सुदखोरको पासो

मिटरब्याजको घनचक्करमा पढाइ छोड्न बाध्य गरिमाको पीडा (भिडिओसहित)

२ लाख ऋण, ३५ लाख र १६ धुर जग्गा दिँदा पनि अझै पुगेन

दिउँसो टोलीसँगै आन्दोलन र धर्नामा जाँदै आएकी किशोरी गरिमासँग नेपालभ्युजको टिमले अनामनगरमै भेट्यो । त्यही भेटमा रुँदै गरिमाले मिटरब्याजीले आफ्नो परिवारलाई गरेको अत्याचारको पोको खोलिन्। न्यायका लागि सरकारसँग गुहार मागिन्। आफूले चाहँदाचाहँदै पनि पढाई छाड्नुपरेको दर्द पोखिन्।

मिटरब्याजको घनचक्करमा पढाइ छोड्न बाध्य गरिमाको पीडा (भिडिओसहित)

काठमाडौं। मिटरब्याजको घनचक्करमा जग्गादेखि घरबारसम्म सुदखोरले खोसेपछि तराईका पीडित न्याय माग्दै काठमाडौं आएका छन्। मिटरब्याज र ठगीको जालोमा परेका पीडितले कहिले माइतीघर मण्डला त कहिले बालुवाटारमा धर्ना दिइरहेका छन्।

धनुषा, सिराहा, महोत्तरी, सर्लाहीमा सुदखोरबाट ठगिँदै उठिबास लगाएका पीडित १२ दिन हिँडेर काठमाडौं आएका हुन् । त्यही भीडमा छन् सिराहाको बेला घर भई मिर्चैया बस्दै आएकी १३ वर्षिया एक किशोरी ।

मिटरब्याजीले दिएको दुख:ले उनको परिवार छटपटाइरहेको छ। जसकारण कक्षा पाँचमै उनले पढाई छाड्नुपरेको छ। उनी हुन् गरिमा राय । जो सयजना पीडितको हुलमा मिसिएर आवाज बुलन्द गरिरहेकी छन्।

न्यायको खोजीमा सिराहाबाट पैदल काठमाडौं आएकी उनी अहिले आफ्नो समूहसँगै अनामनगरमा बसिरहेकी छन् । खुलामञ्चमा बस्न खोजेका उनीहरूलाई काठमाडौं महानगरले बार लगाएपछि अनामनगरस्थित तमू बौद्ध सेवा समितिको आश्रममा रात कटाउँदै छन्।

दिउँसो टोलीसँगै आन्दोलन र धर्नामा जाँदै आएकी किशोरी गरिमासँग नेपालभ्युजको टिमले अनामनगरमै भेट्यो । त्यही भेटमा रुँदै गरिमाले मिटरब्याजीले आफ्नो परिवारलाई गरेको अत्याचारको पोको खोलिन्। न्यायका लागि सरकारसँग गुहार मागिन्। आफूले चाहँदाचाहँदै पनि पढाई छाड्नुपरेको दर्द पोखिन्।

त्यसपछि परिन् सुदखोरको जालमा

चार वर्षअघि (२०७५) को कुरा हो। गरिमाको भाइको उपचारको लागि पैसा नभएपछि उनकी आमाले २ लाख रुपैयाँ ब्याजमा पैसा लिएकी थिइन्। उनको बुबा विदेशमा थिए।

त्यही बेला उनको भाइको ‘ब्रेन’मा समस्या आयो। उपचारको लागि काठमाडौं ल्याउनुपर्यो । काम गर्ने कम्पनीको समस्याका कारण बुबाले रकम पठाउन ढिला गरे। ‘ब्रेन’मा समस्या भएकाले ढिलो गर्ने छुट थिएन। गरिमाकी आमाले उनकै साथी सुजाता साहसँग २ लाख रुपैयाँ ऋण लिइन्।

सोही ऋणको बदलामा उनकी आमाले अहिलेसम्म ३५ लाख रुपैयाँ नगद बुझाइसकेकी छिन्। बुबाले विदेशबाट पठाएको एक पैसा बच्दैन। मिटरब्याजमा पैसा दिनेले सबै लैजान्छिन्। २ लाखको बदलामा ३५ लाख रुपैयाँले नपुगेर २ ठाउँका १६ धुर जग्गा खोसिसकेको पीडित गरिमा बताउँछिन्।

उनी भन्छिन्, ‘‘२ लाख ऋण दिने बेलामा १६ लाख दिएको भन्दै कागज बनाइदिए । पछि ३५ लाख र १६ धुर जमिन लगिसके। तर, अझै सावाँ र ब्याज नपुगेको भन्दै मागिरहेका छन्। भएको पैसा सबै लागिहाल्छन् । खाना र कोठा भाडा तिर्न पैसा छैन। ५ कक्षामा पढ्दापढ्दै छाड्नुपर्याे। भाइको पनि पढाइ बिग्रियो।’’

आफ्ना गाउँका गरिब, निरक्षर किसान तथा मजदुरले थोरै ऋण लिएको भए पनि साहुले ठगेर महँगो ब्याज थपेर मूलधनमै जोड्ने गरेको गरिमाले बताइन्। साहुले कीर्ते तमसुक बनाउने गरेका कारण थुप्रै पीडित भएको परिवारका बालबालिकाले आफूले जस्तै पढाइ बिचमै छाड्नुपरेको उनले सुनाइन्।

सुदखोरले किसानको गरिबीको फाइदा उठाउँदै घरेलु कामदार बनाएर राख्ने गरेको समेत उनी बताउँछिन्। उनले भनिन्, ‘‘मिटरब्याजी साहुले ऋण दिन्छ। त्यसपछि आफ्नो घरमा कामदार बनाउँछ। बालबालिकालाई पनि काममा राख्छ। उनीहरू पढ्न जान पाउँदैनन्।’’ हेर्नुहोस भिडिओ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved