काठमाडौं। के राष्ट्रपति सी चिन फिङ चीनलाई युद्धका लागि तयार गर्दैछन् ? हुन सक्दछ । यस्तो आशंका गर्न सकिने केही कारण छन् ।
पहिलो– चीनले जारी आर्थिक वर्षका लागि आफ्नो रक्षा बजेटमा ७.२ प्रतिशतले वृद्धि गरेको छ । सैन्य मामिलाका जानकार भन्छन्– यो वृद्धिले चीनको रक्षा बजेटलाई अघिल्लो दशकको भन्दा दोब्बर बनाउँछ । यदि, युद्ध नगर्ने हो भने रक्षा बजेटमा यति ठूलो वृद्धि किन जरुरी छ ?
दोस्रो– युक्रेन युद्धको विषयमा संयुक्त राष्ट्र संघमा भएको मतदानमा चीन तटस्थ बस्यो । तर, रुससँगको सम्बन्धलाई भने बलियो बनाउँदै लग्यो । अहिल्लो हप्ता तीनदिने रुस भ्रमण गरेका चिनियाँ राष्ट्रपति सीले ‘रुससँगको मित्रता र सहकार्य असीमित र दीर्घकालीन’ भएको टिप्पणी गरेका थिए ।
रुस र चीन दुवै पश्चिमविरोधी भावना भएका भिटो अधिकार प्राप्त शक्ति राष्ट्र हुन् । यदि, चीन युद्धको तयारी गर्दै छैन भने रुसको स्वार्थका लागि भएको ध्वंसात्मक युक्रेन युद्धको अपजसमा भागिदार हुन किन राजी भयो ?
तेस्रो– चीनले समकालीन विश्वमा मान्यता प्राप्त उदार लोकतन्त्रको मान्यतालाई मान्न अस्वीकार गरेको छ । चीनको विचारमा आफ्नो एकदलीय कम्युनिस्ट प्रणाली आफैमा लोकतन्त्रको एक मौलक पद्धति हो ।
लोकतन्त्रका आआफ्ना मौलिक विशेषता हुन्छन् । चीनले लोकतन्त्रको आफ्नै प्रणाली र पद्धतिमा विश्वास गर्दछ र यसैको जगमा चीन आधारित नयाँ विश्व व्यवस्था निर्माण गर्ने महत्त्वाकांक्षा राख्दछ ।
यही महिना सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको बैठक र चिनियाँ जनकांग्रेसको अधिवेशनमा उनले ‘आवश्यक परे युद्ध गर्ने साहस गर्नुपर्ने’ भाषण गरेका थिए । यी कुराको अर्थ चीन युद्धका लागि तत्कालै तयार छ भन्ने त हुँदैन तर युद्धको मानसिकतामा छैन पनि भन्न सकिन्न ।
दोस्रो शीतयुद्ध भनिएको चीन–अमेरिका तनाव र पश्चिमा शक्तिविरुद्ध रुस–चीन ध्रुवीकरणले निम्त्याउने तनावको अन्त्य कसरी हुन्छ भन्न सकिन्न ।
पहिलो शीत युद्धको अन्त्य सोभियत संघको विघटन र पूर्वी तथा मध्ययुरोपमा एकदलीय कम्युनिस्ट शासनको पतनबाट भएको थियो । यो कुनै अपेक्षित नभएर आकस्मिक घटनाक्रम थियो । कथित दोस्रो शीत युद्धको अन्त्य पनि यसरी नै हुन्छ भन्ने गाह्रो छ ।
तर, विश्वास गर्न उत्तिकै गाह्रो कुरा चीनले निर्माण गर्ने विश्व व्यवस्थाले उदार लोकतन्त्रमा आधारित पश्चिमा विश्व व्यवस्थालाई प्रतिस्थापित गर्छ भन्ने विश्वास गरिहाल्न सकिन्न ।
चिनियाँ कम्युनिस्ट पार्टीको बैठकमा प्रस्तुत गरिएको एक दस्तावेजको नाम थियो–‘सी चिनफिङ विचारधाराको मार्गदर्शनमा जनमुक्ति सेनाको सबलीकरण ।’ यो दस्तावेजको शीर्षकबाटै प्रष्ट हुन्छ कि राष्ट्रपति सी विशाल चिनियाँ सेनाको शक्तिलाई आफ्नो राजनीतिक सोचको सान्दर्भिकतासँग जोड्न चाहन्छन् ।
दक्षिण चीन सागर क्षेत्रमा चीनले बनाइरहेका एयर बेस र गत महिना भएको अमेरिका–फिलिपिन्स बीचको नयाँ सैन्य सम्झौताले पनि चीन र अमेरिकालाई आमने–सामनेको स्थितिमा देखाउँछ ।
सन् १९७० को दशकमा फर्डिनान्ड मार्कोसको शासनकालमा फिलिपिन्समा अमेरिकी सेनाका आधार शिविर थिए । तिनै तानाशाहका छोरा मर्कोस जुनियर अहिले राष्ट्रपति छन् र सैन्य क्याम्प पुनर्स्थापित गरिँदैछ ।
हुन त, ताइवान कुनै नयाँ समस्या हैन । चीनमा कम्युनिस्ट क्रान्ति भएको सन् १९४९ देखि नै ताइवानको समस्या छ । तर, सी विचारधाराले एउटै विशाल चीन बनाउने महत्त्वाकांक्षा राख्दछ । त्यसको अर्थ ताइवानलाई चीनको मूल भूमिमा गाभ्नु हुन्छ ।
सीले हङकङको स्वायत्ततालाई प्रत्याभूत गर्ने ‘एक देश, दुई प्रणाली’ नीतिलाई संकुचन गर्न थालिसकेका छन् । त्यसको विरुद्ध हङकङमा भएको ‘अम्ब्रेला विद्रोह’ लाई जबर्जस्त दमन गरिएको छ ।
राष्ट्रपति सीले दुईपटक भन्दा बढी राष्ट्रपति हुन नपाइने देशको संवैधानिक प्रावधान नै संशोधन गरेर तेस्रोपटक राष्ट्रपति हुने इच्छा राख्नुको कारण के होला ? के त्यस्तो काम जुन चीनले उनको नेतृत्वमा गर्न बाँकी छ ?
विश्लेषक भन्छन् कि त्यो एक मात्र बाँकी काम भनेको ताइवानको मूलभूमिसँगको एकीकरण नै हो । अरु कुनै त्यस्तो काम बाँकी छैन, जो राष्ट्रपति सीले सत्ता छोड्दा हुन सक्दैनथ्यो ।
चीनले युक्रेन युद्धमा रुसको नैतिक समर्थन गर्नुको कारण पनि यही हुन सक्दछ । रुस युक्रेनलाई गाभ्न सफल भयो भने समकालीन विश्वमा त्यसले एक नयाँ नजिर स्थापित गर्ने छ । चीनका लागि ताइवानलाई चीनमा गाभ्ने बाटो खुल्नेछ ।
जसरी रुस युक्रेनलाई ‘फेक नेशन’ मान्दछ, त्यसरी नै चीन ताइवानलाई ‘चीनको अभिन्न अंग’ मान्दछ । ताइवानलाई हराउन चीनलाई गाह्रो हैन, अप्ठ्यारो त्यसपछिको विश्व परिस्थिति हो । जस्तो कि रुसले युक्रेनलाई ३ महिनामा हराउन सकिने ठानेको थियो । तर, १ वर्ष भन्दा बढी समय बितिसक्दा पनि युद्ध अन्त्य भएको छैन ।
ताइवानलाई चीनमा गाभ्ने सीको घोषित र तीव्र चाहनालाई मध्यनजर गर्दा चीनले भित्रभित्रै युद्धको तयारी गरिरहेको छैन भन्न सकिन्न । तर, राष्ट्रपति सी रुसी राष्ट्रपति पुटनकै जस्तो गल्ती भने दोहोर्याउन चाहँदैनन् । उनी ताइवानमाथि आक्रमण गर्नुअघि युद्ध लामो नजाने र जित पक्का हुने सुनिश्चितता चाहन्छन् ।
स्थानीय सूचनाका अनुसार चीन सरकारले गत डिसेम्बर यता विभिन्न शहरमा विशेष सैन्य कार्यालय खोलेको छ । यी कार्यालयहरूले तीनवटा काम संयुक्तरूपमा गर्नेछन् ।
एक–सैन्य भर्ना, दुई– सेना र स्थानीयबीचको जनसम्पर्क, तीन–आपतकालीन अस्पतालको सञ्चालन । सामान्यतः यस्ता काम बाह्य युद्धको तयारीका बेला देशभित्र गरिन्छ । अरु बेला यस्ता काम नियमित सैनिक कार्यालयबाटै हुन सक्दछन्।
युद्धमा धेरै हताहती हुने भयो र छिटो-छिटो नयाँ सिपाही ठूलो संख्यामा भर्ती गर्न आवश्यक देखियो भने यस्तो रणनीति अख्तियार गरिने हो ।
मार्च ६ को एक भाषणमा राष्ट्रपति सीले यस्ता कामको औचित्यलाई यसरी व्यक्त गरेका थिए–‘सम्भाव्य युद्धमा विजयको सुनिश्चितता राज्यको योजनाप्रति आम जनसमुदायको समर्थनमा निहित हुन्छ ।’ युद्धका लागि चिनियाँ तयारी हेर्दा लाग्दछ कि, विश्व राजनीतिको तनाव निकै विस्फोटक मोडतिर गइरहेको छ ।
यही भाषणमा राष्ट्रपति सीले यो पनि भनेका थिए कि, यदि युद्ध भयो भने हामीले केही समय अन्तर्राष्ट्रिय बजार पाउँदैनौं भन्ने पनि बुझिरहनुपर्दछ । तर, त्यस्तो अवस्था लामो भने जाने छैन । हामीले हाम्रो अर्थतन्त्रलाई आन्तरिकरूपमा यति मजबुत बनाउन सक्नुपर्दछ कि बाह्य बजारबाट टुटेको समयमा पनि ठूलो नोक्सानी नहोस् ।’
यी घटना र तथ्यबाट पुष्टि हुन्छ कि, राष्ट्रपति सीले आफ्नो राष्ट्र चीनलाई युद्धका लागि तयार गर्दैछन, तर, यो कुनै तत्कालीन योजना अन्तर्गतको हो कि एक दीर्घकालीन रणनीतिको अंश मात्रै हो भन्नेमा विश्लेषकको एउटै ठहर भने छैन ।
हुन सक्दछ– राष्ट्रपति सी युद्ध मैदानमा उत्रिहाल्न भन्दा राम्रो तयारीको सन्देश दिएर विरोधी शक्तिलाई तर्साइराख्न चाहन्छन्। तर, के यो रणनीतिबाट ताइवानको एकीकरण सम्भव छ ? यदि, छैन भने सी विचारधारामा उल्लेख गरिएको ‘एक चीन : एक राष्ट्र’ नीतिको के अर्थ रहला ?
Facebook Comment
Comment