साढे १७ हजार शिक्षक दरबन्दी खुला गर्दैछौं : शिक्षामन्त्री

नेपालभ्युज

साढे १७ हजार शिक्षक दरबन्दी खुला गर्दैछौं : शिक्षामन्त्री

काठमाडौं । शिक्षा मन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवामा साढे १७ हजार अपुग दरबन्दी खुला गर्ने तयारीमा सरकार रहेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर साढे १७ हजार शिक्षकको दरबन्दी अपुग रहेकाले खुला गर्ने तयारीमा रहेको बताए।

उनले माध्यमिक,निम्नमाध्यमिक र प्राथमिक तहमा शिक्षक सेवा आयोगले दिएको दरबन्दी आवश्यकता पूरा गर्ने गरी विज्ञापन खुला गरिने बताए। मन्त्री पौडेलले ५ वर्ष शिक्षक सेवा दिएर बढुवा हुनुपर्ने नियमअनुसार बढुवा गर्ने तयारीमा रहेको पनि बताए। शिक्षक सेवा नियमावली मन्त्रिपरिषद्बाट पारित भइसकेको उनले जानकारी गराए।

मन्त्री पौडेलले बैठकमा सांसदहरूले उठाएको एसईई परीक्षा प्रणाली खारेज गर्ने विषममा सरोकारवाला निकायहरूसँग छलफल भइरहेको पनि जानकारी गराए। सरकारले यसअघि नै कक्षा १२ सम्म विद्यालय तह घोषणा गरेकाले एसईई गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रालयमा दैनिकजसो सरोकारवाला निकायहसँग छलफलमा रहेको बताए।

त्यस्तै मन्त्री पौडेलले प्रारम्भिक बालशिक्षा पढाउने शिक्षकलाई ६ हजार तलबमा काम गर्नु लगाउनु अन्याय भएको पनि बताए।

सरकारले केही दिनअघि माध्यमिक र निम्न माध्यमिक गरी सयौं संख्यामा शिक्षक दरबन्दी खुलाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved