‘जनकपुर राजधानी हुनुपर्नेमा वीरगञ्ज क्षेत्रका सांसदहरूको असहमति’

नेपालभ्युज

‘जनकपुर राजधानी हुनुपर्नेमा वीरगञ्ज क्षेत्रका सांसदहरूको असहमति’

जनकपुरधाम। प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने सवालमा वीरगन्ज क्षेत्रका केही सांसदहरूबाहेक सबै एकै ठाउँमा भएका बताएका छन्। साथै उनले प्रदेशको नाम र राजधानी ३ माघमा टुंगो लाग्ने पनि जानकारी दिए।

प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका-७ मा आज आयोजित कार्यक्रममा मन्त्री साहले माघ २ गते बस्ने प्रदेशसभा बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुंगिने बताए।

‘‘प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको छ”, मन्त्री साहले भने, ‘‘प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसदबाहेक सबै सांसद एकै ठाउँमा छन्, नामको सन्दर्भमा पनि छलफल भइरहेको छ।”

प्रदेशसभा समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने नैतिक दबाब रहेकाले जसरी पनि प्रदेशको नाम र राजधानीको विषय टुंगिने उनले विश्वास व्यक्त गरे।

शीतलहरका बेला लत्ताकपडाको जोहो गर्न नसक्ने विपन्न, गरिब नागरिकलाई प्रदेश सरकारले राहतस्वरूप कम्बल वितरणको कार्यक्रम शुरु गरेको बताउँदै सञ्चारमन्त्री साहले चिसो र शीतलहरबाट नागरिकको ज्यान जोगाउन सरकारले आवश्यक तयारी गरिरहेको समेत बताए। सो कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता परमेश्वर साहले जाडोबाट प्रभावित विपन्न नागरिकको जीवन रक्षा गर्नु राज्यको दायित्व भएकाले तीनै तहको सरकार तत्काल यसप्रति गम्भीर हुनुपर्ने बताए।

जनकपुरधाम उपमहानगरपालिका-७ का वडाध्यक्ष जानकीराम साहको अध्यक्षतामा आयोजित कम्बल वितरण कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्र तथा स्थानीय पवन ठाकुरले प्रदेश सरकारले विपन्न नागरिकलाई कम्बल वितरण गरी सराहनीय कार्य गरेको बताए।

सो अवसरमा सामाजिक विकासको क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै स्थानीय जयकिसुन साह, हकिम राईन्, विश्वनाथ दास, लक्ष्मण पाण्डे, अनिता श्रीवास्तव, रामनाथ पाठक, जगदीश साह लगायतलाई सञ्चारमन्त्री साहले दोसल्ला ओढाएर सम्मान गरे। कार्यक्रममा सञ्चारमन्त्री साहले जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाका ५०० गरिब, विपन्न परिवारलाई कम्बल वितरण गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved