ओमिक्रोन संक्रमणको दर बढ्दो, अर्थतन्त्र जोगउन उपाय खोज्दै युरोप

स्पेनले बुधबार क्वारेन्टाइन अवधिलाई १० दिनबाट घटाएर सात दिनमा झार्ने बताएको छ। यता इटालीले भने संक्रमित व्यक्तिसँग कन्ट्याकमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यकारी व्यवस्थालाई घटाउने बताएको छ।

नेपालभ्युज

ओमिक्रोन संक्रमणको दर बढ्दो, अर्थतन्त्र जोगउन उपाय खोज्दै युरोप

एजेन्सी। गएको एक हप्तादेखि युरोपमा कोभिड–१९ संक्रमणदर तीव्र गतिमा फैलिन थालेको छ। संक्रमण दर बढ्न थालेसँगै त्यहाँका सरकारहरुले अर्थतन्त्रलाई असर नपुग्ने हिसाबमा संक्रमण नियन्त्रणको उपाय खोज्न थालेका छन्।

विश्वभर नै २२ डिसेम्बरदेखि २८ डिसेम्बरको बीचमा ९ लाख मानिसमा कोभिड संक्रमण पुष्टि भएको छ। दक्षिण अमेरिकाका देशहरु अजेन्टिना, अष्ट्रेलिया, बोलिभिया, अमेरिका र युरोपमा पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च संक्रमणदर भेटिएको छ।

अध्ययनले यसअघिका कोभिड भेरियन्टको तुलनामा ओमिक्रोन खासै खतरनाक नभएको देखाए पनि स्वास्थ्यविद्ले सुरक्षा अपनाउन आग्रह गरेका छन्। ओमिक्रोन खतरनाक नभए पनि धेरै मानिस संक्रमित हुँदा त्यसले सबै क्षेत्रलाई भने प्रभावित बनाउने र त्यसको असर अर्थतन्त्र लगायतका क्षेत्रमा पर्नसक्ने बताइएको छ।

धेरै मानिस संक्रमित हुँदा अस्पताल भर्ना हुने मानिसको संख्या बढ्न सक्ने बताउँदै त्यसले अप्रत्यक्ष रुपमा अर्थतन्त्र लगायत समाजिक जीवनमा पनि प्रभाव पार्ने विज्ञहरुको मत छ। धेरै मानिस संक्रमित हुँदा सरकारले क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने हुँदा त्यसले अन्य क्षेत्रलाई पनि प्रभावित पार्ने उनीहरुको तर्क छ।

संक्रमणदर बढ्दै जाँदा धेरै देशका नेता भने मानिसलाई घरभित्र राख्नुपर्दा त्यसले अर्थतन्त्रमा प्रभाव पार्नसक्ने भन्दै चिन्तित हुन थालेका छन्। त्यसैले पनि अर्थतन्त्रलाई प्रभावित नपार्ने अवस्थाको उनीहरु खोजीमा रहेको बताइन्छ।

स्पेनले बुधबार क्वारेन्टाइन अवधिलाई १० दिनबाट घटाएर सात दिनमा झार्ने बताएको छ। यता इटालीले भने संक्रमित व्यक्तिसँग कन्ट्याकमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यकारी व्यवस्थालाई घटाउने बताएको छ।

अमेरिकाले पनि गत हप्ता क्वारेन्टानमा बस्नुपर्ने समायवधिलाई पाँच दिनमा घटाएको थियो। योभन्दा अघि १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था अमेरिकाले गरे पनि पछिल्लो समय उक्त नियमलाई घटाउने निर्णय गरेको हो।

‘ओमिक्रोन संक्रमण र फैलावटको दर डेल्टाको तुलनामा धेरै पाइएकाले म चिन्तित छु। यो फैलावटको दरले स्वास्थ्यमा सुनामी ल्याउनसक्छ’, विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रोस एडहानम घेब्रेयसले एक पत्रकार सम्मेलनमा बताएका छन्।

यता फ्रान्समा स्वास्थ्यमन्त्री ओलिवर वेरानले पछिल्लो २४ घण्टामा २ लाख ८ हजार नयाँ संक्रमित फेला परेको बताएका छन्। फ्रान्ससँगै बेलायत, इटाली, स्पेन, पोर्चुगल, ग्रिस, साइप्रस र माल्टामा २८ डिसेम्बरमा नयाँ संक्रमितले रकर्ड बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved