताउँछन्। भन्छन्, ‘जियानी इन्फान्तिनो कतारमा सेरेको विषयले मलाई कुनै आश्चर्यमा पारेको छैन। वास्तवमा उनी स्विट्जरल्याण्डमा बस्न सजिलो मान्दैनन्। उनी त फिफा मुख्यालयलाई नै पेरिसमा सार्न चाहन्छन् र अमेरिकाबाट फिफा प्रशासनको आउटसोर्सिङ गराउने उनको योजना छ।

अध्यक्ष इन्फान्तिनो दोहा सरेको विषयमा फिफाले शुरुमा हल्ला मात्र रहेको बताए पनि हाल भने यो विषयलाई स्विकारेको छ। हरेक चार–चार वर्षमा विश्व फुटबलका उत्कृष्ट ३२ राष्ट्रले विश्वकप उपाधि उचाल्न गर्ने भिडन्त यो पटक २०२२ को नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म सञ्चालन हुँदैछ।

अरब राष्ट्रमा हुन लागेको यो पहिलो विश्वकप फुटबल हो भने एशियामा नै आयोजना हुन लागेको मात्र दोस्रो अवसर हो। पाँच शहरका आठ स्टेडियममा हुने विश्वकपका लागि आयोजक कतारले तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ।

सन् २०१० मा भएको यो विश्वकप आयोजकको बिडिङमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को २२ ओटा कार्यकारिणि कमिटीको भोटिङमा कतारले धेरै मत पायो। तर कतारलाई विश्वकप आयोजन गर्न दिने पहिलो पटकको निर्णयसँगै नै विवादास्पद बनेको यो विश्वकपको आयोजक हालसम्म पनि विभिन्न कारणले विवादमै रुमल्लिरहेको छ।

जति विवाद भए पनि इन्फान्तिनो कतार विश्वकपको पक्षमा छन्। उनले यो विश्वकप एशिया क्षेत्रकै हालसम्मको ऐतिहासिक प्रतियोगिता हुने बताउँदै आएका छन्। तर विशेषगरी युरोयियन समुदायले भने यो विश्वकपलाई इतिहासमै हालसम्मकै सर्वाधिक विवादास्पद विश्वकपको दर्जा दिएका छन्। जसका प्रमुख दुई कारण निम्न छन्।

पैसाको चलखेलले बनेको आयोजक

फिफा विश्वकप आयोजना हुने सधै जुन-जुलाईको महिनामा हो। विश्वकपसँगै अन्य साना ठूला अन्तर्देशीय प्रतियोगिता जस्तैः युरोकप, कोपा अमेरिकाजस्ता प्रतियोगिता पनि प्रायः यही समयमा गर्ने गरिन्छ।

यो समय भनेको विश्वकै सबैभन्दा प्रख्यात क्लब फुटबल प्रतियोगिताहरू रहको युरोपियन फुटबल सिजनको ब्रेकको समय हो। प्रायः युरोपियन फुटबल सिजन अगष्टमा शुरु भएर मेमा सकिन्छ।

विश्वका अधिकांस प्रख्यात फुटबलहरू युरोपियन क्लबबाट नै खेलिरहेका हुन्छन् र यो सिजन ब्रेकमा देशका लागि खेल्न पाउँछन। क्लब र देशका प्रतियोगिता नजुधोस् भनेर नै फिफाले यस्तो क्यालेण्डर बनाएको हो।

तर यो वर्ष भने कतार विश्वकपका लागि फुटबल क्यालेण्डर नै परिवर्तन गर्नपर्ने भयो। कतारमा जुन जुलाईमा विश्वकप गराउन सकिँदैन कारण हो त्यहाँको गर्मी। मध्य गर्मी सिजन भएका कारण जुन जुलाईमा कतारको तापक्रम औसतमा ४० डिग्री सेल्सियसभन्दा माथि रहने गर्छ। यो तापक्रममा मरुभूमिमय कतारमा फुटबल खेल्नु सम्भव थिएन।

यो समस्याका समाधानका लागि कतार सरकारले एयर कण्डिसनयुक्त फुटबल स्टेडियम बनाउने उपाय दिएको थियो। तर यो पनि त्यति प्रभावकारि उपाय मानिएन। त्यसैले सबैले कतारमा विश्वकप आयोजना हुनु हुँदैन भन्ने तर्क राखेका थिए।

तर फिफाले त्यसको विकल्पमा कतार कै लागि भनेर नोभेम्बर डिसेम्बरमा विश्वकप गर्ने योजना बनायो। जसकारण विश्वकपका लागि बीचको एक महिना युरोपियन क्लब फुटबललगायत अन्य प्रतियोगिता रोक्नुपर्ने भएको छ। त्यसैले धेरै फुटबल आयोजक, समर्थक र विज्ञ पनि कतार विश्वकपबाट रुष्ट छन्।

यो वर्ष पहिलो पटक मे,जुन वा जुलाईबाहेक महिनामा विश्वकप आयोजना हुँदैछ र २८ दिनमा पनि छोट्याइएको छ। वास्तवमा यसरी फुटबल क्यालेण्डर नै परिवर्तन गर्नपर्ने गरी कतारलाई विश्वकप आयोजना गर्न दिनमा पैसाको चलखेल भएको कुरा प्रमाणित भइसकेको छ।

खासमा यो विश्वकप आयोजनाको शुरुआत नै भ्रष्टाचारबाट भएको थियो।

सन् २०१० मा भएको विश्वकपको आयोजकको भोटिङमा आफ्नो पक्षमा भोट गर्न कतारले उत्तर मध्य अमेरिकी तथा क्यारेबियन फुटबल महासंघका प्रमुख ज्याक वार्नरलाई करिब दुई मिलियन अमेरिकी डलर घुस दिएको अमेरिकी खेलकुद पत्रिका ‘स्पोट्स इलुस्ट्रेड’ले जनाएको छ।

त्यस्तै अलजजिरका अनुसार विश्वकप विडिङ टिमका एक अधिकारी फदेरा अल मजिदा आफैले यो प्रक्रियामा केही अफ्रिकी फुटबल महासंघकालाई कतारले पैसा दिएको स्विकारेका थिए। सन् २०१४ मा ब्रिटिस पत्रिका ‘सनडे टाइम्स’ ले इमेल दस्तावेजहरू सार्वजनिक गरेको थियो। जसमा कतारी फुटबल महासंघका प्रमुख मोहम्मद विन हमामले कतारमा विश्वकप आयोजनाका लागि भोट गर्न अन्य फुटबल महासंघलाई पैसा दिएको देखाइएको थियो।

यसअघि नै फिफाले भ्रष्टाचारको आरोपमा हमामलाई आजिबन प्रतिबन्ध लगाइसकेको थियो। फिफाका पूर्व प्रमुख सेप ब्लाटर आफैले त्यो बेला कतारको बिडिङ कमिटीले विश्वकप आयोजक बन्न छल गरको स्विकार्दै त्यो गैरकानुनी कामलाई ‘ब्लायक अपरेसन’ को नाम दिएका थिए।

उनकै पालामा कतारले विश्वकप आयोजकको रूपमा छनोट भए पनि उनले सन् २०१४ मा अत्यधिक गर्मीका कारणले कतारलाई विश्वकप आयोजनाको अवसर दिनु गल्ती भएको स्विकारेका थिए।
यसअघि एक पटक पनि विश्वकप खेल्न छनोट हुन नसकेको देशलाई आयोजक बनाउनुमा तेलको पैसाको कारण नै थियो।

पूर्वस्टार फुटबलर एरिक कान्टोना भन्छन्, ‘साँचो भन्नुपर्दा, अब आउने विश्वकपको बारेमा मलाई केही मतबल छैन, मेरा लागि यो वास्तविक विश्वकप होइन। दक्षिण अफ्रिका र अमेरिका जस्ता फुटबलको विकास र प्रवर्द्धन गर्न सकिने सम्भाव्यता भएका देशमा विश्वकपको आयोजना हुनुपर्छ भन्ने सोचको म विरोधी होइन। तर कतार, यो फुटबलको देश होइन। कतार विश्वकप त मात्र पैसासँग सम्बन्धित छ र तिनीहरूले फुटबल स्टेडियम बनाउने कामदारलाई गरेको व्यवहार निकै क्रुर छ।’

आप्रवासी कामदारको शोषण

कान्टोनाले भनेजस्तै विश्वकप फुटबलका लागि स्टेडियम बनाउनेलगाएत कार्यका लागि अन्य देशबाट झिकाइएका कामदारलाई कतार सरकारले ठूलो अन्याय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पुष्टि जनाएका छन्।

फुटबलको मात्र नभई समस्त विश्व खेलकुदमध्ये नै सबैभन्दा लोकप्रिय र सर्वाधिक दर्शकले हेर्ने प्रतियोगिताको लागि त्यहीअनुसार भौतिक संरचनाको निर्माण गर्नुपर्ने हुन्थ्यो। विश्वकपको प्रमुख संरचना भनेको नै विश्वकप गर्न लायक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार फुटबल स्टेडियम बनाउनु हो। जसका लागि कतार सरकार आप्रवासी कामदारमा निहित थियो।

सीमित समयमा नै सबै भौतिक संरचनाको निर्माण पूरा गर्नुपरेकोले कामदारलाई अत्याधिक गर्मीमा काम लगाएको, असुरक्षित तरिकाले काम गर्न लगाएको र क्षमताभन्दा बढी काममा खटाएको आरोप छ।

गत वर्ष ‘द गार्जियन’मा प्रकाशित समाचारका अनुसार कतार विश्वकप आयोजकको रूपमा छनोट भएयता सन् २०१० देखि २०२० सम्मको पछिल्लो १० वर्षको अन्तरालमा नेपाल, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका गरी कतारमा काम गर्न गएका ६५ हजार कामदारले ज्यान गुमाएको तथ्यांक छ।

उनीहरू मध्ये कतिपयलाई अत्यावश्यक खाना र पानी पनि नदिइएको, पासपोर्ट खोसेर काममा लगाइएको, समयमा तलब नदिइएको र केहीलाई त दास जस्तै बनाएर राखिएको तथ्य ‘द गार्जियन’ ले सार्वजनिक गरेको थियो।

खाडी मुलुकमा आप्रवासी कामदारलाई गरिने क्रुर र निर्दयी व्यववहारलाई दासत्वको आधुनिक रूप वा ‘मोर्डन स्लेभरी’ पनि भन्ने गरिएको छ। एम्नेष्टी इन्टरनेशनलको रिपोर्टमा पनि कतार सरकारले विश्वकप तयारीका लागि काम गर्ने कामदारसँग अमानवीय र मानव अधिकारविरोधी काम गरेको रिपोर्ट निकालेको थियो।

प्रतियोगिता शुरु हुनपूर्व नै यस्ता धेरै विवादमा मुछिएको यो विश्वकप, यिनै विवाद र अन्य धेरै कारणले पनि अघिल्ला विश्वकपजस्तो नहुने धेरै विज्ञहरूको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved