प्रदेश २ मा अहिलेसम्म ७.६ प्रतिशत मात्र बजेट खर्च

नेपालभ्युज

प्रदेश २ मा अहिलेसम्म ७.६ प्रतिशत मात्र बजेट खर्च

जनकपुरधाम।  प्रदेश २ मा चालु आर्थिक वर्ष २०७८\७९ मा हालसम्म जम्मा ७.६ प्रतिशत मात्र बजेट खर्च भएको छ। चालू आवको लागि प्रदेशमा ३४ अर्ब १० करोड १८ लाख रुपैया बजेट विनियोजन गरिएको थियो।

त्यसमध्ये, प्रथम चौमासिकमा २ अर्ब ६० करोड ५१ लाख अर्थात ७.६ प्रतिशत बजेट मात्र खर्च भएको हो। यसमा १ अर्ब ७९ करोड ७८ लाख रुपैयाँ चालू खर्च छ भने ८० करोड ७३ लाख रुपैयाँ पूँजिगत खर्च रहेको अर्थ मन्त्रालयले जनाएको छ।

जहिले पनि विकास बजेट असार मसान्तमा खर्च गर्ने गलत परिपाटीले गर्दा सुरुमा बजेट खर्च नगरिने गरिएको प्रदेश २ नीति आयोगका पूर्व उपाध्यक्ष डा. हरिवंश झाले बताए।

झाले विकास खर्च गर्न सरकारको नियत मै खोट रहेको आरोप लगाए।

‘‘वर्षभरी खर्च नगरेर मनोमानी ढंगले खर्च गर्न र भ्रष्टाचर गर्नको लागि नै असार कुरेर बस्ने परम्परा देशभर नै छ, समय मै श्रोत परिचालन र खर्च गर्न नसक्नु सरकारको अक्षमता हो। यसले भ्रष्टाचार बढाउने र गुणस्तरीय काम नहुने अवस्था जहिले पनि कायम भईरहन्छ,’’ उनले भने।

नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले अब बजेट खर्च गर्ने शैलीमा सुधार गरेर अगाडि बढ्ने वेला आएको बताए।
सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले कर्मचारी अभावका कारण बजेट परिचालन र खर्चमा समस्या भएकोे बताए।

मन्त्री साहले बिनियोजित बजेट खर्च नहुँदा सरकार पनि चिन्तित रहेको बताए। उनले आउने दिनमा यसमा सुधार हुने बताए।

यसअघिका वर्षमा समेत प्रदेश सरकारले कर्मचारी अभावलाई कारण देखाउँदै समयमा बजेट खर्च गर्न नसकेको बताउँँदै आएको छ। जबकि आर्थिक वर्षको अन्त्यमा आफ्ना कार्यकर्तालाई योजना बाँडफाँड गरेर खर्च गर्ने परिपाटी देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved