‘लागूऔषध प्रयोगकर्ता अपराधी होइनन्, स्वास्थ्य समस्या भएका व्यक्ति हुन्’

‘‘देशभर रहेका २४ हजार ६७९ जना कैदीमध्ये २१ प्रतिशत अर्थात् करीब ५ हजार जना लागूऔषध प्रयोगकर्ता हुन् ।”

नेपालभ्युज

‘लागूऔषध प्रयोगकर्ता अपराधी होइनन्, स्वास्थ्य समस्या भएका व्यक्ति हुन्’

काठमाडौं। लागूऔषध प्रयोगकर्ताहरु अपराधी नभएर स्वास्थ्यमा समस्या रहेका व्यक्ति भएका सरकारवालाहरुले बताएका छन्। लागूऔषध प्रयोगकर्तालाई अपराधी जसरी जेलमा थुनेर राख्ने गरिएकोमा उनीहरुले उपचारमा जोड दिएका हुन्।

शुक्रबार रिकभरिङ नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै संस्थाका सीईओ विष्णु शर्माले लागूऔषध सेवन गर्नेलाई अपराधीका रुपमा लिने गरेको बताए। उनले त्यस्ता व्यक्तिलाई जेल चलान गर्नुको सट्टामा स्वास्थ्य समस्याका रुपमा लिएर उपचारका लागि जोड दिने विषयमा कसैले नसोचेको बताए।

विश्व स्वास्थ्य संगठनले पनि लागूपर्दाथ सेवन गर्नु अपराध नभएर एक प्रकारको रोग भएको भनेर परिभाषित गरेको शर्माले बताए।

शर्मा भन्छन्, ‘‘लागूपदार्थ सेवन गर्नेलाई जेल हाल्दैमा समस्या समाधान हुँदैन। यसले उल्टो बढी समस्या निम्त्याउने गर्छ। सेवनकर्ताले जेल हाल्दैमा खान नछोड्ने र फेरि घर समाजमा फर्किएपछि खान शुरु गर्ने भएकाले उनीहरुलाई शुरुदेखि नै रिहाब सेन्टरमा वा अस्पतालमै राखेर उपचारमा जोड दिनुपर्छ।”

नेपालमा लागूऔषध प्रयोगकर्ताको संख्या वर्षेनी बढ्दै गइरहेको अधिवक्ता रुप नारायण श्रेष्ठले बताए।

‘‘गृह मन्त्रालयको २०७६ सालको तथ्यांकअनुसार नेपालमा १ लाख २१ हजार ६९२ र ८ हजार ७३२ महिला गरी १ लाख ३० हजार ४२४ जना लागूऔषध प्रयोगकर्ता छन्”, उनले भने, ‘‘देशभर रहेका २४ हजार ६७९ जना कैदीमध्ये २१ प्रतिशत अर्थात् करीब ५ हजार जना लागूऔषध प्रयोगकर्ता हुन्।”

केही समय पहिले गरिएको एक अध्ययनमा लागूपदार्थ सेवन गर्ने ९० प्रतिशतभन्दा बढीमा हेपाटाइटिस र ५० प्रतिशतमा एचआईभी संक्रमण पुष्टि भएको उनले बताए।

नेपालमा लागूऔषधका क्षेत्रमा काम गर्ने तीन सय बढी संघ संस्थाहरु भए पनि सरकारले आजसम्म ती संस्थालाई सहयोग नगर्दा लागूपदार्थ सेवन गर्नेको संख्या घट्नुको सट्टा झन् झन् बढ्दै गएको शर्माले बताए।

‘‘नेपालमा हाल १ लाख ३० हजार ४२४ जना लागूऔषध प्रयोगकर्ता रहेको अनुमान गरिएको”, उनले भने, ‘‘यी सबै प्रयोगकर्ताहरु अपराधी होइनन्। उनीहरुलाई घरपरिवार र उपचारको आवश्यक छ। सबैलाई जेल हाल्नुपर्छ भन्दा पनि उपचारमा बढी जोड दिनुपर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved