वैध रुपमा नै मोबाइलको अवैध आयात बढिरहेको छः अर्थमन्त्री शर्मा

मोबाइल बजार व्यवस्थित गर्न एमडीएमएस तत्काल लागू हुने घोषणा

अर्थमन्त्री शर्माले भने, “मैले अवैध रुपमा मोबाइल फोन आयात हुने विषयलाई व्यवस्थापन गर्न लागू हुने एमडीएमएसबारे हिजो मात्रै थाहा पाएँ। मैले हिजै तत्काल लागू गर्न निर्देशन दिइसकेको छु। तत्काल नै लागू हुन्छ।”

नेपालभ्युज

वैध रुपमा नै मोबाइलको अवैध आयात बढिरहेको छः अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस तत्काल लागू हुने घोषणा गरेका छन्। नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सभामा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न देशबाट अवैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न एमडीएमएस तत्काल लागू हुने घोषणा गरेका हुन्।

कार्यक्रममा बोल्दै उनले भने, “मैले अवैध रुपमा मोबाइल फोन आयात हुने विषयलाई व्यवस्थापन गर्न लागू हुने एमडीएमएसबारे हिजो मात्रै थाहा पाएँ। मैले हिजै तत्काल लागू गर्न निर्देशन दिइसकेको छु। तत्काल नै लागू हुन्छ।”

तर, वैध रुपमै धेरै मोबाइल फोन आयात भइरहेको प्रसंग कोट्याउँदै उनले भने, “केलाई अवैध भन्ने हो ? यहाँ त वैध रुपमा अवैध आयात भइरहेको छ। मैले केही दिन अघिदेखि मन्त्रालयका अधिकारीलाई अवैध सुन आयातलाई अनुगमन गर्न विमानस्थलमा खटाएको छु। त्यहाँ दैनिक २० देखि २२ किलोग्राम अवैध सुन आयात भइरहेको छ। यसैगरी मोबाइल फोन पनि आयात भइरहेको रिर्पोट आएको छ।”

उनले विदेशबाट वैधानिक रुपमा नै दैनिक हजारौं मानिसले ल्याइरहेको मोबाइल फोन रोक्न भने कठिन रहेको बताए। उनले भने, “हामी रेमिट्यान्सले अर्थतन्त्र चलाइरहेका छौं। विदेशमा दुःख गरेर नेपाल फर्किनेहरुलाई एउटा फोन पनि ल्याउन नदिनु अन्याय हुन्छ। ल्याउन दिएमा यहाँ दर्ता हुँदैन। यो समस्या छ। यद्यपि व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ।”

विभिन्न देशबाट २५ देखि ३० प्रतिशत मोबाइल फोन अवैध रुपमा आयात भएर बिक्री वितरण भइरहेको स्वीकार गर्दै मन्त्री शर्माले यसलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले मोबाइल मानिसको क्षमताभन्दा पनि अघि बढिसकेको बताउँदै प्रविधिसँगै मानिसको क्षमता पनि वृद्धि गर्नुपर्ने भएको बताए। उनले भने, “मोबाइल फोनले हाम्रो आवश्यकता अनुसार चल्न सहज भएको छ। यसमा कनेक्टिभिटी, सञ्चार, मनोरञ्जन, सूचना सबै चीज अटाएको छ। यो अत्यावश्यक वस्तु भएको छ। त्यसकारण पनि मोबाइलमा सरकारले कडाइ गर्न नै सक्दैन। विलासिताको वस्तुभित्र मोबाइल फोन परे पनि यसमा कडाइ हुँदैन ढुक्क हुुनुस्।”

उनले मोबाइलको कारण डिजिटल विश्व बनिसकेको र डिजिटल नेपाल निर्माणमा पनि मोबाइल फोनजस्ता डिभाइसको आवश्यकता रहेको बताउँदै यसबाट हुने विकृतिबाट भने सबै बच्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मोबाइल फोनको अवैध आयात रोक्न सके अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने बताए। उनले अहिले मोबाइल फोन अवैध रुपमा आयात भइरहेको बताउँदै अर्थतन्त्रलाई व्यस्थित र औपचारिक रुपमा अघि बढाउनका लागि अवैध आयात रोक्नैपर्ने बताए।

गोल्छाले भने, “अहिले संसारमा आविस्कारमध्ये सबैभन्दा प्रभावकारी दुई वटा मात्रै छन्, एउटा प्लेन र अर्को मोबाइल फोन। प्लेन र मोबाइलले नै संसारलाई एउटा घर बनाइदिएको छ। त्यसका कारण मोबाइल फोनलाई विलासिता भन्नु नै गलत हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved