पुरानो रूखमा नयाँ पालुवा, यस्तो बन्दैछ कांग्रेसको टिम

अहिलेसम्म देउवा प्यानलबाट सभापतिमा देउवा आफैं, उपसभापतिमा पूर्णबहादूर खड्का, सह-महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ (महिलातर्फ) र भीष्मराज आङ्देम्बे (आदिवासी-जनजातितर्फ) विजयी भएका छन्। कोइराला प्यानलबाट अहिलेसम्म उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र सह-महामन्त्रीमा जीवन परियार (दलिततर्फ) निर्वाचित भए।

नेपालभ्युज

पुरानो रूखमा नयाँ पालुवा, यस्तो बन्दैछ कांग्रेसको टिम

काठमाडौं। नेपाली कांग्रेस आफ्नो १४ औं महाधिवेशनको मतगणनामा केन्द्रीत छ। यस महाधिवेशनबाट अहिलेसम्म १३ पदाधिकारीमध्ये ८ जना विजयी भइसकेका छन्। कांग्रेसको सभापति पदमा पुरानै अनुहार दोहोरिए पनि अन्य पदमा युवाको सशक्त उपस्थिति देखिएको छ।

कति जनाको निर्वाचन हुँदैछ ?

विधानअनुसार कांग्रेसको केन्द्रीय समिति १ सय ६७ सदस्यीय रहनेछ। यसमध्ये १३ पदाधिकारीसहित कुल १ सय ३४ जना केन्द्रीय सदस्य यही महाधिवेशनबाट निर्वाचित हुनेछन्। निर्वाचित पदाधिकारी भन्नाले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सह-महामन्त्री हुन्।

पदाधिकारीतर्फ : सभापति, उपसभापति र महामन्त्रीमा खुला प्रतिस्पर्धा हुन्छ। यसको परिणाम पनि सार्वजनिक भइसकेको छ।

८ सह-महामन्त्रीमा आठ फरक क्लस्टरका प्रतिनिधि आउनेछन्। जसमा महिला, आदिवासी-जनजाति, दलित, खस-आर्य, मधेशी, मुस्लिम, थारू र पिछडिएको समुदायलाई आरक्षण छ। यसमध्ये तीनजनाको मतपरिणाम आइसकेको छ।

निर्वाचित भएर आउने बाँकी १ सय २१ जना केन्द्रीय सदस्य हुन्। यसमा खुलातर्फ ३५, महिलातर्फ ९, मधेशी ९, दलित ९, हरेक प्रदेशबाट( ३ सहित कुल २१), आदिवासी जनजाति १५, खस आर्य १३, थारू ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अपांगता भएका १ र पिछडिएको समुदायबाट १ जनालाई सिट छुट्टयाइएको छ। केन्द्रीय सदस्यहरुको मतगणना शुरु हुनै बाँकी छ।

यसरी कांग्रेसको १ सय ३४ सदस्यीय निर्वाचित कार्यसमिति तयार हुनेछ। यही कार्यसमितिको बैठकले कोषाध्यक्षसहित ३३ जनालाई मनोनित गर्नेछ। सभापतिले नाम सिफारिस गर्नेछन् र कार्यसमितिले त्यसलाई अनुमोदन गर्नेछ। अनि, १ सय ६७ सदस्यीय कार्यसमितिले पूर्णता पाउनेछ।

अहिलेसम्म को-को विजयी भए ?

यस निर्वाचनमा सभापतिमा ५ जनाले उम्मेदवारी दिए : शेरबहादुर देउवा, डा. शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ ।

सभापतिका सबै उम्मेदवारहरुले ठूलो प्यानल तयार गर्न नसके पनि विशेषगरी, देउवा र कोइरालाले पदाधिकारी र केन्द्रीय सदस्यसम्मको सूची नै तयार गरेका थिए। त्यस्तै, सिंह र निधिले उपसभापति र महामन्त्रीमा पनि आफ्ना उम्मेदवार उठाए। कल्याण गुरुङको कुनै प्यानल थिएन।

अहिलेसम्म देउवा प्यानलबाट सभापतिमा देउवा आफैं, उपसभापतिमा पूर्णबहादूर खड्का, सह-महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ (महिलातर्फ) र भीष्मराज आङ्देम्बे (आदिवासी-जनजातितर्फ) विजयी भएका छन्। सभापतिमा पहिलो चरणमा ५ प्रतिस्पर्धीमध्ये कसैको बहुमत नआएपछि सर्वाधिक धेरै मत ल्याउने दुई प्रत्यासीबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो।

पहिलो चरणमा सभापतिका उम्मेदवार रहेका सिंह, निधि र गुरुङको समेत समर्थन पाएपछि दोस्रो चरणमा देउवा विजयी भए। कसैको समर्थन नपाएका शेखर कोइराला भने पराजित भए।

यद्यपि, कोइराला प्यानलबाट अहिलेसम्म उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र सह-महामन्त्रीमा जीवन परियार (दलिततर्फ) निर्वाचित भए। महामन्त्रीमा निर्वाचित विश्वप्रकाश कोइराला पहिलो चरणमा पराजित भएका सभापतिका उम्मेदवार सिंह प्यानलका हुन्।

निधि प्यानलबाट भने अहिलेसम्म कोही पनि निर्वाचित हुन सकेका छैनन्। कांग्रेस केन्द्रीय कार्यालयमा बाँकी ५ सह-महामन्त्रीको मतगणना भइरहेको छ।

कांग्रेस महाधिवेशन

सभापति : शेरबहादुर देउवा
उपसभापति : पूर्णबहादूर खड्का, धनराज गुरुङ
महामन्त्री  : गगन थापा, विश्वप्रकाश शर्मा
सह-महामन्त्री : महालक्ष्मी उपाध्याय ‘डिना’ (महिलातर्फ), भिष्मराज आङदेम्बे (आदिवासी÷जनजाति), जीवन परियार (दलिततर्फ) । बाँकी ५ सह-महामन्त्रीको मतपरिणाम आउन बाँकी।

मतपरिणाम आउन बाँकी : ५ सह-महामन्त्री

मतगणना हुन बाँकी  : १२१ केन्द्रीय सदस्य

कुल निर्वाचित कार्यसमिति  : १३४

मनोनित सदस्य : ३३

कुल कार्यसमिति : १ सय ६७ सदस्यीय


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved