‘सरकारसँग थोरै पनि नैतिकता छ भने उपनिर्वाचन गराओस्, जनताले देखाइदिन्छन्’

नेपालभ्युज

‘सरकारसँग थोरै पनि नैतिकता छ भने उपनिर्वाचन गराओस्, जनताले देखाइदिन्छन्’

राजविराज। नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले उपनिर्वाचन नगराउनु सरकारको अक्षम्य अपराध गरेको आरोप लगाएका छन्।

शुक्रबार राजविराजस्थित राज रंगशालामा आयोजित नेकपा एमालेको नवौं सप्तरी जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता साहले चुनाव हार्ने डरले गठबन्धन सरकार प्रतिनिधि छान्न पाउने जनताको अधिकारको हनन गरेको बताए।

विभिन्न जालझेल तथा षड्यन्त्रपूर्ण ढंगले परमादेशबाट आएको सरकार जनतामाझ जानबाट डराएको पुष्टि भएको उनको भनाइ छ। एउटै विधि मानेर राष्ट्रिय सभाको चुनाव गर्न सक्ने सरकारले ६ महीनाभित्र अनिवार्य चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था लत्याउनुले गठबन्धन सरकार जनताबाट बहिष्कृत रहेको पुष्टि भएको नेता साहले जिकिर गरे।

“पछिल्लो राजनीतिक उतारचढावको नतिजास्वरुप देशका विभिन्न क्षेत्र आज प्रतिनिधिविहीन छ। संविधानले नै एक वर्ष कार्यकाल बाँकी रहेको अवस्थामा अनिवार्य रुपमा ६ महीनाभित्र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ,” नेता साहले भने, “विभिन्न षड्यन्त्रपूर्ण ढंगबाट बनेको परमादेशी गठबन्धन सरकार जनताबाट डराइरहेको छ। चुनाव हारिन्छ कि भन्ने त्रासबीच यो जनविरोधी सरकारले उपनिर्वाचन गर्न नचाहेर पुष्टि गरेको छ कि वर्तमान सरकार जनताबाट बहिष्कृत सरकार हो।”

उहीँ विधि पद्धति मानेर राष्ट्रियसभा निर्वाचन गर्न सक्ने सरकार उपनिर्वाचन किन गर्न नचाहिरहेको बताए। “जनताको हकको हनन गर्न पाइँदैन, सरकारसँग थोरै पनि नैतिकता बाँकी छ भने उपनिर्वाचन गराओस। यो गठबन्धनलाई जनताले असली हैसियत देखाइदिनेछन्,” नेता साहले थपे।

कार्यक्रममा प्रदेश इन्चार्ज रघुवीर महासेठ, सहइन्चार्ज एवम् राष्ट्रिय सभा दलका नेता सुमन प्याकुरेल, सह-इन्चार्ज लीलानाथ श्रेष्ठ लगायतको उपस्थिति थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved