संघीय मन्त्रीआवास निर्माणमा ढिलाई

कार्तिकमा सक्नुपर्ने काम असारमा सक्ने लक्ष्य

नेपालभ्युज

संघीय मन्त्रीआवास निर्माणमा ढिलाई

काठमाडौं। संघीय मन्त्रीहरुका लागि ललितपुरको भैसेंपाटीमा निर्माण गरिरहेको आवासको कार्यप्रगति निकै सुस्त रहेको पाइएको छ। मन्त्री आवास निर्माणको लागि २७ कात्र्तिक २०७६ मा श्रीको हनुमान जेभीसँग सरकारले सम्झौता गरेको थियो।

उक्त सम्झौतामा आयोजनाको निर्माण अवधि २ तोकिएको थियो। तर, कोरोनाले निकै असर गरेपछि सरकारले ६ महिना म्याद थपेको छ। जसअनुसार आगामी वैशाखसम्ममा कार्य सम्पन्न गर्नुपर्नेछ । यद्यपी, आयोजना निर्देशक श्रेष्ठले असार मसान्तसम्म काम सक्ने लक्ष्य रहेको बताए। अहिलेसम्म ६६ प्रतिशत काम सकिएको जानकारी आयोजना निर्देशक दिलिप श्रेष्ठले दिए।

अनुगमनका क्रममा मंगलबार भैसेंपाटी पुगेको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको टोलीलाई श्रेष्ठले यस्तो जानकारी दिएका हुन्। निर्देशक श्रेष्ठले स्थानीयहरुको अवरोध तथा कोरोना महामारीको कारण निर्माण कार्यमा ढिलाई भइरहेको बताए। अवरोध हटाउनको लागि सरकारी तहबाट पहल भइरहेको पनि उनले बताए।

‘‘कोरोना महामारी, स्थानीयहरुको जग्गा विवाद, सडक निर्माण लगाय अवरोधका कारण सुस्त भएको कामले पछिल्लो समय गति लिएको छ। अहिले भौतिक प्रगति मात्रै ६६ प्रतिशत भएको छ। चालु आर्थिक वर्षको असार मसान्तसम्ममा सबै पहिलो र दोस्रो फेजको काम सम्पन्न गरिसक्ने योजना रहेको छ,’’ उनले भने,‘‘ भवन निर्माण भए पनि भवनको भित्रि सजावटको काम बाँकी छ, ६ महिनाभित्र सजावटको काम पनि सकिन्छ।’

अनुगमनपछि राष्ट्रिय सभाका सांसद् बामदेम गौतमले आवश्यक सल्लाह नै नगरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काम अघि बढाएकाले अहिले समस्या देखिएको आरोप लगाए। उनले, मन्त्रालयबाट मन्त्री निवास निकै टाढाको दूरी रहेको प्रतिक्रिया दिए।

‘‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निवास बनाउनुभन्दा अगाडी जनतासँग कुनै सल्लाह गर्नु भएन। जनतासँग सल्लाह गरेको भए अहिले समस्या आउने थिएन। यस क्षेत्रमा सरकारकै पर्याप्त जमिन हुँदा–हुँदै जनताको जमिन हड्प्नु हुने थिइन। यो काम गलत भयो,’’ उनले भने,‘‘सरकारले निवास बनाउने निर्णय गर्दा मन्त्रालय,संसद् भवन भन्दा लामो दुरीमा पर्छ भन्ने कुराको मूल्याङकन गरेको देखिएन। निवासबाट मन्त्रालय जानको लागि मात्रै पनि आधा घण्टा लाग्छ। विश्वको कुनै पनि मन्त्री निवास संसद् भवन र मन्त्रालयबाट यति टाढा हुँदैन।’’

त्यस्तै,दिनानाथ शर्माले निवास निर्माणमा देखिएको अवरोध हटाउन स्थानीयवासी, ललितपुर महानगरपालिकाका मेयर तथा जनप्रतिनिधिहरुसँग बसेर छलफल गर्नुपर्ने बताए।

यस्तो बन्दैछ आवास
९६ रोपनी १० आना जग्गामा फैलिएको मन्त्री निवास निर्माणका लागि श्रीको जेभीसँग १ अर्ब ३ करोड ४६ लाख रुपैयाँको सम्झौता भएको थियो । सरकारले सो क्षेत्रमा २४ वटा संघीय मन्त्री निवास, राष्ट्रिय सभाको अध्यक्षको निवास, राष्ट्रिय सभाको उपाध्यक्षको निवास र उपसभामुखको निवास गरी २७ वटा ब्लक निर्माण गर्दैछ।

दुई चरणमा निर्माण हुने आवासको पहिलो चरणमा २७ वटा भवन, कम्पाउण्ड, सडक, ढल र भौतिक पूर्वाधार निर्माण गरिरहेका छन् भने दोस्रो चरणमा हरियाली, सुरक्षा, कम्युनिटी हल समेत बन्ने छ।

संघीय संसद् भवनको निर्माण पनि सुस्त

समितिले मंगलबार नै सिंहदरबारभित्र बन्दै गरेको संघिय संसद् भवनको पनि अवलोकन तथा निरीक्षण गरेको छ । सिंहदरबारभित्र रहेको सेनाको ब्यारेकलाई हटाइ सरकारले १ सय ७३ रोपनी ८ आना जग्गामा संघीय संसद् भवनको निर्माण गरिरहेको छ। संघीय संसद भवनको निर्माणका लागि शेक जेभीसँग २०७६ असोज १६ गते ३ वर्षको निर्माण सम्झौता गरेको थियो।

भौतिक प्रगति सुस्त गुनासो आएपछि समितिले चासो देखाएर निर्माण अनुगमन गर्न गएको हो। संघीय संसद् भवनको निर्माण प्रगति अहिलेसम्म ४० प्रतिशत पनि भएको छैन। संघीय संसद् भवनको निर्माणको कूल लागत ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ रहेको छ। सरकारले हाल बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसदको दुवै सदन संचालन गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved