प्रत्येक दलका नेताको प्रधानन्यायाधीशसँग लेनदेन छ : कानून व्यवसायी

बारले प्रधानन्यायाधीश जबराको राजीनामा नआउञ्जेलसम्म सर्वोच्च अदालतमा धर्ना जारी राख्ने जनाएको छ।

नेपालभ्युज

प्रत्येक दलका नेताको प्रधानन्यायाधीशसँग लेनदेन छ : कानून व्यवसायी

काठमाडौं। नेपाल बार एशोसिएसनका कानून व्यवसायीहरू करीब एक महीनादेखि निरन्तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनरत छन्। प्रधानन्यायाधीश जबराको राजीनामा नै न्यायालयको शुद्धिकरणको खुड्किलो भन्दै उनीहरू निरन्तर धर्ना र आन्दोलन गरिरहेका छन्। प्रधानन्यायाधीश जबरा टसका मस नभएपछि कानून व्यवसायीहरू आक्रामक अभिव्यक्ति दिन थालेका छन्।

शुक्रबार जारी आन्दोलनमा वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता भट्टले राजनीतिक दलहरू समक्ष प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न आग्रह गरे।

उनले प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालित भएको भन्दै न्यायाधीशहरूसँग गरेको सहमति पनि पालना नगर्ने भन्दै न्यायाधीशरूलाई सचेत गराए। ”यो प्रधानन्यायाधीशसँग न दिमाग छ, न मन छ, न आत्मा छ। यो प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालित छ,” उनले भने, ” अन्य मान्य न्यायाधीशहरूलाई पनि अनुरोध गर्न चाहान्छु, यो प्रधानन्यायाधीशले तपाईहरूसँग गरेका कुनै पनि सहमति त्यो भुमिगत गिरोह, विचौलियाको नाइके, प्रतिकार समूहकोमा पुग्नुभन्दा अगाडिसम्म मात्रै कायम रहन्छ।” बिचौलिया र माफियाबाट सञ्चालित भएको आरोप लगाउँदै उनले प्रधानन्यायाधीशलाई आजै र अहिल्यै राजीनामा दिनुपर्ने बताए।

कानून व्यवसायीहरूले रातदिन खटेर, बहस गरेर, अदालतमा झगडा गरेर प्रतिनिधिसभा पुनर्स्थापना भएको बताउँदै उनले प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर हटाउन दलका शीर्ष नेतासँग अनुरोध गरे।  उनले भने, ”सम्पूर्ण नेता र राजनीतिक दलका नेताहरूलाई भन्न चाहान्छु। महाअभियोग लगाउनुस् र निष्काशन गर्नुस्।’’

धर्ना कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले राजनीतिक दलहरूलाई न्यायपालिकामा भइरहेको आन्दोलनले नछोएको टिप्पणी गरे। वरिष्ठ अधिवक्ता भण्डारीले प्रत्येक दलका नेताहरूको प्रधानन्यायाधीशसँग लेनदेन भएको आरोप लगाए। नेताहरूको मुद्दा प्रधानन्यायाधीशले बार्गेनिङको रुपमा सर्वोच्चमा अड्काएको कारणले उनीहरू बोल्न नसकेको आरोप उनको थियो।

न्यायालयको विवादले दल, सरकार र प्रतिक्षलाई छुनुपर्ने भए पनि नछोएको उनले बताए। उनले भने, ”के यी दलहरूको लागि यो न्याय प्रणाली होइन ? न्यायपालिका होइन ? अवश्य हो। किनभने प्रत्येक दलहरूको चोलेन्द्र शमशेरसँग लेनदेन छ, सबले हिसाबकिताब गरेका छन्।”

सबै दलका नेताको कुनै न कुनै मुद्दा अदालतमा रहेको र ती बार्गेनिङका रुपमा अड्किएको आरोप उनले लगाए। जसकारण दलहरू मौन रहेको उनको भनाइ थियो। सर्वोच्च परिसरमा भएको अहिलेको आन्दोलन एउटा झिल्को मात्रै भएको बताउँदै उनले यसमा दलहरूले ध्यान नदिए सत्ता गुमाउनुपर्ने चेतावनी दिए।

यस्तै वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले प्रधानन्यायाधीश जबराले जनताको  नभएर दलाल, माफिया र तस्करको सेवा गरिररहेको आरोप लगाए। आन्दोलनरत बारका कानून व्यवसायीहरूलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश पदमा जबरालाई दलाल, माफिया र तस्करले पुर्‍याएको बताए।

देशका प्रधानमन्त्री, मन्त्री, नेता र प्रहरी प्रधानन्यायाधीशसँग मिलेर बारको आन्दोलन दबाउन लागिपरेको उनको भनाइ थियो। ”हामीले जुन आन्दोलन गरिरहेका छौँ त्यो आन्दोलनलाई दबाउन गृहमन्त्री, प्रधानमन्त्री र नेताहरू सबै ती दलालहरूको सेवाका लागि प्रधानन्यायाधीश पदको दुरुपयोग गरेर बसिरहनु भएको छ,” उनले भने। भ्रष्टाचारीलाई जेल पठाउने मान्छेलाई नै भ्रष्टाचारको आरोप लागेकाले प्रधानन्यायाधीशले न्याय दिन नसक्ने उनको भनाइ थियो।

नेताहरूको मुद्दा अदालतमा रहेकाले उनीहरू सर्वोच्च अदालतको विवादमा मौन रहेको आरोप कार्कीले लगाए। उनले भने, ”प्रधानन्यायाधीशले नेताहरूलाई समेत थर्काइरहेको रैछ, झन् सर्वसाधारणलाई के गर्ला?”

बारले प्रधानन्यायाधीश जबराको राजीनामा नआउञ्जेलसम्म सर्वोच्च अदालतमा धर्ना जारी राख्ने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved