कांग्रेस महाधिवेशन

संस्थापनइतरले सकेन साझा उम्मेदवार छान्न, भोट माग्न थाले नेताहरू

कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा इतरबाट साझा उम्मेदवार अघि सार्नुपर्ने बताउँदै आएका शेखर कोइरालाले पनि सभापतिमा आफ्ना लागि भोट माग्न थालेका छन्। ‘एक पटक, यसै पटक’ नाराका साथ कोइरालाले आफ्नो प्रचार थालेका हुन्।

नेपालभ्युज

संस्थापनइतरले सकेन साझा उम्मेदवार छान्न, भोट माग्न थाले नेताहरू

काठमाडौँ। आजबाट नेपाली कांग्रेसको १४ ‍‍औं महाधिवेशन शुरु हुँदै छ। तर महाधिवेशनमा साझा उम्मेदवार दिन्छौं भनेका संस्थापनइतर समूहका शीर्ष नेताहरू भने सभापतिमा आफैंलाई जिताउन भोट माग्दै हिँड्न थालेका छन्।

इतर समूहबाट सभापतिको चर्चामा रहेका नेता शेखर कोइरालाले त हिजै साँझबाट भोट माग्न थालिसकेका छन्। पटक पटकको औपचारिक तथा अनौपचारिक बैठकबाट पनि सभापतिको साझा उम्मेदवार छान्न नसकेपछि नेताहरूले आफ्नै सुर कसेका हुन्।

‘एक पटक, यसै पटक’ नाराका साथ शेखरले आफ्नो प्रचार थालेका हुन्। शुरुआती दिनदेखि नै सभापतिको दौडमा रहेका उनले इतर पक्षबाट साझा उम्मेदवार आए दाबी छाड्ने बताएका थिए। तर सहमति हुन नसकेपछि उनले आफ्नो प्रचारका साथै भोट माग्न थालेका हुन्।

शेखरले आफ्नो दाबी कायम रहेको सन्देश दिने गरी पोस्टरसमेत सार्वजनिक गरेका छन्।

त्यस्तै अर्का नेता प्रकाशमान सिंहले पनि सभापतिमा आफूलाई जिताउन भोट माग्न थालिसकेका छन्। खासगरी सिंह र शेखबरबीच को सभापतिको साझा उम्मेदवार हुने भन्ने विषयमा कुरा नमिलेको हो।

बिहीबार दिनभर पनि सभापतिको साझा उम्मेदवारका लागि संस्थापनइतर पक्षका नेताहरूले कसरत गरेका थिए। नेता सिंहले सभापतिको उम्मेदवारी नछाड्ने अडान लिएपछि साझा उम्मेदवार छनोटको सम्भावना न्यून बनिरहेको छ।

तेह्रौँ महाधिवेशन सकिएदेखि नै सभापतिमा उम्मेदवारी दाबी गर्दै आएका सिंहले पनि महाधिवेशनको पूर्वसन्ध्यामा प्रचारप्रसार अघि बढाएका छन्। कोइराला शुरुदेखि नै सभापतिका लागि जिल्ला दौडाहामा लागेका थिए।

यता सभापति शेरबहादुर देउवा खेमाबाट अलग्गिएका विमलेन्द्र निधिले पनि सभापतिमा भोट माग्न शुरु गरिसकेका छन्। आजबाट हुने कांग्रेसको महाधिवेशनले आगामी पाँच वर्षे कार्यकालका लागि नेतृत्व चयन पनि गर्नेछ।

संस्थापनइतर पक्षमा सभापतिका आकांक्षी धेरै भएपछि देउवालाई भने सहज हुने देखिएको छ।

पार्टीभित्र बलियो देखिएका देउवाको विपक्षमा साझा उम्मेदवारलाई अघि सार्न नसके पुन: उनी नै दोहोरिने टिप्पणी नेताहरूको छ। जसकारण सभापतिमा इतर समूहका नेताहरूले साझा उम्मेदवार छनोटका लागि अनौपचारिक भेटघाटलाई तीव्रता दिइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved