देशभर ६९० विद्यालमा खटिए नर्स

नेपालभ्युज

देशभर ६९० विद्यालमा खटिए नर्स

काठमाडौं। सरकारले ल्याएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’अन्तर्गत देशभरका ६९० विद्यालयमा नर्सहरू खटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय तहबाटै बालबालिकालाई स्वस्थ्य जीवनशैली अपनाउन, समग्र स्वास्थ्य सरसफाइ र किशोरकिशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य सुधारको आवश्यकतालाई ध्यानमा राखी नर्सहरूलाई विद्यालयमा खटाउने योजना ल्याएको हो।

विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ अनुसार विद्यालयमा नर्स खटाइएको छ। कार्यक्रमअन्तर्गत प्रदेश १ का १४५, प्रदेश २ का ३८ , बाग्मतीका ३२५, गण्डकीका ३२, लुम्बिनीका ३०, कर्णालीका १०० र सुदूरपश्चिम प्रदेशका २० विद्यालयमा कूल ६९० नर्सहरू कार्यरत रहेका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक बाला राईले जानकारी दिइन्।

कोभिड-१९ को महामारीमा विद्यालय बन्द भएका बेला यी नर्सहरू आइसोलेशन क्वारेन्टाइनमा खटिएका र विद्यालय पुनः सञ्चालन भएपछि उनीहरू विद्यालयमै फर्किएका उनले बताइन्।

यी नर्सहरूले गरेको कामलाई अनलाइनमार्फत इन्ट्री गरिने र त्यसका लागि महाशाखाले सफ्टवेयर निर्माण गरिरहेको पनि राईले जानकारी दिइन्।

काठमाडौं महानगरपालिकाका जम्मा तीन विद्यालयमा मात्र नर्स खटिएका महानगरपालिका शिक्षा प्रमुख रामप्रसाद सुवेदीले बताए। “हाल कामनपाका हरेक वडामा शहरी स्वास्थ्य क्लिनिक छ, आवश्यक परेको समयमा विद्यालयले त्यहाँका नर्सबाट बालबालिकाको स्वास्थ्य परीक्षण गराउँदै आएका छन्।”

नेपालमा १५ देखि १९ वर्षसम्म रक्तअल्पता भएका किशोरीहरू २१ प्रतिशत रहेका नेपाल राष्ट्रिय माइक्रेन्युट्रेन्ट सर्भे २०१६ मा उल्लेख गरिएको छ। त्यस्तै १५ वर्षमुनिका बालबालिकामा जुकाको संक्रमणदर पनि उच्च रहेको उल्लेख गरिएको छ।

सबल र स्वास्थ्य विद्यार्थीले मात्र शैक्षिकलगायत बहुआयमिक विकास गर्ने र यसमा यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

के के काम गर्छन् विद्यालय नर्सले ?

विद्यालय नर्सले तोकिएको विद्यालयमा गई विद्यार्थीलाई स्वस्थ्य जिवनशैलीका आचरणहरू सिकाउने साथै नसर्ने रोग, पोषणसम्बन्धी स्वस्थ्यकर सन्तुलित खानाबारे जानकारी दिनुपर्छ। घरमा बनेका पोषिलो खाना खान प्रोत्साहन गरी पत्रु खाना नियन्त्रण गर्न सघाउनुपर्छ। कोभिड १९ विरुद्ध जानकारी दिनेबारे महत्वपूर्ण भूमिका पनि उनीहरूले निर्वाह गर्नेछन्।

यो कार्यक्रम सञ्चालनका लागि आवश्यक सामग्री एक पटकका लागि ५० हजार बराबरको औषधि र औषधिजन्य सामग्री खरिद गर्ने रकम नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले स्थानीय तहलाई उपलब्ध गराउने भनिएको छ। अपुग सामग्री सम्बन्धित स्थानीय तहले व्यवस्था गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

कार्यविधिमा सरकारले विद्यालय नर्सलाई करार सेवामा नियुक्त गरिने उल्लेख गरिएअनुसार हाल ६९० जना नियुक्त पाएका हुन्। उनीहरूको पारिश्रमिक स्वास्थ्य सेवाको पाँचौं तहको स्केलबमोजिम हुने कार्यविधिमा उल्लेख छ।

विद्यालय नर्सलाई अभिमुखीकरण तालिम स्थानीय तहसँगको समन्वयमा महाशाखाले सञ्चालन गर्नुपर्नेछ। जसअन्तर्गत नर्सको कार्यविवरणअनुसार अभिमुखीकरण तालिम प्याकेज तयार गरी गरिएको वरिष्ठ अस्पताल नर्सिङ प्रशासक बालाले बताइन्।

विद्यालय नर्सले प्रत्येक विद्यार्थीको व्यक्तिगत विवरण र पोषण र स्वास्थ्य अवस्थाको रेकर्ड राखी एक वर्षमा विवरण माहाशाखामा पठाउनुपर्नेसमेत कार्यविधिमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved