हामीसँग यति विद्युत् छ कि ब्याट्रीबाट गाडी चलाउन सक्छौं – प्रधानमन्त्री देउवा

नेपालभ्युज

हामीसँग यति विद्युत् छ कि ब्याट्रीबाट गाडी चलाउन सक्छौं – प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन्।

मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को १९ र २० औँ साधारणसभामा देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताए। विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीलाई सरकार प्रोत्साहन गर्न तयार रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीको प्रयोग गरी देशलाई नमूना बनाउनुपर्नेमा जोड दिए। ऊर्जा उत्पादकहरूले खल्तीमा लाइसेन्स लिएर मात्र नहुने भन्दै र काम गर्न पनि आग्रह गरे।

“हामीले किन यो ग्यासको चुल्हो बाल्ने ? हामीसँग यति विद्युत् छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौँ। बस चलाउन सक्दछौँ। हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुन सक्दछ। हामी नेपालभरि नै बिस्तार बिस्तार यता जानुपर्छ जस्तो लाग्छ मलाई,” उनले भने।

उनले थपे, “त्यस्ता जो उद्यमी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ त्यस्तालाई इन्सेन्टिभ दिन तयार छौँ। काठमाडौंमा कमसेकम ब्याट्रीबाट गाडीहरू सञ्चालन गरौँ। घरमा खाना पकाउने इलेक्ट्रिक चुल्हो बनाऊँ। भोलि तराई, मधेश सबै ठाउँमा इलेक्ट्रिक बस चलाउन सक्यौँ भने नेपाल नमूना बन्न सक्दछ। उद्योगपतिहरूलाई के भन्न चाहन्छु भने, तपाईहरू शुरु गर्नुस्। सरकारले इन्सेन्टिभ दिन्छ।”

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको अनुमति दिन सरकार तयार रहेको बताए। निजी क्षेत्रलाई विद्युत् व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउनको निमि्त उनले आग्रह गरिन्।

“अहिले नेपाल विद्युत् प्राधिकरणले मात्र गरिरहेको विद्युत् व्यापार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुराहरू उठिरहेको छ। यस सम्बन्धमा मैले अस्ति मात्र इपानका प्रतिनिधिहरूसँगको भेटमा भनेको थिएँ, विद्यमान ऐन, कानुनमा यस सम्बन्धमा केही प्रावधानहरू नभएको भए पनि यदी निजी क्षेत्रले हामी यो परिमाणको विद्युत् यसरी बिक्री गर्न सक्छौँ भन्ने आधारसहित आएमा संस्थागत आउनुस् अथवा व्यक्तिगत आउनुहुन्छ भने पनि हामी अनुमति दिन तयार छौं, मन्त्री भुषालले भनिन्।

मन्त्री भुसालले नेपालमा विद्युत् उत्पादनको तुलनामा विद्युत माग र खपत बढ्न नसकेको कारण उत्पादित विद्युत खेर गइरहेको बताइन्। विद्युत् खेर जाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति बेहोर्नुपरेको उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved