कोभिड खोप परीक्षण घोषणा मात्रै, प्रतिष्ठान नै अन्योलमा

कोभिड खोप परीक्षण घोषणा मात्रै, प्रतिष्ठान नै अन्योलमा

काठमाडौं। एक महिना पुगिसक्दा पनि अझै ‘एमआरएनए’ खोपको क्लिनिकल परीक्षण कार्य अगाडि बढेको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमति प्रेस ब्रिफिङ १६ भदौमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रमुख डा. प्रदीप ज्ञवालीले एक साताभित्रै नेपालमा कोरोनाविरुद्ध खोप परीक्षण शुरु गर्ने बताएका थिए। तर एक महिना नाघिसक्दा पनि क्लिनिकल परीक्षण कार्य शुरु गर्ने मितिसमेत तय भइसकेको छैन।

नेपालको देउराली जनता फार्मास्युटिकल्ससँगको सहकार्यमा धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक साताभित्र परीक्षण शुरु गरिने परिषद् प्रमुख डा. ज्ञवालीले जनाएका थिए।

तर अहिले डा.ज्ञवालीलाई यसबारे सोध्दा भने पन्छिँदै आफू त्यसमा अपडेट नै नभएकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको इन्टरनल मेडिसिन विभाग प्रमुख प्राध्यापक सञ्जीवकुमार शर्मासँग कुरा गर्न अह्राए।

प्राडा शर्मा भन्छन्, ‘‘नेपाल सरकार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र औषधि व्यवस्था विभाग सबैतिरबाट अनुमति पाइसक्दा पनि क्लिनिकल परीक्षण कार्य  बढ्नै सकिरहेको छैन। कता–कता के–के भइरहेको छ म आफैं पनि अन्योलमा छु।”

खोप परीक्षण कार्य शुरु गर्नका लागि विभिन्न सामाग्रीहरूको पनि अपुग भएको उनले बताए।

प्राडा शर्माका अनुसार खोप परीक्षण कार्य कहिलेबाट शुरु हुन्छ भनेर निश्चित समय तालिका नै तोकिएको छैन। ‘‘अब त दशैं तिहार पनि आयो यो समयमा काम पक्कै पनि नहोला”, उनले भने।

कुनै पनि खोप वा औषधि परीक्षणमा प्रक्रिया धेरै नै हुने र समय पनि बढी लाग्ने उनले तर्क गरे। तर डा. ज्ञवालीले किन एक सातामै परीक्षण कार्य अगाडि बढाइँदै भन्नु भयो भने प्रश्नमा उनि भन्छन्, ‘‘उँहाले भन्न हतारो गर्नु भयो।” तर त्यो समयमा स्वदेशी उत्पादकहरूले नै खोप दिन सके भने सबै खोपको पहुँचमा हुन्छन् कि भन्ने थियो अब बिस्तारै अन्य देशहरूबाट पनि खोप आइसकेकाले किन हतार भन्ने पनि भयो कि भन्ने जस्ता धारणा उनले राखे।

प्रा.डा. शर्मा भन्छन् ‘‘एमआरएनए खोप विश्वमा निकै राम्रो भन्ने छ।, नेपालमा नै अब यो खोप आउन थाल्यो भनेर निकै खुसि भएका थियौं भने एकातिर चुनौति पनि थपिएकाले रातभर बसेर नै डकोमेन्ट तयार पारेका थियौं तर सोचे जस्तो फटाफट काम भएन।”

क्लिनिकल परीक्षणका लागि कतिपय प्रकृयाहरू नमिलिरहेका कारण पनि ढिला भएको उनले बताए। बीपीले बीसौं वर्षदेखि विभिन्न क्लिनिकल परीक्षण गरिहेको छ। उनले भने, ‘‘म आफैले पनि कति वटा क्लिनिकल परीक्षण गरिसके त्यो गन्नै पर्छ ‘एमआरएनए’ खोपको क्लिनिकल परीक्षणका लागि पनि डाक्टर,नर्सहरू सबैको अन्र्तवाता दिएर तयार पारेर राखेका छौं। नेपालकै ओन अफ द बेस्ट रिर्सच सेन्टर नै बीपी हो।”

यसरी बीपीले सबै प्रकृया पूरा गरिसक्दा पनि देउराली जनताले नै केहि सामाग्रिहरू ल्याउन नसक्दा क्लिनिकल परीक्षण कार्य ढिलो भएको हुन सक्ने उनले आकलन गरे।
यो खोप २८ हजार मानिसमा परीक्षण गरिने योजना रहेको छ। कम्पनीले खोपको पहिलो र दोस्रो परीक्षण गरिसकेको छ।

कुनै पनि देशले खोपको विकास गरेपछि विन्नि देशहरूलाई परीक्षणका लागि दिने गरिन्छ। सोहिक्रममा तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि नेपाललाई छनोट गरेको थियो। १० भदौमा मन्त्रिपरिषद् बैठकले नेपालमा चीनको ‘एमआरएनए’ खोपलाई क्लिनिकल परीक्षण गर्न अनुमति समेत दिसकेको थियो।

कुनै पनि खोप मानिसमा परीक्षण गर्नुअघि ल्याब र जनावरमा गर्ने गरिन्छ। त्यसपछि भने थोरै जनसंख्या लिएर मानिसमा परीक्षण गरिने परिषद्ले जनाएको छ। डा ज्ञवाली भन्छन्, “पहिलो र दोस्रो चरणमा सफल प्राप्त गरिसकेकाले तेस्रो चरणको खोपले पनि सफलता पाउनेछ। यो खोप अन्तर्राष्ट्रिय रूपमा पनि परीक्षण भइरहेको छ।”

पहिला थोरै जनसंख्यामा परीक्षण गरिएको त्यो समयमा कुनै पनि असर देखिएन, तर धेरैमा गर्दा त्यसको थोरैभन्दा थोरै पनि असर छ कि भनेर तेस्रो चरणमा हेरिने उनले बताए।

“परीक्षणका क्रममा यो खोपको सुरक्षा, प्रभावकारिता र कुन उमेर समूहका व्यक्तिलाई बढी प्रभावकारी हुन्छ भनेर पनि परीक्षण गरिनेछ,” उनले भने। परीक्षणका क्रममा खोप दिएकाहरूमा कुनै पनि असर देखिए उत्पादन कम्पनीले नै सम्पूर्ण जिम्मा लिने उनको भनाइ छ। “तर गुपचुप रूपमा कसैलाई खोप लगाइँदैन,” उनले प्रेस ब्रिफिङमा बताएका थिए।

नेपालमा हालसम्म कोरोनाविरुद्ध दिइएका खोपहरू विदेशमा परीक्षण गरिएका हुन्। हालसम्म नेपालमा औषधि व्यवस्था विभागले अक्सफोर्ड-एस्ट्राजेनेका, कोभिसिल्ड , भेरोसेल,  स्पुतनिक भी र भारत बायोटेकको कोभ्याक्सिन खोपलाई प्रयोगका लागि अनुमति दिएको छ।

*शीर्षक सच्याइएको


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved