बुटवलका शहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा बिस्तार

नेपालभ्युज

बुटवलका शहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा बिस्तार

बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार गरिएका छन्। उपमहानगरपालिकाले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आधुनिक प्रयोगशाला सेवासहितको प्राथमिक स्वास्थ्यसेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको छ।

सहरी स्वास्थ्य केन्द्रमा विस्तार भएका र ल्याबसहितको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको आकर्षण बढेकाले जनस्वास्थ्यका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विशिष्टिकृत सेवासमेत थपेर विस्तार गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए। नगरका वडा नं २, १५, १६ र १९ मा सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तारसहित व्यवस्थित गरिएको छ। नयाँ संरचनामा नयाँ व्यवस्थासहितको स्वास्थ्य केन्द्र सञ्चालनमा आएका छन्।

नयाँ संरचनामा शुभारम्भ गरिएका स्वास्थ्य केन्द्र र यसअघि नै व्यवस्थित गरिएका समेत गरी बुटवलमा हाल १२ वटा स्वास्थ्य संस्था रहेका छन्। मोतिपुर र सेमलारमा स्वास्थ्य चौकी, नयाँगाउँ र बुद्धनगरमा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र बाँकी ठाउँमा सहरी स्वास्थ्य केन्द्र रहेका छन्। सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र नयाँ गाउँमा मेडिकल अफिसर, स्वास्थ्यकर्मी र एक्सरे, अल्ट्रा साउण्ड र मधुमेह परीक्षणको सुविधासमेत उपलब्ध छ। यी सबै स्वास्थ्य संस्थामा करिब ७५ प्रकारका औषधि निःशुल्क रूपमा वितरण हुँदै आएको छ। जनस्वास्थ्यको क्षेत्रमा मेडिकल अफिसरसहित ८१ जनाको जनशक्तिले सेवाप्रवाह गरिरहेको छ।

बुटवल उपमहानगरका– १९ वटै वडामा मेडिकल र जनस्वास्थ्य अधिकृतले आधुनिक ल्याबसहित नियमित सेवाप्रवाह गरिरहेका छन्। साना–साना स्वास्थ्य समस्यालाई लिएर पनि उनीहरू स्वास्थ्य संस्थामा जान थालेका छन्। उपमहानगरमा रहेको विभिन्न १८ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले नियमित सेवाप्रवाह गर्दै आएका छन्।

सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीमार्फत प्राथमिक स्वास्थ्य सेवालाई प्रभावकारी र विश्वसनीय बनाउने पहल थालिएदेखि नै नगरवासीको आकर्षण बढेको प्रमुख सुवेदीले बताए। सेवाग्राहीको सङ्ख्या मात्रै होइन उनीहरूमा सन्तुष्टि पनि बढाउने गरी सेवाप्रवाहलाई प्रभावकारी बनाउन पनि निर्देशन दिइएको उनको भनाइ छ।

मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलव्ध गराउने कोसिस गरिएको प्रमुख सुवेदीले बताए। बुटवल उपमहानगरपालिका सञ्चालित सहरी स्वास्थ्य केन्द्रमा सेवा लिनेको सङ्ख्यामा भने उल्लेख्य वृद्धि भएको छ।

आर्थिक वर्ष २०७४/७५ मा नगरका सम्पुर्ण स्वास्थ्य संस्थाबाट बहिरङग सेवा लिने २१ हजार ४७३ जना रहेकोमा गत आव २०७५÷७६ मा १० हजार भन्दा धेरै वृद्धि भयो। त्यसवर्ष मात्रै कूल ३२ हजार ८२१ जनाले सेवा लिएको उपमहानगरको शिक्षा, स्वास्थ्य तथा जनसङ्ख्या महाशाखाको तथ्याङ्कमा छ। गत आवमा यो सङ्ख्या अझ बढेको छ।

स्वास्थ्य संस्था नभएका वडामा वडा क्लिनिक सञ्चालन गरिएको थियो। जसअन्तर्गत आव २०७४/७५ मा चार हजार ७०० चार जनाले सेवा लिएकोमा गत आव २०७५÷७६ मा वृद्धि भई नौ हजार ५९० जना सेवाग्राही पुगे। २०७६/७७ मा त्यो सङ्ख्यामा वृद्धि भएर ४२ हजार ३५४ जनाले सेवा लिएका छन् भने २०७७/७८ मा ४५ हजार ६२० जनाले र चालू आवको हालसम्मको अवधिमा मात्रै ३८ हजार जतिले समग्र स्वास्थ्य संस्थाबाट सेवा लिएको स्वास्थ्य शाखाका प्रमुख कल्पना भट्टराईले जानकारी दिए।

यो सङ्ख्या उपमहानगर मातहत रहेका १२ वटा संस्थामा सेवा लिन आएका सेवाग्राहीको मात्रै हो। बुटवलमै रहेका, आम्दा, प्रादेशिक अस्पताल र अरु अस्पतालमा सेवा लिनेको सङ्ख्या यसमा समावेश छैन। बुटवल उपमहानगरले सिद्धार्थ बाल तथा महिला अस्पतालमा उपमहानगरको अलग्गै खोप भण्डार केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved