राजस्व संकलनमा जस्तो पुँजीगत खर्चमा सरकारको तदारूकता देखिएनः अध्यक्ष गोल्छा

नेपालभ्युज

राजस्व संकलनमा जस्तो पुँजीगत खर्चमा सरकारको तदारूकता देखिएनः अध्यक्ष गोल्छा
फाइल तस्वीर

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा तदारुकता देखाएजस्तै पुँजीगत खर्च बढाउन सरकारले ध्यान दिन नसकेको बताएका छन्।

भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले आइतवार राखेको स्वागत एवं बधाई कार्यक्रमलाई संवोधन गर्दै तरलताको समस्या पेचिलो बन्दैगएको अहिलेको समयमा सरकारको पूँजीगत खर्च मात्र बढ्न सके पनि त्यसले केही सहयोग गर्ने उनको धारणा थियो।

अध्यक्ष गोल्छाले कोभिड १९ ले थलिएको अर्थतन्त्रले केही गति लिन खोजेको बेला तरलताको अभावले समस्या उत्पन्न भएको बताए। निजी क्षेत्र पनि व्यापारमुखी मात्र भएको, उत्पादनमुखी क्षेत्रमा लाग्न नसकेको भन्ने आरोप लाग्नेगरेको बताउँदै उनले भने, ‘यो केही हदसम्म सत्य छ। निजी क्षेत्र उपयुक्त वातावरण पाएमा उत्पादनमुखी क्षेत्रमा केन्द्रित हुन तयार छ।

महासंघ अध्यक्ष गोल्छाले आर्थिक गतिविधि बढ्न लागेको, आन्तरिक पर्यटन विस्तारै अगाडि बढ्ने तर्खरमा रहेको बेला पुनः कोभिडको अर्को भेरियन्टले विश्वलाई नै तर्साएको पनि बताए।

“यतिबेला अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका, देशहरू पुन लकडाउनतर्फ गइरहेका र त्यसको प्रभाव नेपालमा पनि पर्ने चिन्ता सर्वत्र रहेको छ”, अध्यक्ष गोल्छाले भने, “अर्थतन्त्र र रोजगारीमा ठूलो योगदान रहेको पर्यटन क्षेत्र ओमिक्रनको त्रासले सेटब्याक हुने खतरामा छ।”

अर्थतन्त्रको विस्तार, रोजगारी सिर्जना, निर्यात अभिवृद्धि गर्ने लक्ष्यका साथ महासंघले ल्याएको ‘भिजन पेपर नेट २०३०’ को सफल कार्यान्वयनमा महासंघको सिंगो सञ्जालको कार्यगत एकता, सहकार्य, अनरसिप आवश्यक रहेको पनि बताए।

अध्यक्ष गोल्छाले भक्तपुरको प्रमुख सामर्थ्य भनेको पर्यटन, हस्तकला, कला संस्कृति नै रहेकाले यी क्षेत्रको विकासमा संघले नवीनतम् सोचका साथ काम गर्न आग्रह पनि गरे। भक्तपुरको ऐतिहासिक महत्वलाई उजागर गर्ने र पर्यटन पूर्वाधार विकासमा संघले नेतृत्वदायी भूमिका निर्वाह गर्न सुझाव दिँदै संघले थालेका सबै कार्यमा महासंघले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन काम गरेर देखाउन जरुरी रहेको बताए। सानो ठाउंमा पनि ठूलो काम गर्न सकिने उदाहरण दिंदै उपाध्यक्ष श्रेष्ठले लगभग भक्तपुर जत्रै माल्टा भन्ने देशले प्रतिवर्ष २२ लाख पर्यटक भित्र्याउने गरेको भन्दै भक्तपुरसंग पनि त्यो सम्भावना प्रवल रहेकाले यसमा केन्द्रीत हुन सुझाव दिए।

उनले स्थानीय निकायबाट अव्यावहारिक रुपमा उठाइएका करका सम्बन्धमा महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको पनि स्पष्ट पारे। महासंघको सञ्जालभित्रका सबै सदस्यको महत्वलाई अझ बढाउने गरी कार्य गर्न वर्तमान नेतृत्व लागेको बताए।

उद्योग व्यवसाय विकासका लागि अवरोध बनेका ऐन कानूनको संशोधन, पुनर्लेखनका लागि महासंघले सरकारसँग निरन्तर लवी गरीरहेको पनि उनले जानकारी दिए
महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले भक्तपुर कला, संस्कृति, मौलिकतामा सम्पन्न रहेकाले अहिलेको यूवा टीमले त्यसैको आधारमा काम गर्नुपर्ने सुझाव दिए। उनले विगतमा भक्तपुर ताजा तरकारीका लागि निकै प्रशिद्ध रहेको पनि चर्चा गरे।

कुनै समय कृषिका लागि अब्बल मानिएको भक्तपुर यतिखेर पर्यटनको बढी सम्भाव्यता बोकेको जिल्ला भएकाले आफूमा जे सामथ्र्य छ त्यसैको विकासमा लाग्नुपर्ने धारणा राखे। सो अवसरमा महासंघका कोषाध्यक्ष सुकुन्तलाल हिराचनको पनि उपस्थिति थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved